सारंगी रेटेर पेट पाल्दै, संस्कृति जोगाउँदै

0

२२ असोज, पोखरा । केही वर्ष अघिसम्म गाउँगाउँमा सारंगीको धुन गुञ्जन्थ्यो । चौतारीमा बसेर थकाई मार्दा सारंगीको धुनले थकाई बिर्साउँथ्यो । बसमा हिंड्दासमेत सारंगीको र्‍याईंर्‍याईंले मनै फुरुंग हुन्थ्यो । तर, पछिल्लो समय सारंगीको धुन कमै सुनिन्छ । त्यो पनि चौतारी, खुल्ला पार्क वा बसमा त टाढाको कुरा ।

तर, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ तल्लो गगनगौंडा कालिकानगरका ठाकुर गन्धर्व अपवाद हुन् । जो अहिलेपनि सारंगी रेट्दै बेगनास वरपरको चौतारी र खुल्लापार्कमा भेटिन्छन् ।

पोखरा महानगरको पर्यटकीय स्थल बेगनास तालदेखी सुन्दरी डाँडा, पिप्लेडाँडासम्म सारंगी रेट्दै मनको बह पोख्ने मात्र हैन आन्तरिक तथा वाहृय पर्यटकलाई मन्त्र मुग्ध पारिरहेका छन् ।

स्थानीय जुनकिरी गन्धर्वका ५ भाइ मध्येका माइलो छोरा उनले सानैमा सारंगी बजाउन सिके । भन्छन्,’बुबा र दाजुहरुले बजाएको देखेर र सुनेरै मैलेपनि सानैमा सारंगी बजाउन सिंके ।’

कालिकानगरमा २० घर परिवारमा जम्मा ४/५ जनाले मात्र यसरी बजाउँदै हिंड्नेगरेका छन् । उनको परिवारमा भने उनी मात्र हो यसरी सारंगी बजाएर पार्क र चौतारी डुल्दै हिंड्ने । उनको साईंलो भाईले सारंगी त बजाउँछन् तर यसरी चौतारी र पार्कमा हैन, पोखराको लेकसाईडस्थित वराही होटलमा ।

जेठो दाई खेती किसानीमा ब्यस्त छन् भने अन्य ३ भनाई होटलमा वेटर काम गरेर पेट पाल्छन् ।

सारंगी बोकेर पर्यटकलाई मनोरञ्जन दिनु उनको दैनिक दिनचर्या हो । उनी दिनहुँ मध्यान्ह १२ बजेतिरबाट आफ्नो सारंगी दैनिकी शुरु गर्छन् ।

ताल घुम्न गएका मान्छेका समूह जहाँ छ त्यहाँ पुगेर सारंगी रेट्न सुरु गरिहाल्छन् । कसैलाई मन पर्छ, कसैलाई मन पर्दैन, उनलाई त्यसको बालै भएन । उनको काम हो सारंगी रेट्ने, उनी सारंगी रेट्न सुरु गर्छन् ।

मन नपर्नेले भयो भो भनेर टार्छन्, सुन्नेले चासो दिएपछि मन्त्रमूग्ध हुनेगरी सुनाउँछन् । झ्याउरे लोकलयका गीतहरुदेखी भाका शुरु गर्ने उनले नेपाली चर्चित लोकगीत पनि सुनाउन भ्याउँछन् ।

कोमल हृदय भएका दानीहरुले धुन मन पराए भने मन फुकाउँदा उनी पनि फुरुङ्ग हुन्छन् । मन खुम्च्याए भने उनी पनि निराश हुन्छन् ।
उनको दिनभरीको कमाईबाटै उनको परिवारको दैनिकी चलेको छ । कहिले २/३ सय मात्रै पनि हुन्छ, कहिले ५/७ हजार पनि हुन्छ । उनी त्यसैमा सन्तुष्टी व्यक्त गर्छन् । उनले एउटै समूहबाट २० हजारसम्म पनि पाएका छन् ।

काठमाडौंबाट घुम्न आएका टोलीले उनको धुन मन पराएर दिएका थिए । त्यो दिन उनको सबैभन्दा आश्चर्यजनक खुशीको दिन थियो ।

सँधै त्यस्तो कहाँ हुन्छ र ? उनी भन्छन्,’कहिलेकाहिं त दिनभरी हिंड्यो गाडी भाडा मात्र लिएर र्फकनुपर्छ ।’ तर, उनी निराश हुँदैनन्, बरु भन्छन्,’जिन्दगी सँधै एक नासको कहाँ हुन्छ र ?

