संखुवासभा, माघ १ –संखुवासभाको भोटखोलामा आइतबार दुर्घटनामा मृत्यु भएका ६ जनाको शव आफन्तलाई बुझाइएको छ । सदरमुकाम खाँदबारीमा पोष्टमाटमपछि सोमबार शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
जीप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालसहित ६ जनाको मृत्यु भएको थियो । भोटखोला गाउँपालिकाको हटियामा पर्ने बरुण दोभानतर्फ गएको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परि समाजशास्त्री अर्जुन बस्नेत, इन्जिनियर सुदीप ढकाल, जिल्ला समन्वय समितिका सूचना अधिकृत सुभासचन्द्र कुइँकेल, पाथिभरा हेदांनाका सुरेश राई र चालक कृष्ण श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियोे ।
६ जनाको शवमध्ये गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल, सुरेश राई र कुइँकेलको शव एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जली दिइएको थियो । कटुवाल र राईको शव हेलिकप्टरबाट नुम लगेर अन्तिम संस्कार गरिएको छ ।
कुइँकेलको शव खाँदबारी–९, स्थित मनकामनामा लगेर अन्तिम संस्कार गरिएको छ । समाजशास्त्री बस्नेत, इन्जिनियर ढकाल र चालक कृष्ण श्रेष्ठको शव हेलिकप्टरबाट काठमाडौं लगिएको छ । दुर्घटना भएको जीप स्थानीय विकास मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइको थियो ।