जनकपुरधाम । मधेस प्रदेश वर्षाका कारण जनजीवन प्रभावित, सयौँ विस्थापित र उद्धार कार्य जारी । पछिल्लो तीन दिन देखिको अविरल वर्षाका कारण मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । लगातार असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाले मधेसका केही ठाउँहरु डुबानमा परेका छन् भने सयौँ विस्थापित भएको इन्सेक प्रतिनिधिहरुले जानकारी गराएका छन् ।
इन्सेक सप्तरी प्रतिनिधि नविन यादवका अनुसार जिल्लाको विभिन्न स्थानीय तहहरूमा निरन्तरको वर्षापछि आएको बाढीका कारण सयौं घरपरिवार प्रभावित भएका छन् । सप्तकोशी नगरपालिका–६ स्थित बोचही बस्तीमा त्रियुगा नदीको बाढी पस्दा करिब ६० घरपरिवार डुबानमा परेका छन् । तीमध्ये अति प्रभावित ६ घरपरिवारलाई उद्धार गरी स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनु भयो ।
उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली खटिएको छ । सेना तथा सुरक्षाकर्मीको सक्रियतामा डुबानमा परेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरामा ७५ घर डुबानमा परेका छन् भने सोही गाउँपालिका–२ लौनियाँस्थित राम टोलमा एक घर भत्किएको र अन्य चार घर डुबानमा परेको विपद् संयोजक राजेश कुमार झाले जानकारी दिनु भयो । बरसाइन नगरपालिका–५ मा मात्रै २ सय घरपरिवार डुबानमा परेका छन् । डुबानमा परेका परिवारलाई विद्यालय लगायत उच्च स्थानहरूमा सारिएको वडा अध्यक्ष ललन राउतले बताउनु भयो ।
यसैबीच, हनुमाननगर कंकालिनी नगरपालिका–५, ६ र १४ मा रहेको मुसहर बस्ती डुबानमा परेको छ । डाक्नेश्वरी नगरपालिका–५ स्थित पातो बजार र सोही नगरपालिका–४ स्थित तरही टोललाई जोड्ने सडक बाढीले कटान गरेपछि आवागमन अबरुद्ध भएको छ ।
त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिका हुँदै भारततर्फ जान सकिने कुनौली नाका जोडिने बाटो पनि बाढीको कारण कटान भई पूर्ण रूपमा अबरुद्ध भएको छ ।
बाढीपीडितको उद्धार तथा राहत कार्यमा नेपाली सेनाको बरख गणका उपसेनानी सन्तोष खड्काको कमाण्डमा १÷३७ को नफ्री कोशी ब्यारेज इलाकामा खटिएको छ । त्यस्तै श्री बरख गणका सेनानी भरत गिरिको कमाण्डमा १÷२२ को नफ्री तिलाठी कोइलाडी गाउँपालिका–३ मा उद्धार कार्यमा खटिएको छ ।
यसैगरी सेनानी दीपक बोहोराको कमाण्डमा १÷३५ को नफ्री हनुमाननगर कन्कालिनी नगरपालिका–११ मा उद्धारमा खटिएको छ । यस्तै, नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरी बलका ११ जना पनि कोशी ब्यारेज क्षेत्रमा उद्धार कार्यमा संलग्न छन् ।
इन्सेक धनुषा प्रतिनिधि सन्तोषकुमार यादवका अनुसार औरही गाउँपालिका–१ पुरनदहीया गाउँस्थित जलाद नदीमा एक अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको छ । गाउँलेहरूले उक्त शव बारे प्रहरीलाई जानकारी गराए लगत्तै प्रहरी र विपद् व्यवस्थापन टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । निरन्तर वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकासहित विभिन्न गाउँमा घरहरु डुबानमा परेका छन् ।
