सोम दियाली । जनकपुरधाम। चैत्र २२ गते । गत कार्तिक २९ गते आफ्नै श्रीमान्ले गरेको एसिड प्रहारबाट घाईते भएकी धनुषाकी एसिड पीडित आरती साहलाई आर्थिक सहयोग प्रदान गरिएको छ । स्वास्थ्यकर्मी समेत रहेका सामाजिक अभियन्ता मोहन साहको पहलमा पीडित आरतीलाई राष्ट्रिय नेपाल वैश्य युवा संघका पदाधिकारीहरूले आर्थिक सहयोग गरेका हुन् । धनुषाको ढल्केवरमा आयोजित संघको प्रदेश २ स्तरीय सम्मेलनका क्रममा सम्मेलनमा सहभागिहरूमध्येबाटै आर्थिक संकलन गरि आरतीलाई सहयोग गरिएको वैश्य युवा संघका अध्यक्ष दिलीपचन्द साहूले बताए ।
उनकाअनुसार आरतीको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको कारण उनलाई आफूहरूले संकलन गररे सहयोग स्वरुप ४१ हजार ९ सय २० रुपैयाँ सहयोग गरेको हो। जनकपुरधाम उपमहानगरपालिका ७ स्थित बुवा आमासँगै बस्दै आएकी आरतीलाई जीवीकोपार्जनमा थोरै भए पनि सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरिएको अध्यक्ष साहूले बताए । यस अघि आरतीलाई विभिएस नामक संस्थाले समेत उनको उपचारको बेलामा २० हजार रुपैयाँ सहयोग गरेको थियो । सोही अवसरमा प्रदेश २ का कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री शैलेन्द्र साहले आरतीको उपचारको लागि आवश्यक प्रवन्ध गरिदिने प्रतिवद्धता जनाएका आरतीका बुवा सुबोध साहले बताए ।
‘मन्त्रीज्यूले आरतीको निःशुल्क उपचारको लागि प्रादेशिक अस्पतालमा सिफारिस गरिदिने प्रतिवद्धता गर्नु भएको छ,’ आरतीका बुवा सुबोधले भने । उनले यसअघि पनि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आरतीलाई सम्मान गरेको तर आरतीलाई सम्मान भन्दा पनि उपचार आवश्यक रहेकोले सम्मान सम्मानमा मात्रै सीमित भएको बताए । ‘मुख्यमन्त्रीज्यूले सम्मान त गर्नु भयो, तर छोरीलाई सम्मान भन्दा पनि उपचारको खाँचो छ, मेरा पनि ४ छोराछोरी छन्, उनीहरूको हेरविचार गर्नु कि, आरतीको उपचार खर्च जुटाउनु। आरती पनि अहिले माईती मै बसेकी छे, उसको पनि एउटा छोरा छ, कमाउने कोही छैन । ’उनले आरतीलाई निःशुल्क उपचार गराई दिए र केही जागीर लगाई दिन आग्रह गरे ।