बाँके, माघ ६ – आमा विदा पाउँदिन । अहिलेको दसैंमा आमा घरमा आउँदिन । बाँकेको खजुरामा जारी ‘मसुबेटवा बाबा मेला तथा खजूरा महोत्सव’मा शनिबार गायक बद्री पंगेनीले दर्शकलाई रुवाएका छन् ।
गायक पंगेनीको गीत सुनेपछि मेलामा सहभागी सबैको आँखा रसाएका थिए । यसैगरी गायक पंगेनीले जुम्लाको स्याउ कुहियो लगायतका राष्ट्रवादी गीत पनि प्रस्तुत गरेका थिए ।
शनिबार सार्वजनिक विदा भएका कारण खजुरा महोत्सवमा दर्शकको संख्या बाक्लो रहेको थियो । खजुरा महोत्सवमा महानायक राजेश हमाल, गायिका तृप्ती खड्का, कलाकार सीताराम कट्टेल(धुर्मुस) ,र कुञ्जना घिमिरे(सुन्तली)को प्रस्तुती भईसकेको छ ।
आधुनिक युवा सञ्जालका अध्यक्ष तिलकबीर सुनारका अनुसार महोत्सवमा हरेक दिन दर्शकको संख्या बढ्दै गएको छ । माघ १० गतेसम्म हुने खजुरा महोत्सवमा करिव एक लाखले अवलोकन गर्ने र डेढ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।