जनकपुर । खेतको धान भर्खरै थन्क्याईदैछ । यसलगत्तै खेतमा नगदेबाली आलु लगाउने तरखरमा किसानहरु रहेका छन् । तर खेतमा सिँचाइका लागि पानी र बालीका लागि मलको अभावका कारण किसानहरु चिन्तित हुन थालेका छन् ।

खेतमा पाकेर झुलेको धान भित्र्याउने चटारोमा रहेका किसानहरु धान भित्र्याइसकेपछि अर्को बाली आलु लगाउने तयारीमा रहका छन् ।

तथापि मल र सिँचाइको अभावका कारण खेतमा आफूले सोचेजस्तो उब्जनी नहुनाले किसानलाई वर्षेनी चिन्ताले सताउने गरेको छ ।

स्थानीयहरुले मलको व्यवस्था गर्नका लागि सरकारसँग बारम्बार गुहार मागेपनि चाहेजति मल नपाउँदा किसानहरु आजित भएका छन् ।

उनीहरुले आफूहरुलाई सिँचाइको र मलको मात्र व्यवस्था गरे सरकारले अरु कुनै पनि सहयोग नचाहिने विलौना गरिरहेका छन् । तर यो कुरामा सरकार सुनेको नसुनेझै गर्छन । चुनावताका भोट माग्न आउँदा मिठा सपना बाँडेर जितेर जाने र त्यसपछि गाउँमा टेक्नै नआउने समस्या रहेकोमा समेत स्थानीयको गुनासो रहेको छ ।

हंसपुर नगरपालिका वडा नं. २ का रघुनाथ कापरले दुखेसो गर्दै भने– मधेश प्रदेशको मुख्यमन्त्री लगायत मन्त्रीपरिषद् परिवर्तन भैरहन्छ । स्थायी सरकार नभएपछि सरकारले कुनै पनि कार्ययोजना कार्यान्वयन गर्न सक्दैन । जनतालाई राहत कहाँबाट मिलोस ।

कुर्सीको लडाईमा नेताहरुले समय खेर फाल्दा जनताको समस्या समाधानका लागि सरकारले ठोस नीति कार्यान्वयन गर्न नसकेको कापरको बुझाई रहेको छ । सरकालाई आफूहरुले मल र सिँचाइको माग राखे पनि सुनुवाई नभएर आजित भएको बताउँदै उनले मधेशप्रदेशको नवनियुक्त मुख्यमन्त्रीले जनताको यी माग सम्बोधन गर्नलाई ध्यान दिन आग्रह समेत गरे ।

यस्तै आफ्नै नगरपालिकाभित्र पनि मेयरले खासै जनविकासमा चासो नभएको गुनासो समेत कापरले गरे । नगरपालिका भित्रको सडकको अवस्थालाई हेर्दै उनले भने यताको विकास पनि त्यस्तै अवस्थामा रहेको छ । खाल्डाखुल्डी र धुलाम्य सडकका कारण हिउँदमा धुलो धुवा र बर्खामा हिलाम्य अवस्थामा स्थानीयहरु हिड्न बाध्य भएको देखे पनि यसमा नगरप्रमुखले खासै चासो नदेखाएको गुनासो समेत कापरले गरे । हंसपुर नगरपालिको मेयर प्रदीप कुमार यादव रहेका छन् ।

सरकारले जनमुखी काम नगरेको भन्दै उनले सरकारप्रति आक्रोश पोख्दै अब परिवर्तन आवश्यक भएकाले जेनजीहरुलाई अगाडी बढाउनुको विकल्प नभएको बताए ।