त्यसैगरी महोत्तरी जिल्लामा दुई दिनदेखि लगातार परिरहेको पानीका कारणले नदीहरुमा जलस्तर बढ्नुका साथै तटबन्धहरु कटान गर्न थालेका छन् । जिल्लामा रहेको रातो, जंग्हा, माढा, विग्ही, गेरुकी, कुटमेश्वरी लगायतका दर्जनभन्दा बडी नदीहरुमा जलस्तर बढेको छ । रातो नदीले जलेश्वर नगरपालिका–७ रतबारामा २० मिटर बाँध कटान गरेको छ भने जलेश्वर नगरपालिका–३ को धवौलीमा सशस्त्र प्रहरी चेकपोष्टभन्दा दक्षिणमा ३५ मिटर बाँध कटान गरेको छ । रतवाराको तटबन्ध कटानले पानी सोझै सदरमुकाम जलेश्वर प्रवेश गर्दा सडक जलमग्न भएको छ भने घरहरुमा पानी समेत पसेको छ ।
जलेश्वरमा स्थित महादेव मन्दिर क्षेत्र तथा जलेश्वरको अस्पताल चोक डुवानमा परेका छन् । जलेश्वर नगरपालिका–३ का स्थानीय रमेश ठाकुरका अनुसार खानेपानी, खाद्य सामग्रीको समस्या हुन थालेको छ । जलेश्वरको वडा नं. १, २, ३, ४ र ५ समेत प्रभावित बनेको छ । त्यसैगरी कटानले मटिहानी नगरपालिका–९ सिमरदहिको वस्तीमा पानी पसेको वडा अध्यक्ष मदन चौधरीले बताएका छन् ।
एकडारा गाउँपालिका–६ वगेयामा तटबन्ध भत्किदा एकडारा गाउँमा पानी पसेको नइम अन्सारीले बताएका छन् । बाढीको कारण जलेश्वर बर्दिबास सडकखण्डबाट पानी बगेको छ । औरही नगरपालिका–२ मा समेत १५ ओटा घरहरु डुबानमा परेको स्थानीय युवा प्रेमबाबु यदुवंशीले जानकारी दिनु भयो ।
बलवा नगरपालिकाको वस्तीमा बाढी पसेपछि सुरक्षाकर्मीहरुले स्थानीयहरुलाई उद्धार गरेका छन् ।
जिल्ला स्थित स्थानीय दैवि प्रकोप उद्धार समितिले असोज १८ गतेदेखि नै जनचेतना लागि सतर्क रहन अपिल गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताउनु भयो । बाढी प्रभावित क्षेत्र र सम्भावित ठाउँमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको छ ।
इन्सेक सर्लाही प्रतिनिधि बुधन साहका अनुसार असोज १८ र १९ गतेका दिन निरन्तर रुपमा परेको अविरल वर्षाका कारण जिल्लामा ३ सय ७४ ओटा घर डुबानमा परेका छन् । वर्षाका कारण जिल्लाका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका विभिन्न स्थानका घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्र कुमार खड्काले जानकारी दिनु भयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा उद्धार कार्य जारी रहेको र जिल्ला भरिमा करिब १ सय ८५ घरका मानिसलाई सुरक्षित स्थानमा राखिएको एसपी खड्काले बताउनु भयो । मलंगवा नगरपालिका–५ भाड़सर स्थित नदीखोला माथिबाट पानी बढ्दा उतर दक्षिण लोकमार्ग अवरुद्ध भएको, त्यस्तै कौडेना गाउँपालिका–५ छपकहियाबाट करिब ५५ घरपरिवारलाई उद्धार गरेको र मलंगवा नगरपालिका तथा पश्चिम गोडैता नगरपालिका बिचको सड़बगाइएका कारण बाटो पूर्ण रुपमा अबरुद्ध भएको एसपी खड्काले जानकारी दिनु भयो ।
मलंगवा नगरपालिका–६ खुटौना स्थित बस्तीमा पानी पस्दा ३५ घरधुरीका ५४ जना विस्थापित भएका छन् । त्यस्तै कौडेना गाउँपालिका–३ फुलपरासीमा करिब २५ घर डुबानमा परेपछि उनीहरुलाई उद्धार गरी सबै जनालाई राहत र खाने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकरी दिनु भयो ।
इन्सेक पर्सा प्रतिनिधि तुलसी भण्डारीका अनुसार अप्रत्यासित मौसमी वर्षाले जिल्लाका विभिन्न पालिकामा डुवान हुँदा १ सय ७७ जना र ५० घरपरिवारको उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ ।
उद्धार गरिएका मानिस र ५० ओटा चौपाया गाई, वीरगंज महानगरपालिका, जगरनाथपुर गाउँपालिका, बहुदरमाई नगरपालिका र धोबिनी गाउँपालिकाका रहेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदिपराज पाठकले बताउनु भयो ।
