समाजले संक्रमित भनेर तिरस्कार गरेपछि आइसोलेसनबाट फर्किएर विशेश्वरले गरे आत्महत्या

0

रेडियो जनकपुर, १७ साउन । धनुषाको मिथिला बिहारी नगरपालिका २ पुरन्दहा बस्ने विशेश्वर यादवले आत्महत्याको बाटो रोज्न विवश बनेका छन् । आइसोलेसनमा बसेर घर फर्किएका यादवलाई समाजले संक्रमित भनेर तिरस्कार गरेको कारण आत्महत्याको बाटो रोज्न विवश भएको बताइएको छ ।

भारतको राजस्थान राज्यस्थित जोधपुरमा रोजगारी गर्दै आइरहेका विशेश्वर कोरोना संक्रमणबाट जोगिन घर पुरन्दहा फर्के । सीमामा आइसकेपछि नगरपालिकाले व्यवस्थापन गरेको गाडी चढेर परशुराम तलावस्थित विद्यालयमा सञ्चालित क्वारेन्टाइनमा पुगेका थिए ।

करिब १४ दिनपछि पीसीआर परीक्षण हुँदा विशेश्वरलाई कोरोना संक्रमणको पुष्टि भयो । र, उनलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा पठाइयो । करिब १० दिन आइसोलेसनमा बसेपछि विशेश्वर घर पठाइए । घर पठाउनुअघि आइसोलेसनमा उनको स्वाब परीक्षण गरिएन । र, होम आइसोलेसनमा बस्न भनियो ।

घर पुगेको ९ दिनपछि शुक्रबार साँझ क्वारेन्टाइनस्थलको छेउमै रहेको रुखमा उनी झुन्डिएको अवस्थामा फेला परे । आइसोलेसनबाट घर पठाइए पनि कोरोना लागेको भन्दै घर समाजबाट तिरस्कृत हुन पुगेपछि विशेश्वरले आत्महत्या गरेको बताइएको छ ।

आइसोलेसनबाट फर्किए पनि अन्तिमपटक स्वाब परीक्षण नभएको भन्दै घर बाहिरै राखेर परिवारका सदस्यहरूले पातमा खाना दिइरहेको एक स्थानीयले बताए । घर र समाजबाट तिरस्कृत भइरहँदा विशेश्वरले पीसीआर जाँच गराइदिन नगरपालिकाका मेयरलाई समेत आग्रह गरेका थिए। तर, पीसीआर जाँच नभएपछि उनले आत्महत्या गरेको स्थानीयको भनाइ छ ।

मिथिला बिहारी नगरपालिकाका मेयर अनिल यादवले कोरोना संक्रमण पुष्टि भइसकेपछि मानसिक दबाबमा आएका कारण विशेश्वरले आत्महत्या गरेको हुनसक्ने बताउनु भयो ।

‘आइसोलेसनबाट फर्किएपछि विशेश्वर घर बाहिरै बस्थ्यो, खाना पनि छुट्टै खाने गरेका थिए,’ मेयर यादवले भन्नुभयो ‘शुक्रबार पीसीआर जाँच गराइदिन मलाई भनेको थियो, मैले डाक्टरसँग कुरा पनि गरेको थिएँ। तर, साँझ उसले आत्महत्या गरेको खबर पाएँ।’

गाउँसमाजले हेला र तिरस्कार गरेको कुरामा सत्यता नरहेको बताउँदै उहाँले अगाडि भन्नुभयो, ‘भारतमा विशेश्वरसँगै बस्दै आएका एकजनाको कोरोनाकै कारण मृत्यु भएको थियो। सम्भवतः त्यही कारण विशेश्वर पनि मानसिक दबाबमा हुनुपर्दछ।’

प्रादेशिक अस्पतालस्थित कोभिड १९ का संयोजक डा. जामुन सिंह १० दिनसम्म कुनै लक्षण नदेखिएपछि विशेश्वरलाई होम आइसोलेसनमा बस्न सुझाव दिँदै घर पठाइएको बताउनु हुन्छ ।

‘आइसोलेसनमा बस्दा उसमा कुनै लक्षण देखिएको थिएन, सरकारले जारी गरेको गाइडलाइनअनुसार लक्षण नदेखिएको संक्रमितलाई पीसीआर जाँच गरिरहनुपर्दैन,’ डा.सिंहले भन्नुभयो, ‘कुनै लक्षण नदेखिएपछि विशेश्वरलाई घर पठाइएका थियौं ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताउनु भयो । ‘घटनास्थलबाट कुनै सुसाइड नोट फेला परेको छैन, मृतक आइसोलेसनबाट फर्केको बुझिएको छ,’ उहाँले भन्नुभयो, ‘वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ।’

Share.

Leave A Reply