सात दिनभित्र सहमतीय सरकार गठन गर्न राष्ट्रपतिद्वारा आह्वान

0

काठमाडौं, जेठ ११ – राष्ट्रपति विद्यादेवि भण्डारीले सात दिनभित्र सहमतीय आधारमा प्रधानमन्त्री चयन गर्न आह्वान गर्नुभएको छ । बिहीबार बेलुका राष्ट्रपति भण्डारीले संक्रमणकालीन व्यवस्था अन्तर्गत संविधानको धारा २९८ को उपधारा २ अनुसार सहमतीय सरकार गठनका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गर्नुभएको हो ।

संविधानमा सहमतीय सरकार गठनका लागि यति नै समय दिनुपर्छ भनेर स्पष्ट उल्लेख नभए पनि राष्ट्रपतिले विगतको परम्पराअनुसार सात दिनको समय दिनुभएको हो । नेपाली कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयन गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार पदबाट राजीनामा दिनुभएको थियो ।

राष्ट्रपतिले बुधबार नै राजीनामा स्वीकृत गर्दै अर्को सरकार गठन नभएसम्म काम चलाउन दाहाललाई आग्रह गर्नुभएको छ । सात दिनको समयभित्र सहमतीय आधारमा प्रधानमन्त्री चयन नभए राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा ३ अनुसार बहुमतीय सरकार गठनका लागि आह्वान गर्नु हुनेछ ।

Share.

Leave A Reply