कुमार कान्छा र आशा भोस्लेको लोकप्रिय गीत ‘बतासले उडाइ लाग्यो’लाई फिल्म ‘भाइरल गोर्खे’का लागि रिमेक गरिएको छ । फिल्म ‘चिनो’मा समावेश यो गीतको नयाँ भर्सन भाइटीका अवसरमा बुधबार सार्वजनिक गरिएको हो । गीतमा त्रिशला गुरुङ र दीपक लिम्बूले स्वर दिएका छन् भने संगीत रोहित शाक्यको छ । गीतका शब्द कुशुम गजमेरले लेखेका हुन् ।

श्याम पट्टेलको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठलाई प्रस्तुत गरिएको छ । ‘चिनो’मा शिव श्रेष्ठ र कृष्टि मैनालीले देखाएको शैलीलाई सौगात र सृष्टिले दुरुस्तै प्रस्तुत गरेका छन् । जसले ९० को दशकमा हुर्किएका पुस्तालाई नोस्टाल्जिक बनाउँछ । भिडियोमा सौगातले सृष्टिलाई चुम्बन गरेको दृश्य पनि समावेश छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको ‘भाइरल गोर्खे’मा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला लगायतको अभिनय रहेको छ । एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माताहरू अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर हुन् ।

अमर महर्जनको डिओपी, सुरज महर्जनको सिनेमाटोग्राफी, श्री श्रेष्ठको द्वन्द्व, अमित श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको रंग संयोजन तथा बन्दे प्रसाद, रवि चौधरी र भीम विश्वकर्माको सम्पादन रहेको फिल्ममा शुभेक्षा पौडेल, भुवन अधिकारी र निखिल पौडेल सह-निर्मातामा छन् । भाइरल प्रवृत्तिको पछि लाग्दाको प्रभाव र असरको परिणामलाई फिल्मले देखाउने जनाइएको छ ।