सिरक–डसना बनाउने अनिलको लोभ लाग्दो कमाई, सिजनमा ४० हजार

0

डडेल्धुरा, असोज २४ – बेरोजगारीको समस्या छ भन्दै केही पैसाका लागि विदेशीने र स्वदेशमै बेरोजगार बस्ने युवाहरुको अहिले कमि छैन । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने जस्तै बेरोजगार युवका लागि प्रेरणाका स्रोत हुन सक्छन् घुमन्ते रुपमा व्यापार गर्दै हिँडेका छिमेकी देश भारतका युवाहरु ।

नेपाल–भारत सीमा वीरगञ्ज र रक्सौल नजिकै भारत घर भई अहिले डडेल्धुराका ग्रामीण बस्तीमा सिरक र डसनाको फिटाई तथा कताई गर्दै आईरहेका ८ जना युवाहरुले सन्तोषजनक आम्दानी गरिरहेका छन् ।

जानी नजानी हिन्दी लवजमा नेपाली भाषा बोल्ने भारत बिहारको पूर्वीचम्पापुर का २८ वर्षीय अनिलप्रसाद ८ जनाको समूहमा आएका छन् । अमरगढी नगरपालिका–५ मा डेरा गरी जिल्लाका विभिन्न ग्रामीण भेगमागई सिरक तथा डसनाको काम गरिरहेको उनीहरु बताउँछन् ।

वर्षमा तीनदेखि चार महिना अर्थात चिसो सिजनमा सिरक डस्नाको काम गर्ने र बाँकी महिना भारतमै गएर खेती किसानी गर्ने बताउने अनिल ८ जनाको समूहमा दैनिक सरदर एक हजारको हाराहारीमा आम्दानी हुने बताउँछन । ‘सिजनमा प्रतिव्यक्ति कम्तिमा ३५ हजारदेखि ४० हजार रुपैयाँसम्म कमाएर छौँ’ अनिलले भने ‘अनि आफ्नै देश फर्किन्छौँ ।’

सबै भन्दाकम १७ वर्षको उमेरदेखि ३८ वर्षसम्मका युवाहरु समूहमा छन् । प्रवेशिकासम्म उत्तीर्ण गरेका अनिलले भने ‘डडेल्धुरामा मात्र नभई नेपालका अन्य पहाडी जिल्लामा पनि घुम्ती रुपमा गई सिरक तथा डसनाको काम गर्दै आइरहेका छौँ ।’ गएको वर्षको सिजनमा कामको शिलशिलामा प्युठानमा रहेको र यस वर्षको सिजनमा भने डडेल्धुरा आएको अनिलले बताएका छन् ।

आफूहरु यता आउन थालेको केही वर्ष मात्र हुन थालेको भए पनि आफ्नो गाउँबाट धेरै युवाहरु अघिदेखि नै आउने गरेको अनिलको भनाई छ ।

‘ग्रामीण क्षेत्रमा गई सिरक तथा डसना बनाउने क्रममा ग्राहक खोज्दै काम खोज्नुपर्ने थियो ।’ अनिलले भने ‘तर पछिल्ला दिनहरुमा हाम्रो काम देखेर ग्राहकहरु आफैले कामका लागि बोलाउने गरेका छन् । अहिले ग्रामीण क्षेत्रमा हाम्रो कामको माग पनि बढेको छ ।’

थोरै पैसा कमाउनका लागि साउदी र कतारलगायतका अन्य खाडी देशमा चर्को गर्मीमा मेहनतको पसिना बगाई रहेका नेपाली युवाहरुलाई विभिन्न किसिमका सीप आर्जन गरी आफ्नै देशमा केही गर्न अनिलको सुझाव छ ।

Share.

Leave A Reply