हेलिकप्टर चढेर पाथिभराको दर्शन गर्न आउने प्रधानमन्त्रीलाई के थाहा सडकको अवस्था ?

0

ताप्लेजुङ, असोज २३ –  शाही कालका राजा हुन् वा गणतन्त्रका प्रधानमन्त्री । सरकार प्रमुख हुनेवित्तकै ताप्लेजुङमा रहेको पाथिभरा दर्शन गर्न आइपुग्थे । तर सबै हेलिकप्टरमा । हिलाम्ये सडक भएर उनीहरु आउने कुरै भएन । अनि कसरी थाहा होस् उनीहरुलाई सडकको दुरावस्था ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा कु गरेपछि राजा ज्ञानेन्द्र पाथीभरा आएका थिए । उनी देवीको दर्शन गरेर गए । तर  हेलिकप्टरमा आएका उनलाई के थाहा जनता हिँड्ने बाटोको अवस्था ।

राजाहरुको त कुरै छाडौँ तर देशमा जनताद्वारा चुनिएका नेताहरुले सरकारको बागडोर सम्हालेपछि यहाँको सडकलाई चासो दिएनन् । प्रायः सबै प्रधानमन्त्रीहरु पाथिभराको दर्शन गर्न आएका छन् ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला ३ पटक सम्म हेलिकप्टरमा आएर पाथीभराको दर्शन गरेर गएका थिए । जनताका प्रधानमन्त्री जनता हिँड्ने सडकबाट नआएर हेलिकप्टरमा आएपछि बाटो के–कस्तो थाहा हुने कुरै भएन ।

त्यस पछिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि प्रधानमन्त्री हुने वित्तिकै पाथिभराको दर्शन गर्न आइपुगेका थिए । उनी पनि हेलिकप्टरमै आएका थिए ।

सुशील कोइराला पनि प्रधानमन्त्री भएका बेला पाथीभराको दर्शन गरेर फर्केका थिए, उनले पनि चर्चित र प्रसिद्ध पाथिभरासम्म दर्शन गर्न आउने बाटो के–कस्तो भनेर सोध्ने कामसमेत गरेनन् ।

पछिल्लो समय केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला १ घण्टा लगाएर पाथिभराको दर्शन गरे । ओलीले सडकको स्तरोन्नतीका आश्वासन पनि दिए तर अहिलेसम्म सडक जस्ताको त्यस्तै छ ।

पाथिभरामा आन्तरिक मात्रै होइन, बाह्य पर्यटकको पनि उस्तै भिड लाग्ने  गर्छ । तर वार्षिक ५ लाखसम्म भत्तजन आउने पाथिभराको सडक भने कहालीलाग्दो छ । त्यसै कारणले अहिले दुर्घटना बढिरहेको सरोकार वालाहरुले बताएका छन् ।  

करोडौं खर्च तर सडकको अवस्था उस्तै

ताप्लेजुङको पाथीभरा क्षेत्रको भालुगौंडे क्षेत्रमा भएको सवारी दुर्घटनामा मोरङ उर्लावारी नगरपालिका –४, का एकैघरका दुईजनाको ज्यान गएको छ ।

सोमबारको दुर्घटनामा एकै घरका जेठाजु र बुहारी होमराज घिमिरे र अमिता थापा घिमिरे र ज्यान गएको हो । चालकसहित अन्य ३ घाइते भए । घाइते सबै गम्भीर छन् । तीमध्ये दिलिप घिमिरे र अनिलजंग थापालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौ लगिएको छ । चालक इलाम निवासी अमिक श्रेष्ठलाई पनि एम्बुलेन्समार्फत झाको विर्तामोड पठाइएको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

पाथीभरा मन्दिरको दर्शनका लागि गएका तिर्थ यात्री चढेको सवारी दुर्घटनामा मानवीय क्षतिसमेत भएको यस घटनाले पाथीभरा क्षेत्रको सडकको स्तर नै दुर्घटनाको प्रमुख कारण भएको बताइन्छ ।

पानी, शीत र माथिल्लो भेगमा हुने हिमपातका कारण बाह्रैमास चिसो भइरहने कच्ची सडकमा गाडी दुर्घटना हुने गरेको चालक हरि भट्टराईले बताउनुभयो । चालक भट्टराईले अत्यन्तै सुरक्षित भएर गाडी चलाएन भने गाडी दुर्घटना हुन सक्ने बताउनुहुन्छ ।

उत्तर–दक्षिण (ओलाङ्चुङगोला) सडक आयोजनाका अनुसार सडक मर्मत र स्तरोन्नतिका लागि मात्र अहिले सम्म ३ करोड बढी खर्च भैसकेको बताइन्छ ।तर सडकको अवस्थामा भने सुधार आएको देखिँदैन । उत्तर–दक्षिण सडक आयोजनाका इञ्जिनियर रमेश गोइतका अनुसार सडक डिभिजन कार्यालय इलामबाट ५५ लाख रुपैयाँ खर्च भएको छ भने आर्थिक वर्ष ०६९/०७० मा २५ लाख, ०७०/०७१ मा २५ लाख, ०७१/०७२ मा ६७ लाख र ०७२/७३ मा १० लाख खर्च भइसकेको छ ।

चालु आवमा काफ्लेपाटीसम्मको सडकको स्तरोन्नतीका लागि झापा सुरुङ्गाको कन्काइ इन्टरनेसनल प्रालिसँग भएको सम्झौता अनुसार काम भैरहेको आयोजना प्रमुख कुबेर नेपालीले बताउनभयो ।

प्रमुख नेपालीका अनुसार सडक कटिङ, मोहडा विस्तार र ढल निकासको काम भने पक्कीको क्रममा मात्र हुने बताए । कन्काइले आफ्नो जिम्मामा परेको काम सक्नका लागि २०७४ साल मंसिर मसान्तसम्मको समयावधि पाएको सडक आयोजनाले बताएको छ ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका सह–सचिव लक्ष्मीप्रसाद काफ्ले सडक निमार्णको काममा ढिलाई भैरहेको बताउनुहुन्छ ।

Share.

Leave A Reply