वीरगञ्ज महानगरपालिकाको बीच भएर बग्ने सिर्सिया नदीमा आएको बाढी बस्तीमा पसेपछि वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १, २, ३, ५, ११, १६, २३ र २४ वडा डुवानमा परेको महानगर प्रमुख राजेशमान सिंहले बताउनु भयो । ती वडामा पसेको बाढी र डुवानका कारण प्रत्यक्ष अप्रत्यक्ष ४ सय जति घरपरिवार प्रभावित भएको उहाँको भनाइ छ ।
महानगरको बस्तीमा नदीको पानी पसेपछि ४७ घर परिवारलाई उद्दार गर्नु परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । त्यसैगरी पालिकातर्फ भने जगरनाथपुर, बहुदरमाई र धोबिनी गाउँपालिकामा पनि एक÷एक घर परिवारलाई उद्दार गरी सुरक्षित ठाउँमा सारिएको पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताउनु भयो ।
त्यसैगरी वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा रहेको एउटा गाई गोठबाट ५० वटा गाईको पनि उद्धार गरी सुरक्षित ठाउँमा सारिएको उहाँले बताउनु भयो । उद्धार गरिएका मानिसहरुलाई आफन्त, छिमेकी, नेपाली काँगे्रस पर्साको पार्टी कार्यालय र शिवपार्वती धर्मशाला र नजिकका विद्यालय तथा धर्मशालामा राखिएको उहाँले जानकारी दिनु भयो ।
जिल्लाको ग्रामीण क्षेत्रतर्फ भने हजारौं बिगाहा धान खेत र सर्वसाधाणका सयौं घर डुबानमा परेका छन् । दुई दिनदेखि परेको अबिरल वर्षा असोज २० गते बिहानदेखि रोकिए पनि उत्तरतर्फबाट नदीमा आएको ठूलो बहावले जिल्लाका सिर्सिया, तिलावे, भेडाहा लगायतका नदी भरिएर कतिपय ठाउँमा खेती गरिएको जमिन र बस्तीमा समेत डुवान भएको जिल्ला विपत् व्यवस्थापन समिति संयोजक एवं पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताउनु भयो ।
पोखरिया नगरपालिकाक–९ को वैरिया, सतवरिया, छिपहरमाई गाउँपालिकाको जय मांगलापुर, ट्युकी भिश्वा बुढगार्इं, धोबनी गाउँपालिकाको हरिहरपुर, आसवारी, भीखमपुर लगायतका वस्तीहरु वर्षाको पानीबाट डुवानमा परेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनु भयो ।
त्यसैगरी पकाहामैनपुर गाउँपालिकाको खेसराहा, धोबिया टोला, सबैठुवा, धोरे, जगन्नाथपुर गाउँपालिकाको मसिहानी सुपुर मधुवाहा, बहुदरमाई नगरपालिकाको रामनगरी डोकैला बहुवरी, बिन्दवासनी गाउँपालिकाको अमरपट्टी, इटियाही झ्यौउवा, पर्सौनी भाठा गर्दवल लगायतका गाउँहरूको हजारौं विगाहा धान खेत डुबानमा परेको विपत् व्यवस्थापन समिति पर्साले जनाएको छ ।
डुवानमा परेका ठाउँका फुसका घर भएका सर्वसाधारणको घर समेत डुवानमा पर्दा स्थानीय जनजीवन प्रभावित भएको छ । ग्रामीण क्षेत्रमा रहेको ईलाका प्रहरी कार्यालय पोखरियाले धेरै धानखेत र सर्वसाधारणका घर डुवानमा परेको जनाएको छ ।
अविरल वर्षासँगै आएको बाढी र डुवान तथा कटानले सदरमुकाम ग्रामीण क्षेत्र सम्पर्क बिच्छेद गराएको छ । जिल्लाको दोस्रो सदरमुकामका रुपमा चिनिएको पोखरिया हुँदै वीरगञ्ज आउने सडकको पोखरिया ९ सवैया लच्कापुल, पकाहामैनपुर जाने बाटोको पर्सौनी भाठा स्थित लच्का पुल, र हुलाकी राजमार्ग अन्तर्गत रामनगरी र बहुवर्वा भठाको बीचमा होचो सडकखण्डबाट अत्याधिक पानीको बहाव हुँदा सदरमुकामसँगको आवागमन अवरुद्ध भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।
