जनकपुरधाम । फाल्गुन । १२ गते । धनुषाको कमला नगरपालिका १ हथलेटवा निवासी राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय सदस्य समेत रहेका महेश्वर मण्डल अपहरणमा परेको भन्दै खोजी गरिदिन उनको छोराले प्रहरीमा निवेदन दिएका छन्। फाल्गुन ७ गते राती घरमै सुति रहेका ५४ वर्षिय मण्डललाई अज्ञात समूहले उठाएर लगेको मण्डलका छोरा निवेदक राधेश्याम मण्डलले बताए । उनका अनुसार बुवा महेश्वरको गाउँकै एक व्यक्तिसँग लेनदेन रहेको थियो। ती व्यक्तिले बुवा अपहरणमा पर्ने दिन विहान घरमा आएर मेरो पैसा नदिए म उडाई दिन्छु भनेका थिए ।
बुवा अपहरणमा परेको भन्ने कुरा आफुहरूले विहान मात्रै थहा पाएको निवेदक राधेश्यामले बताए । विहान ५ बजेर २४ मिनेटमा मेरो नम्बरमा बुवाको फोन आयो। मैले फोन उठाएँ, बुवा रुनु भएको आवाज आयो। पछाडीबाट ४÷५ जनाको आवाज पनि आई रहेको थियो। बुवाले केही बोल्न पाउनु भएन फोन कट्यो। त्यस पछि बुवाको नम्बरमा फोन लागेन । ८ गते राती एक पटक फोन लागेको थियो तर उठेन ।
उनका अनुसार बुवालाई धम्की दिने व्यक्ति गाउँमा नभएकोले उनले नै बुवाको अपहरण गरेको हो कि भन्ने आशंका व्यक्त गरेका छन् । उनले बुवाको खोजीका लागि ईलाका प्रहरी कार्यालय खजुरी र जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएको बताए । यता प्रहरीले महेश्वर मण्डलको खोजविनका लागि उनको छोरा राधेश्यामले निवेदन दर्ता गराएको जानकारी दिएको छ । राधेश्यामको निवेदन जिल्ला प्रहरी कार्यालय धनुषामा सोमवार दर्ता भएको छ ।