उषा तामाङ/उज्यालो ।
माघ, दोलखा २० – ‘हामी हाम्रो साथी मदनलाई बचाउन चाहन्छौँ’ भन्ने अभियानका साथ दोलखा सदरमुकाम चरिकोटको गौरीशंकर बोर्डिङ स्कुलका विद्यार्थीले चिया बेच्ने अभियान थालेका छन् । माघ महिनाको चिसो त्यसमाथि हिमाली जिल्ला दोलखा । दिउँसोमा त घामको न्यानोले चिसोको खासै प्रवाह हुँदैन ।
बिहान बेलुकीको चिसोमा नत बाहिर निस्कन मन लाग्छ, न केही काम गर्नै । दोलखा गौरीशंकर बोर्डिङमा कक्षा ५, ६ र ७ मा पढने विद्यार्थीलाई भने चिसोको प्रवाह नै छैन् । ब्लड क्यान्सबाट पीडित साथी मदन केसीलाई बचाउनको लागि उनीहरुले चिसोको प्रवाह नै नगरी ‘चिया बेच्ने अभियान’ थालेका हुन् । गत बुधबारदेखी दोलखाको सातदोबाटो चोकमा चिया बेच्न बसेका विद्यार्थीले यो अभियानलाई एक हप्तासम्म जारी राख्ने जनाएका छन् ।
गौरीशंकर बोर्डिङ स्कुलका पूर्व विद्यार्थी अहिले कालिन्चोक माविको कक्षा ९ मा पढने १४ वर्षीय मदन केसीलाई बचाउनका लागि गौरीशंकर अभियानका लागि यो अभियान चालेको बोर्डिङका प्रधानाध्यापक सुर्यकृष्ण श्रेष्ठेले जानकारी दिनुभयो । बुधबार देखी चलाइएको यो अभियानमा पहिलो दिनमै ५७ हजार ९ सय पैसठ्ठी रुपैयाँ संकलन भएको जनाइएको छ ।
आफ्नो स्कुलको पूर्व विद्यार्थी मदनलाई बचाउन गौरीशंकर बोर्डिङ स्कुलका विद्यार्थीले सातदोबाटो चोकमा जम्मा भएका नागरिकलाई चिया दिने गरका छन् भने चिया पिउनेले आफूले सक्दो आर्थिक सहयोग ‘सहयोग बाकस’ मा खसाल्ने गरेका छन् ।
मदनलाई बचाउनको लागि अन्य संघसंस्थाबाट पनि सहयोग संकलन भइरहेको छ । दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ५ का ब्लड क्यान्सर पीडित मदन केसीलाई उपचारको लागि विभिन्न संघसंस्थाबाट संकलन गरिएको एक लाख भन्दा बढि रकम शनिबार आयोजित एक कार्यक्रम गरी उनको परिवारलाई हस्तान्तरण गरिएको छ ।
अभियानकर्ता राजन केसीले संकलन गर्नुभएको एक लाख ३० हजार ८ सय ७० रुपैयाँ शनिबार एक कार्यक्रम गरी परिवारलाई हस्तान्तरण गरिएको हो । घरको आर्थिक अवस्था सामान्य रहेको मदनको अहिले काठमाडौंको नागरिक अस्पतालमा उपचार भैरहेको छ ।