इन्सेक रौतहट प्रतिनिधि गौरी न्यौपानेका अनुसार जिल्लामा प्रारम्भिक अनुगमन गर्दा ४ सय १२ घरपरिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख बिनोदकुमार खड्काले बताउनु भयो । जिल्लामा तीन दिनदेखि परेको वर्षाको कारण लाल बकैया नदीमा आएको बाढी दक्षिण पश्चिम सीमावर्ती क्षेत्रमा रहेका बन्जरहा गाउँ प्रभावित भएको छ । वर्षा र बाढीको पानीबाट घेरिएका इशनाथ नगरपालिका–१ बन्जरहा गाउँका बासिन्दाहरु आफूलाई सुरक्षित राख्न विभिन्न जोहो गरिरहँदा खहेरु राय यादवको ६० वर्षीया पत्नी राजकुमारी देवी भ¥याङ्गबाट लडेर बाढीको पानीमा डुबेर असोज १९ गते राति मृत्यु भएको स्थानीय गृषनन्दन सिंहले जानकारी दिएका छन् ।
यादव सहित घरका सबै सदस्यहरु सुरक्षित रहन छतमाथि चढेपछि राजकुमारी पनि माथि जान खोज्दा भ¥याङ्गबाट लडेर पानीमा खसेको कसैलाई थाहै नभएको उहाँको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीले वर्षा र बाढीबाट अधिकाँश स्थानको सडक सञ्जाल बन्द भएको हुँदा पर्याप्त सूचनाहरु प्राप्त हुन नसकेको बताउनु हुन्छ । बन्जरहा गाउँमा महिला डुबेको खबर आएको र टोली त्यसतर्फ पठाइएको उहाँले जानकारी दिनु भयो ।
यसैबिच रौतहटमा असोज १८ गते बेलुका अविरल वर्षासँगै खसेको चट्याङ् लागेर तीन जनाको मृत्यु भएको छ । चट्याङ् लागेर कटहरिया नगरपालिका–२ हथियाही टोलका बस्ने अन्दाजी १६ वर्षीय सेहराज लहेरी, १६ वर्षीय नविन यादव र इशानाथ नपा–८ का ४५ वर्षीय ननक भनिने शेख जमरुलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीले बताउनु भएको छ । मृतक तीनै जनाको सब प्रादेशिक अस्पताल गौरमा गरी सतगद्को लागि आफन्तलाई बुझाइएको डिएसपी कार्कीले जानकारी दिनु भयो ।
बारा जिल्लामा समान्य मात्र क्षति पुगेको बारा प्रहरीले जनाएको छ । कलैया उपमहानगरपालिका–१, ४ र ६ वडामा रहेको घरहरुमा पानी पसेर समान्य क्षति पुगेको छ ।
इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार लगातार परिरहेको वर्षाका कारण कमला नदीको बाढीले सिराहाको कमला नदीका तटीय क्षेत्रका गाउँहरू डुबानमा परेका छन् । कल्याणपुर नगरपालिका–१२ बेलहामा पानी निकासका लागि बनाएको संरचनाबाट बाढी पस्दा बेलहा हुँदै सिराहा नगरपालिका अन्तर्गतका सारश्वर, कठकोल्वा, बसबिट्टा लगायतका गाउँ डुबानमा परेका छन् ।
सिराहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले आफ्नो वडाको करिब १५–२० घर डुबानमा परेकाले उनीहरूलाई सुरक्षित रूपले स्थानीय सामुदायिक विद्यालयमा सारेर राखिएको बताउनु भयो ।
सिराहाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहितको टोलीले असोज १९ गते दिउँसो कमला तटीय क्षेत्रको अनुगमन गरेर फर्किँदा अवस्था सामान्य भए पनि अपराह्नतिर बाढी गाउँ पसेको थियो । वडा अध्यक्ष यादवका अनुसार डुबानमा परेकाहरूलाई नेपाल प्रहरीको सहयोगमा स्थानीय युवाहरूले घरका सामानसहित उद्धार गरेका छन् ।
सिराहा नगरपालिकाका प्रमुख डा. नवीनकुमार यादवले कमला तटीय क्षेत्रमा पर्ने सिराहा नपा–५, ६, १२ र १३ नम्वर वडा क्षेत्रका बस्ती डुबानमा परेको बताउनु भयो । सिराहा नपा– १२, सारश्वरमा नगरपालिकाको लगानीमा बजारको सुरक्षाका लागि बनाइएको पर्खालसमेत बाढीले भत्काएको स्थानीयले बताएका छन् ।