सप्तरी। चैत्र २१ गते । सांसद रेशम चौधरीलाई रिहा हुनबाट कसैले रोक्न नसक्ने जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले बताएका छन्। शुक्रवार सप्तरीको राजविराजमा आयोजित राष्ट्रिय जागरण सभालाई सम्बोधन गर्दै नेता महतोले जेलमा रहेका सांसद चौधरी चाँडै रिहा हुने ठोकुवा गरे। उनले सरकारमा जान हतारो नरहेको भन्दै यस पटक उधारो सम्झौता नगर्ने पनि बताए ।
उनले सांसद चौधरीको रिहा, संविधान संशोधन, मधेस–थरुहट आन्दोलनमा आफ्ना नेता कार्यकर्ता माथि लगाइएको झुठा मुद्दा फिर्ता लगायतको माग पुरा नभएसम्म सरकारमा सहभागी नहुने बताए । नेता महतोले सरकारले पटक–पटक बाचा गरेर धोका दिएकोले अब उधारोमा सम्झौता होइन नगदीमा हुनुपर्ने धारणा राखे। उनले विभिन्न दलहरूसँग कुरा गर्न कार्यदल बनाएको भन्दै पहिले माग पुरा भएपछि मात्र सरकारलाई समर्थन गर्ने विषयमा कुरा अघि बढ्ने बताए ।