२ नम्बर प्रदेशमा सरकार बनाउने फोरम र राजपाका यस्ता छन् आ–आफ्ना सूत्र

0

गठनबन्धन बनाएर २ नम्बर प्रदेशमा प्रदेश र प्रतिनिधिसभा चुनाव लडेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच दूरी बढ्न थालेको छ ।

दुवै दलले २ नम्वर प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनका लागि विभिन्न विकल्पमाथि आन्तरिक छलफल थालेका छन् । अहिले दुवै पार्टी प्रदेशमा समानुपातिकतर्फ संसद छनौटमा पनि लागेका छन् ।

संख्याको हिसावले प्रदेश २ मा फोरम नेपालको ठूलो दल भएको छ । तर, उसँग एकल बहुमत चाहिँ छैन । त्यसैले उसले राजपा नेपालसँग मिलेर संयुक्त सरकारको नेतृत्व गर्ने घोषणा गरिसकेको छ ।

तर, राजपा नेपालले पनि सरकारको नेतृत्व गर्ने दावी छाडेका छैन । राजपामा मुख्य मन्त्रीका दावेदार धेरै छन् । यहीकारण राजपाले प्रदेश सरकारको नेतृत्वमाथि दावी नछाडेको हो ।

राजपा नेपालका नेताहरुले संयुक्त सरकार बन्ने भएपछि मुख्य मन्त्रीमा पनि सहमति बनाउनुपर्ने धारणा राख्दै आएका छन् । राजपाका नेताले यस्तो धारणा राखेपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव झस्केका छन् ।

राजपा नेपालका नेताहरुको अभिव्यक्ति आएकै बेला फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश र केन्द्र सरकारका विषयमा वामगठबन्धनतिर संवाद थालेका छन् ।

राजपा नेपालले राजनीतिक खेल थाले वामगठबन्धनसँग मिलेर सरकार बनाउने तयारी फोरम नेपालको रहेको स्रोतहरुको दावी छ ।

२ नम्बर प्रदेशमा फोरम नेपालको २९ र वामगठबन्धनको ३२ सीट  छ । दुवैलाई मिलाएर ६१ सीट हुन्छ । जब कि सरकार बनाउन ५४ भए पुग्छ ।

केन्द्रमा वामगठबन्धनको सरकार बनेपछि उसले हरेक प्रदेशमा आफ्नो उपस्थिति देखाउने प्रयास गर्नेछ । दुई नम्बर प्रदेशबाहेक वामगठबन्धनको हरेक क्षेत्रमा सरकार बन्दैछ ।

वामगठबन्धन पनि चाहन्छ, कि कुनै न कुनै तरिकाबाट २ नम्बर प्रदेशको सरकारमा आफुहरुको पनि सहभागिता होस् । २ नम्बर प्रदेशमा फोरम नेपालसँग सहमति भयो भने सरकारको नेतृत्व दिएर पनि सरकार निर्माण गर्ने विकल्प वामगठबन्धनसँग हुनेछ ।

यता, राजपा नेपाल पनि फोरम नेपालले ‘धेरै खेल खेले’ वामगठबन्धनसँग मिलेर संयुक्त सरकार बनाउने दाउमा छ । बामगठबन्धनको ३२ र राजपा नेपालको २५ गरि ५७ सीट हुन्छ । सरकार गठनका लागि पर्याप्त सीट हुन्छ ।

वामगठबन्धनमा रहेको एमालेलाई राखेर सरकार बनाउन गाह्रो भए माओवादी केन्द्र र काँग्रेसलाई मिलाएर पनि राजपा नेपालले सरकार बनाउनसक्ने अनौपचारिक छलफल सो पार्टीमा चलेको छ ।

माओवादी केन्द्रको ११, काँग्रेसको १९ र राजपा नेपालको २५ सीट रहेको छ । जम्मा ५५ सीट हुन्छ । त्यसले पनि सरकार गठन हुन्छ ।

यी हिसाब किताब गरेर बसेका राजपा नेपाल र फोरम नेपालबीच औपचारिक वार्ता भने भएको छैन ।

सप्तरीबाट फर्केपछि उपेन्द्र यादव र महन्थ ठाकुरबीच पुस ६ गते भेटघाट भएको छ । एक नेताका अनुसार भेटघाटमा महन्थ ठाकुरले भनेका थिए, ‘तपाईंको दलले बढी सीट ल्याएको कारणले नेतृत्वको दावी गर्ने स्वभाविक हो, संयुक्त सरकार भएका हुनाले यसलाई छलफलले नै टुङ्ग्याउनुपर्छ ।’

ठाकुरले पार्टीका नेताहरु राजधानी आइसकेपछि छलफल गरेर त्यसको टुगों लगाउने धारणा राखेका थिए । राजपा नेपालको दुई दिनदेखि बैठक बस्ने तयारी भएपनि नेताहरुको अनुपस्थितिका कारण बैठक बसेको छैन ।

राजपा नेपालका छजना अध्यक्ष मण्डलमध्ये महन्थ ठाकुर, शरतसिंह भण्डारी र राजेन्द्र महतो फर्किसकेका छन् । यी तीनजनाको बीचमा पनि भेटघाट भएको छैन ।

राजपा नेपालका एकजना महासचिवले भने, ‘तीनजना नेता आइसकेका छन्, उनीहरु तीनजना एकैठाउँमा बस्न सक्नु भएको छैन । हिजो शरतसिंह भण्डारी र महन्थ ठाकुरबीच भेटघाट भयो । आज महन्थ र राजेन्द्रबीच भेटघाट भयो । तर, अझै बैठकको तय भएको छैन ।’

राजकिशोर यादव, महेन्द्र राय यादव र अनिलकुमार झा पनि राजधानी फर्केपछि बैठक बस्ने तयारी छ ।

यी दुई दलबीच एक–आपस जति–जति बैठक लम्बिदै जान्छ, त्यति नै विभिन्न विकल्पमाथि छलफल हुनेछ ।

राजपा नेपाल र फोरम नेपाल अहिले आआफ्ना दलमा समानुपातिक मिलाउनमा व्यस्त देखिन्छ । समानुपातिकमा आकांक्षी धेरै भएकाले शीर्षस्थ नेतालाई मिलाउन गा्रहो भइरहेको छ ।

Share.

Leave A Reply