महाेत्तरी ।  जिल्लाको मिथिला माध्यमिकी परिक्रमा सडक खण्डअन्तर्गत ध्रुव कुण्ड स्थानदेखि कञ्चनबन जाने सडकमा पर्ने पररिया नजिकको पथरा खोलाको पुल विगत करिब ७ वर्षदेखि अलपत्र अवस्थामा रहँदै आएको थियो।

यस कारण मिथिला परिक्रमामा सहभागी श्रद्धालुहरू (परिक्रमा बासी) तथा स्थानीय बासिन्दाहरूलाई दैनिक आवत–जावतमा अत्यन्तै कठिनाइ भोग्नुपरेको यथार्थ सबैका सामु स्पष्ट थियो।

दुर्भाग्यवश, महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं. १ र २ बाट निर्वाचित जनप्रतिनिधि ज्यूहरूको पर्याप्त ध्यान यस गम्भीर समस्यातर्फ पुग्न नसक्दा पुल निर्माण लामो समयसम्म ओझेलमै रह्यो। तर जनताको समस्यालाई आफ्नै पीडाको रूपमा बुझ्ने युवा नेता मनोज कुमार गुप्ताको सक्रिय पहल र निरन्तर दबाबका कारण अन्ततः सम्बन्धित निकाय चलायमान भएको छ।

मनोज कुमार गुप्ता आज महोत्तरी मात्र होइन, सम्पूर्ण मिथिला क्षेत्रमै जनताको आवाज बोकेर मैदानमा उत्रिने साहसी, कर्मठ र परिणाममुखी युवा नेताको रूपमा स्थापित नाम बन्दै जानु भएको छ। जहाँ धेरै जनप्रतिनिधि पद, पहुँच र बहानामा सीमित देखिन्छन्, त्यहीँ मनोज कुमार गुप्ता जनताको दैनिक दुःख–पीडालाई आफ्नै जिम्मेवारी ठानेर समाधान खोज्न अग्रपंक्तिमा उभिनु हुन्छ।

यसैक्रममा सडक विभागका जनकपुरका निर्देशक दामोदर साह ज्यूले आइतबारदेखि पुल निर्माणको काम सुचारू गरिने स्पष्ट प्रतिबद्धता जनाउनु भएको छ, जुन स्थानीयवासी र परिक्रमा बासीहरूका लागि आशा र राहतको विषय बनेको छ।

अब ढिलाइ नगरी काम गुणस्तरीय र समयमै सम्पन्न होस् भन्ने अपेक्षा सबैको रहेको छ। वर्षौंदेखि बेवास्तामा परेको यो पुल निर्माण कार्यले पूरा गति लियो भने यस क्षेत्रको यातायात, धार्मिक पर्यटन र स्थानीय जनजीवनमा सकारात्मक परिवर्तन आउने विश्वास गर्न सकिन्छ।