सप्तरीको उत्तरीपूर्वी क्षेत्रमा जंगली जनावरबाट स्थानीय आतंकित

0

शुभनारायण यादव/उज्यालो ।

सप्तरी , माघ १९ –सप्तरीको उत्तरीपूर्वी क्षेत्रमा बढ्दो जंगली जनावरको आक्रमणले स्थानीय आतंकित बनेका छन् ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट आउने अर्ना, भालु, हात्तीले घरगोठ, बालीनालीमा क्षति पुर्‍याउनुका साथै घरपालुवा पशुचौपाया र मानिसलाई समेत आक्रमण गर्न थालेपछि सबैतिर आतंक फैलिएको छ ।

बुधबार बिहान साथीहरूसँग घाँस काट्न घोघनपुरस्थित जंगल गएका सप्तकोशी–५, का ४२ वर्षीय जीवनाथ आचार्यलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । उहाँका अन्य साथीहरूले भने भागेर ज्यान जोगाएको बताएका छन् । घाइते आचार्यलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल भर्ना गरिएको छ ।

यसअघि गतपुस २६ गते दिउँसो घर अगाडि रहेको बाँसघारीमा चरिरहेको बाख्रालाई घाँस दिन गएका सप्तकोसी–५, का ५० वर्षीय झपट सदा अर्नाको आक्रमणबाट गम्भीर घाइते भएको उहाँका छिमेकीहरूले जानकारी दिएका छन् ।

जंगली जनावरबाट बालीनाली जोगाउन रातभर जाग्राम बस्ने गरेका स्थानीयबासी अहिले दिउँसै आक्रमणको शिकार हुन थालेपछि थप चिन्तित भएका छन् । हात्तीलाई तितर–वितर पार्न थाल–भाँडा ठटाएर तथा आँखामा टर्च लाइट बालेर गस्ती गर्दै आएकोमा अर्ना र भालुले समेत दिउँसै आक्रमण गर्न थालेपछि गाउँलेहरू त्रसित बनेका सप्तकोसी नगरपालिका–५, का वडाध्यक्ष दीपकप्रसाद चौधरीले बताउनुभयो ।

बन्यजन्तुकाे अाक्रमणबाट ज्यान गुमाउँदै नागरिक

दुई महिनाको अवधिमा अर्ना र हात्तीको समूहले कञ्चनरूप र सप्तकोसी नगरपालिकाका दर्जनौं घर भत्काउनुका साथै बालीनाली क्षति पुर्‍याएर ३० लाख मूल्य बराबरको सम्पत्ती नष्ट गरेको सप्तकोसी नगरपालिकाका प्रमुख उत्तम शर्माले बताउनुभयो ।

हात्ती, अर्ना, भालु र बँदेलले घर, बालीनालीमा क्षति पुर्‍याउने मात्र नभई मानिस नै मारेका घटनासमेत प्रशस्तै छन् । मंसिर १३ गते हात्तीले कञ्चनरूप १० बदगामाकी फूलवादेवी यादवको ज्यान लियो । स्थानीय राजु शर्मा भन्छन्, ‘उनले बाँच्नका लागि गुहार माग्दासमेत हात्तीको अगाडि पर्ने हिम्मत कसैले गरेनन्, उनलाई सबैको अगाडि हात्तीले मार्‍यो ।’

जंगली हात्तीको आक्रमणमा परि कात्तिक १९ गते कञ्चनरूप नगरपालिका–१२, श्रवणपुरका बिर्खबहादुर बिकको ज्यान गयो । पाकेको धान सुरक्षार्थ राति खेतमा उहाँलाई हात्तीले ज्यान लिएको हो ।

आरक्षबाट आएका हात्तीको समूहले सुतिरहेका बेला घरमा आक्रमण गरेपछि भाग्न खोज्दा भारदह–९, स्थित बलुवाका ६० वर्षीय रघुनाथ खंगको ज्यान गएको इलाका प्रहरी कार्यालय भारदहले जानकारी दिएको छ । । वन्यजन्तु चौयायाबाट धानबालीको सुरक्षा गर्न छाप्रो बनाई बसेका बैरवा ८ का ५५ वर्षीय अल्लाउद्दिन खाँलाई पनि हात्तीले लखेटेर कुल्चेपछि गएको पुस ९ गते ज्यान गयो । उहाँसँगै रहेका अन्य दुई जनाले भागेर ज्यान जोगाएको मृतकका भतिजा सबिर खाँले बताउनुभयो ।

भैँसी चराउन आरक्ष गएकी कञ्चनरूप नगरपालिका–१०, बस्ने सत्यनारायण यादवकी छोरी १३ वर्षीया संगीताकुमारी यादवको पनि हात्तीले कुल्चिएर गएको वर्ष असार २८ गते ज्यान लियो ।

यसैगरी गएकाे चैत २२ गते दिउँसै हनुमाननगर बजार प्रवेश गरेको हात्तीले लखेटेर ७ जनालाई घाइते बनाएको थियो । त्यसमध्ये सञ्जय साफी र रोशनकुमार झाको उपचारका क्रममा ज्यान गएको थियो ।

Share.

Leave A Reply