जनकपुरधाम । मंसिर ८ गते । महोत्तरीको औरही नगरपालिका– १ स्थित स्थानीय महेश साहको पक्की तीनतले घरमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । आइतबार राति करिब ९ बजे लागेको आगो तीन घन्टापछि १२ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए ।
क्षतिबारे हालसम्म अन्तिम विवरण नआइसके पनि आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । साहकै घरमा रहेको हार्डवेयर पसलको स्टोरमै रहेको दुई करोडभन्दा बढीको सामानहरू जलेर नष्ट भएका छन् भने सोही घरको माथिल्लो तलामा रहेको सुबिसु नेटको सबै सामग्री जलेको छ ।
सुबिसुकै पाँच करोडभन्दा बढीको क्षति भएको अनुमान छ । यता घरसमेत पूर्ण रूपमा जलेर काम नै नलाग्ने अवस्थामा पुगेको छ भने घरभित्रमा अन्य विभिन्न सामानहरू जलेर नष्ट भएको छ । प्रहरीले आगलागी भएको स्थलको विवरण संकलन गरिरहेको बताउँदै डिएसपी विष्टले सबै तथ्यांक संकलन भइसकेपछि मात्र क्षतिबारे केही भन्न मिल्ने बताए ।
महोत्तरीमा १५ स्थानीय तहमध्ये जलेश्वर नगरपालिका, बर्दिबास नगरपालिका र गौशाला नगरपालिकासँग मात्र एक– एक थान बारुण यन्त्र छ ।