काठमाडौं । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते उपत्यकामा उच्छृङ्खल समूहले ठूला स्तरको आगजनी र तोडफोड गरेका छन् । उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरीले प्रयोग गर्दै आएका २१८ भवनमा क्षति पुगेको छ । तीमध्ये १२२ भवन पूर्णरूपमा जलेका र ९६ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

यस्तै, प्रहरीका १२१ गाडीमध्ये ११७ पूर्णरूपमा जलेका र ४ गाडीमा आंशिक क्षति पुगेको छ । साथै १५८ दुईपांग्रे सवारी साधनमा समेत आगजनी गरिएको छ ।

साइबर ब्यूरोका ४ गाडी, रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा राखिएका सशस्त्र प्रहरीका ३ गाडी र राष्ट्रिय अनुसन्धान विभागको १ गाडीसमेत जलेका छन् । रानीपोखरीमै भेटिएको टोयोटा गाडी भने कसको हो भन्नेबारे अहिलेसम्म खुलेको छैन ।