विदेशी भन्दा स्वदेशी पर्यटक उनलाई राम्रो लाग्छ । बिदेशीले गीत बुझ्दैनन्, त्यसैले उनीहरु सारंगीको धुन मन पराउँदैनन्, र त नजिक गएर बजाउन लाग्यो भने परपर भाग्छन् । तर, नेपालीहरु भने कम्तिमा सुन्छन्, सकेको दक्षिणा दिन्छन् ।

यद्वपी संगीत मन पराउने विदेशी पर्यटक आफैले कहिलेकाहिं बोलाएर सारंगीको धुनसँगै गीत गाउन लगाउँछन् र मन फुकाएर दक्षिणा पनि दिन्छन् । त्यसैले संगीत बुझ्ने त नेपाली नै हुन् भन्ने उनलाई लाग्छ ।

सारंगी रेटेरै उनले मासिक ३५ हजार भन्दा माथी कमाउँछन् । कहिले कम कमाई हुन्छ त कहिले धेरै । कम कमाई भएपनि हार खाँदैनन् उनी । श्रीमती र २ छोराका अभिभावक उनी आफूले सारंगी रेटेरै परिवार खुशी राखेको दाबी गर्छन् । भन्छन्,’परिवार सन्तुष्ट छन्, बालबच्चा र परिवारलाई खुशी राखेको छु ।’ उनलाई विरामी हुँदा भने चिन्ताले सताउँछ । विरामी हुँदा कमाई बन्द हुने भएकाले चिन्ताले सताउने गरेको बताउँदै उनले भने,’के गरौं, कसो गरौं हुन्छ ।’

उनका २ छोरा काठमाडौंको ग्यालेक्सी बोर्डिङ स्कुलमा पढ्छन् । सो स्कुलमा पढाउने उनको क्षमता हैन, गन्धर्व सारंगी प्रोजेक्ट भन्ने एक आईएनजीओको सहयोगमा पढाउने मौका पाएका हुन् ।

खर्चको केही अंश भने उनले पनि तिर्छन् । ठूलो छोरो कक्षा १२ मा अध्ययन गर्छन् भने कान्छो छोरो एसईईको परिक्षा दिने तयारीमा अर्थात कक्षा १० मा ।

सारंगी बजाउँदै हिंड्दा उनले कयौं हण्डर ठक्कर खाएका छन् । कहिले स्याबासी खाएका छन् त कहिले गाईने भनेर अपहेलित गरेको कहरलाग्दो तितो अनुभव । यद्वपी अहिले पहिलेभन्दा धेरै नै परिवर्तन आएको उनको बुझाई छ । पहिले धेरै नै त्यस्ता घट्ना हुन्थे तर अहिले सयमा एक प्रतिशत मात्र त्यस्ता मान्छे हुने उनको ठम्याई छ ।

गन्धर्वको संस्कृति जोगाउँदै पेट पाल्ने यी ठाकुर गन्धर्व आफूले अंगाल्दै आएको यो पेशा संकटमा परेकोप्रति चिन्तित छन् ।

आफ्नो जेनेरेसनसम्मले जेनेतेने धानेपनि अबको पुस्ताले चटक्कै माया मार्न लागेकोप्रति उनी गम्भीर छन् । र त उनले छिमेकी ४० जनालाई सारंगी बजाउन सिकाउने प्रयास गरिरहेका छन् । भन्छन्,’मैले गन्धर्व जातिका २५ जनालाई निःशुल्क र अन्य १५ जनालाई शुल्क लिएर प्रशिक्षण दिदै आएको छु ।’

दैनिक एक घण्टा प्रशिक्षण दिदै आएका उनले २ घण्टाको एक सय रुपैयाँ लिएर प्रशिक्षण दिनेगरेको बताए । तर, यत्तिले मात्र पुख्र्यौली पेशा संरक्षण हुनेमा उनी विश्वस्त छैनन् । संरक्षणका लागि त सरकारले नै केहि गरिदिए हुन्थ्यो भन्ने लाग्छ उनलाई ।

पेशाप्रतिको हिनताबोधले त हैन यो पेशा संकटमा पर्दै गएको भन्ने प्रश्नमा उनको सटिक जवाफ छ,’यो त हाम्रो पुख्र्यौली पेशा हो र पहिचान पनि, हिनताबोध गर्नु भनेको त आफ्नै पेटमा लात मार्नु हो ।’ उनले आफ्नो पेशा अंगाल्दा लाज, धक वा हिनताबोध नगर्न अनुज पुस्तालाई सुझाव दिए ।

सरकारले गन्धर्व एकेडेमी सञ्चालन गरेर यसको संरक्षण गर्नुपर्ने उनको बिचार छ । एकेडेमी सञ्चालनबारे सरकारले पटकपटक हुन्छ भनेपनि सिन्को पनि नभाँचेपछि यिनलाई सरकारप्रति विश्वास घट्दै गएको छ ।

सरकारले त चासो दिएन दिएन आफ्नै जातका शिक्षित बुद्धिजिवीलेसमेत सारंगी संरक्षणको लागि पहल नगरेकोमा उनको कन्परो तात्छ । र भन्छन्,’सरकारले पनि चासो दिनुपर्‍यो, हामी बुद्धिजिवी पनि लागेर यसलाई बचाउनु पर्छ ।’

Share.

Leave A Reply