धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–५ भैसेस्थित मध्यपहाडी लोकमार्गमा आज बिहान भएको यात्रुवाहक सवारी दुर्घटनामा परी १४ जना घाइते भएका छन्।

घाइते मध्ये ३ जना अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आज बिहान करिब ०६ः३० मा काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी हायास अनियन्त्रित भई करिब ६०–७० मिटर तल खसेर दुर्घटना भएको हो।

घाइते यात्रुलाई स्थानीयको सहयोगमा तत्काल उद्धार गरी विभिन्न सवारी साधनमार्फत उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको इलाका प्रहरी कार्यालय पाख्रिवासका इन्चार्ज सइ नारायणप्रसाद भट्टराईले जानकारी दिए।

घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको छ।