
२७ असोज, काठमाडौं । सरकारले हेभी इक्विपमेन्टअर्थात ठूला निर्माण यन्त्र तथा उपकरणको चालक अनुमतिपत्र (लाइसेन्स) दिने व्यवस्था खुकुलो पार्ने तयारी गरेको छ ।
यातायात व्यवस्था विभागले हेभी इक्विमेन्टको सवारी चालक अनुमतिपत्र लिने विद्यमान व्यवस्था अब्यवहारिक भएको ठहर गर्दै महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको हो ।
डोजर, स्काभेटर, लोडर लगायतका सवारीका चालकलाई सहज होस् भन्ने उद्देश्यका साथ यस्तो व्यवस्था गर्न लागिएको विभागको भनाइ छ ।
अहिले हेभी इक्विपमेन्टको चालक अनुमतिपत्र लिन साना सवारीको लाइसेन्स लिएको दुईवर्ष पुग्नुपर्ने व्यवस्था छ । तर, सडकमा कमै गुडाइने हेभी इक्वीपमेन्टहरुका चालकलाई यो व्यवस्थाले अप्ठेरो सिर्जना गरेको ठहर विभागले गरेको छ ।
त्यसैले साना सवारीको लाइसेन्स लिएको २ वर्षपछि मात्रै हेभी इक्विपमेन्टको लाइसेन्सको ट्रायल दिन पाउने व्यवस्थालाई विभागले संशोधन गर्न लागेको महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।
उनले अहिले विभिन्न प्रशिक्षण केन्द्रहरुबाट नै दक्ष हेभी इक्विपमेन्ट चालहरु उत्पादन भइरहेकाले असजिलो व्यवस्था हटाउन लागिएको बताए । विकास निर्माणका काममा अत्यावश्क ठूला उपकरण चलाउने चालककले साना सवारी पनि सिक्नैपर्ने बाध्यतालाई हटाइदिन लागिएको उनको भनाइ छ ।
‘अन्य ठूला सवारीमा वर्तमान व्यवस्था यथावत रहन्छ । तर, हेभी इक्विपमेन्टको हकमा भने नयाँ व्यवस्था गर्दैछौं,’ भट्टराईले भने ।
अहिले विभागले अञ्चल कार्यालयहरुलाई सडक विभाग अन्तर्गतका स्थानीय हेभी इक्विपमेन्ट डिभिजनहरुमा ट्रायल लिन सक्ने गरी अधिकार दिएको छ ।
त्यसैकारण उपत्यकाबाहिर पनि हेभी इक्विपमेन्टको ट्रायल हुन थालेको छ ।