दयाराम आचार्य/उज्यालो ।
नवलपरासी, पुस ८– देशव्यापी रुपमा चिसो बढिरहेको छ । चिसोको समयमा खासगरी तराई क्षेत्रमा इन्धनको लागि गुइँठाको प्रयोग हुने गरेको छ ।

गाई भैँसीको गोबर सुकाएर गुइँठा तयार गरिन्छ र यसलाई खाना पकाउन लगाएतका काममा इन्धनको रुपमा प्रयोग गर्ने गरिन्छ । वनजंगलबाट बस्ती टाढा हुने र आर्थिक अवस्था कमजोर हुनेहरुले खाना पकाउनका लागि गुइँठाको प्रयोग गर्ने गर्दछन् ।
नवलपरासीको सरावल गाउँपालिका भुजहवाका स्थानीय दुर्गेश शर्माका अनुसार यस क्षेत्रको आर्थिक अवस्था कमजोर भएका सबै परिवारले गुइँठा, उखुको पात बालेर खाना पकाउने गर्दछन । आर्थिक अवस्था राम्रो हुने परिवारले ग्यासको प्रयोग गर्छन । दाउरा किन्न सक्नेले दाउरामा खाना पकाउने गर्छन् ।
नवलपरासीको दक्षिण क्षेत्रमा रहेको भुजहवा, महेशपुर, कुश्मा, प्रसौनी, ठूलोखैरटहवा, हरपूर, सनई, पाल्ही, गेरमा, त्रिवेणीलगायतका मधेशी समुदायको बाहुल्यता रहेका ग्रामिण क्षेत्रहरुमा अहिले पनि खाना पकाउन इन्धनको रुपमा गोबरबाट बनाएका गुइँठाको प्रयोग गर्दै आएका छन् ।

मधेशी समुदायका आर्थिक रुपमा सम्पन्न केही परिवारले समेत गुइँठाको प्रयोग गर्ने गरेका छन् । परम्परागत रुपमा गुइँठाको प्रयोग गर्दै आएका कारण पनि आर्थिक अवस्था राम्रो हुने कतिपयले समेत गूइठाको प्रयोग गर्दै आएका छन् । इन्धनको रुपमा प्रयोग गर्नका लागि आलो गोबरलाई गुइँठा बनाएर घाममा सुकाएर सुरक्षित स्थानमा राखिने गरिन्छ ।
गुइँठासँगै यस क्षेत्रका स्थानीयले उखुको पातलाई समेत खाना पकाउनका लागि प्रयोग गर्दै आएका छन् । नवलपरासीको तराई क्षेत्रको ग्रामिण भेगका स्थानीयको घरमा उखुको पातका थुप्रो समेत देखिन्छ । उखुबाली धेरै हुने यस क्षेत्रमा उखुको पातलाई सुरक्षित बनाएर राखी यसैलाई खाना पकाउनका लागि इन्धनको रुपमा प्रयोग गर्ने गरिन्छ ।

‘इन्धनको लागि धेरै समस्या छ । गुइँठा र उखुको पात नै हो बाल्ने । ग्यासमा सबैले खाना बनाउन कहाँ सक्छन् !’, महेशपुरका सोनु यादवले भन्नुभयो, ‘यसरी आगो बाल्दा स्वास्थ्यमा धुवाँले असर हुन्छ, तर के गर्ने यसको विकल्प पनि छैन ।’
परम्परागत रुपमा बालिने गुइँठाबाट धेरै धुवाँ निस्कने जसबाट कार्वनडाईअक्साईडको बढी उत्सर्जन हुने भएकाले यसले श्वासप्रश्वास सम्बन्धी समस्या देखिने जीवन सिटी अस्पतालका स्वास्थ्य सहायक जीवन सापकोटाले बताउनुभयो ।
घरको बनोटसमेत होचो हुनाले हावा खेल्न नपाउने कारणले कार्वनडाईअक्साइड उत्सर्जन बढी हुने हुँदा शरीरलाई चाहिने अक्सिजनको मात्रा कम हुने, यसले गर्दा अल्पकालीन र दिर्घकालीन रुपमा श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा पनि जटिल समस्या देखिनसक्ने उहाँले बताउनुभयो ।