नवलपरासी, माघ २४ – नवलपरासी जिल्लाको ऐतिहासिक धार्मिक स्थल मदार बाबाको मेला भर्न आएका एक जना भारतीय तिर्थयात्री ज्यान गएको छ ।
भारत महाराजगन्जका ५५ वर्षीय तेन्दुकुमार पटेलको मदार बाबा मेला जाने क्रममा ज्यान गएको हो ।
पहाड चढ्दा उच्च रक्तचापका कारण उनको ज्यान गएको हुन सक्ने इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशवसिंह थापाले बताउनुभयो । मृतकको शव पोष्टर्माटमका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको प्रहरीले जनाएको छ ।
हिन्दु र मुस्लिम धर्मालम्बी दुवैको आस्थाको केन्द्रबिन्दु मदार बाबाको मेला फागुन २२ गतेबाट सुरु भएको हो । मेला फागुन १ गते सम्म चल्नेछ । मेलाको नेपालका विभिन्न जिल्लाहरु र भारतको उत्तरप्रदेश, बिहारलगायतका जिल्लाहरुबाट झण्डै ५ लाख भक्तजनहरुले अवलोकन गर्ने अपेक्षा लिएको सुस्ता गाउँपालिका अध्यक्ष एवम मेला व्यवस्थापन समितिका संयोजक रामप्रसाद पाण्डेले बताउनुभयो ।