साझाको विशेष सुविधासहितको बस भोलिदेखि काठमाडौंको सडकमा गुड्ने

0

काठमाडौं, फागुन २२ – ज्येष्ठ नागरिक, अपाङ्खता भएका र विरामीलाई लक्षित गर्दै साझा यातायातले ल्याएको नयाँ बस भोलिदेखि चल्ने भएको छ । यो बस भोलिदेखि ललितपुरको पाटन अस्पतालबाट गंगालाल अस्पताल बाँसबारीसम्म चल्ने साझा यातायातले जनाएको छ ।

भोलि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बस सेवाको सुरुवात गर्ने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो । सेमी लो फ्लोरको यो बस सानातिना खाल्डाखुल्डी भएको बाटोमा पनि गुडन नसक्ने भएकाले सजिलो रुटमा चलाउन लागिएको साझाले जनाएको छ । बसमा भित्र जाने र ओर्लने ढोकामा जम्मा एउटा मात्रै सिँढी भएको र ह्वीलचेयर पनि सजिलै चढाउन र ओराल्न सकिने पनि साझाले जनाएको छ ।

भोलिदेखि पाटन अस्पतालबाट छुटेर निदान हस्पिटल, त्रिपुरेश्वरको आँखा अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल, महाराजगञ्जचोक हुँदै बासबारीको गंगालाल अस्पतालसम्म चलाउने गरी यो बसको रुट परमिट लिइएको पनि उहाँले बताउनुभयो ।

विरामी र आफन्तलाई मध्यनजर  गरेर यो बसले राति ९ बजेदेखि साढे १० बजेसम्म पनि थप सेवा दिनेछ । साझाले गएको माघ २२ गते ३१ लाख रुपैयाँमा साझाको यो बस ट्रेलरमा बोकाएर आफ्नो कार्यालय पुल्चोक ल्याएको थियो ।

४१ सिट रहेको यो बसको मूल्य १ करोड रुपैयाँ पर्ने भए पनि बस निर्माता कम्पनी अशोक ले ल्याण्डले भने साझालाई ३१ लाख रुपैयाँमा दिएको थियो । अहिले काठमाडौं उपत्यका भित्र साझाका २५ वटा बस गुडिरहेका छन् भने काठमाडौं–बाग्लुङ रुटमा २ वटा बस चलिरहेका छन् ।

Share.

Leave A Reply