जनकपुरधाम : मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सत्ता समीकरण बनेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोसपाबीच सहमति भई कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ।

जनमत पार्टीका नेता महेश प्रसाद यादवका अनुसार चार दलबीच विभिन्न चरणको छलफलपछि कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई नेतृत्व दिने सहमति भएको हो। उनले भने, “पुरानै समीकरणलाई निरन्तरता दिँदै कांग्रेस, एमाले, जनमत र लोसपा मिलेर सरकार बनाउन सहमति भएको छ। अब प्रदेश प्रमुख फर्किएपछि बहुमत सांसदहरूको हस्ताक्षरसहित पत्र पेस गर्ने तयारी छ।”

उनका अनुसार प्रदेश प्रमुख काठमाडौँमा रहेकाले आजै वा भोलिसम्म सरकार गठनका लागि आवश्यक पत्र बुझाइनेछ। तर, कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा भने अहिलेसम्म टुंगो लागेको छैन।

गत भदौ २८ गते जनमतले आफ्नै दलका मुख्यमन्त्री सिंहलाई फिर्ता बोलाएपछि सत्ता समीकरण बदलिएको हो। त्यसपछि कांग्रेसले पनि समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको थियो।

मधेशमा सरकार गठनका लागि ५४ सांसदको बहुमत आवश्यक हुन्छ। हालको नयाँ गठबन्धनमा कांग्रेसका २२, एमालेका सभामुखसहित २४ (एक निलम्बितबाहेक), जनमतका १३ र लोसपाका ८ (एक निलम्बितबाहेक) सांसद छन्। यस आधारमा नयाँ सरकार गठनका लागि पर्याप्त बहुमत सुनिश्चित भएको देखिन्छ।