जनकपुर । १४ वर्षीय वालिकालाई दुई दिनसम्म बन्धक बनाई बलात्कार गरेको घटनाका सम्बन्धमा अहिले प्रहरीले अनुसन्धान प्रारम्भ गरेको छ ।

जनकपुरधामस्थित मिथिला चिरायु होटेलमा ती बालिकामाथि बलात्कार भएको थियो । बलात्कारमा सामेल मध्ये मनोज साहलाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो भने घटनाको प्रमाण नष्ट गर्न लागेको भन्दै होटलका संचालक शिवशंकर साह(हिरा)लाई हिजो मात्र प्रहरीले पक्राउ गरेको छ । उनीहरुको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगम कुवरले जानकारी दिए ।

उनले घटनामा हिराको नाम नआए पनि उनका दाजु मनोज साहको नाममा किटानी जाहेरी परेको एसपी कुवरले बताए । घटनाको सबुद प्रमाण नष्ट गर्ने कार्यमा हिराको संलग्नता हुन सक्ने भएकोले प्रहरीले उनलाई पनि पक्राउ गरेको समेत उनले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।