सुर्खेत, फागुन ११ – नगरपालिकालाई व्यवस्थित नगर गर्न विरेन्द्रनगर नगरपालिकाले शुक्रबार ‘नमस्ते घरदैलो अभियान’ कार्यक्रम गरेको छ ।

नगर क्षेत्रमा फुटपाथ व्यवस्थापन गर्न र सरसफाइका लागि नगरप्रमुख देवकुमार सुवेदी र उपप्रमुख मोहनमाया ढकालको नेतृत्वमा नगरपालिका जनप्रतिनिधि, कर्मचारीले शुक्रबार बजार क्षेत्रमा घरदैलो गरेका हुन ।
बजार क्षेत्रको मंगलगढी चोक, घण्टाघर, गणेशचोक, विरेन्द्र चोकलगायतका क्षेत्रमा सडकका आसपासका क्षेत्रमा पसल गर्ने, सडकमा समान राख्नेहरुलाई भेटेर बजार व्यवस्थित गर्नका लागि सहयोग गरिदिन अनुरोध गरिएको छ । उपप्रमुख मोहनमाया ढकालले नगर क्षेत्रलाई व्यवस्थित गराउन नगरपालिकाले अभियानका रुपमा अघि बढेको जानकारी दिनुभयो ।
‘हामीले बजार क्षेत्रको प्रत्येक घर, पसलहरुमा र फुटपाथमा व्यवसायी गरिरहेका व्यावसायीहरुलाई नगरपालिकाको अभियानमा सहयोग गरिदिन अनुरोध गरेका छौँ’ उहाँले भन्नुभयो, ‘हामीले विरेन्द्रनगरलाई प्रदेशको सफा, स्वच्छ, स्वस्थ, समुन्नत र व्यवस्थित राजधानिका रुपमा विकास गर्न जरुरी छ । त्यसै अनुरुप हामीले नगर क्षेत्रलाई व्यवस्थित गर्न अभियानका रुपमा अघि बढेका छौँ ।’
नगरपालिकाले आइतबारदेखि फुटपाथमा व्यवसाय गरिरहेका व्यापारीहरुलाई हटाउने बताएको छ ।नगरपालिकाले बजारका घरहरुमा टिनपाता नझुण्डाउन, सडकमा निर्माणका समानहरु नराख्न र जथाभावी पार्कीङ नगर्न, सडकमा व्यापार नगर्न पनि अनुरोध गरेको छ ।
यस्तै, भोलि विहान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित मन्त्रीय, सांसदहरुको सहभागितामा विरेन्द्रनगर बजार क्षेत्र सरसफाई गरिने नगर उपप्रमुख ढकालले जानकारी दिनुभयो ।