संविधान मानेर राजपा चुनावमा आउँदा एमाले दुःखी हुन्छः विमलेन्द्र ईश्वर पोखरेललाई निधीको प्रश्न- दोस्रो संविधानसभा गल्ती थियो ?

0

९ असार, काठमाडौं । अन्तरवार्ताका लागि शुक्रबार बिहान मध्यबानेश्वरस्थित निवासमा पुग्दा पूर्वगृहमन्त्री विमलेन्द्र निधी चुनावी प्रचारका लागि बिराटनगर जाने तयारीमा थिए । निवासमा कांग्रेस कार्यकर्ताको भीड थियो ।

आम मानिसमा उठिरहेको प्रश्नलाई सापटी लिँदै हामीले निधीसँग २ नम्बर प्रदेशको चुनाव किन सारेको भनेर सोध्यौं । अब दोस्रो चरणको चुनावमा कांग्रेसको हालत कस्तो होला ? हामीले निधीलाई अर्को ‘हाइपोथेटिकल’ प्रश्न सोध्यौं ।

दोस्रो चरणको चुनावमा केपी ओलीले जिल्ला-जिल्लामा पुगेर आक्रामक प्रचार-प्रसार गरिरहेका बेला कांग्रेस नेता निधीले चाहिँ कांग्रेसको प्रचार शैली देखेर कम्युनिष्टहरु छक्क पर्ने गरेको बताए ।

पहिलो चरणको चुनावमा आईजीपी प्रकरण, महाअभियोग प्रकरण जस्ता मसलाहरु विपक्षीले पाएका थिए । दोस्रो चरणमा चाहिँ प्रदेश नम्बर २ को चुनाव सारेर विपक्षीलाई मसला दिइएको छ । र, यसरी चुनाव सार्ने काममा विमलेन्द्र निधीको हात छ भनिन्छ, । दुई नम्बर प्रदेशको चुनाव किन सारेको ?

अहिलेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन होइन । देशमा हामीले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता सहितको संविधान बनाएका छौं । यो संविधान बनाउँदा मधेसमा असन्तुष्टि देखियो । मधेसकेन्द्रित दलहरु अझै आन्दोलनमा छन् । चुनाव सारेर राजनीतिक समाधानको बाटो पनि खुल्ने र उनीहरु सहभागी हुँदै जाने हो भने चुनाव सार्नुलाई गलत भयो भन्न मिल्दैन ।

तपाईको उपचार गर्न जाँदा डाक्टरले अपरेशन गर्नुपर्छ भन्न सक्छ । अपरेशन गर्नेबेला ब्लड प्रेसर, सुगर जाँच गर्छ र, अपरेशन गर्न दिएको मिति सार्छ । अभिभावकले डाक्टर सा’बले अपरेशनको डेट नै सारिदिनुभो भनेर गुनासो गर्छन् । तर, क्लिलिकल टेष्टले के भन्छ भने जबसम्म सुगर र ब्लडप्रेसर स्टेबल हुँदैन, तबसम्म अपरेशन गर्नुहुँदैन । नत्र खतरा हुन्छ । त्यसैले अपरेशनको डेट सार्नु भनेको बिरामीको राम्रो उपचारका लागि हो, अझ बिरामी पार्न होइन ।

यो चुनाव एक चरणबाट दोस्रो र दोस्रोबाट तेस्रो चरणमा गएको छ, यो समाधान खोज्न हो । जुन पक्ष चुनावमा सहभागी भएको थिएन, त्यसलाई चुनावमा सहभागी गराउन हो । चुनावमा सहभागी हुनु खुसीको कुरा हो कि चुनाव सार्नु मात्र दुःखको कुरा हो ? यसरी हेर्नुपर्छ ।

यसको मतलब, चुनाव सारेर राम्रो गरियो भन्न खोज्नुभएको हो ?

हो । सबैतिर शान्तिपूर्ण रुपमा चुनावी गतिविधि सञ्चालन भइरहेका छन् । केही ठाउँमा राजपाले नै स्वतन्त्र उम्मेदवारी दिएको छ । यसमा एमालेलाई दुःख लागेको छ ।

यो लेख्नुस् कि राजपाले यो संविधान मानिदियो भने एमालेलाई सबैभन्दा दुःखी हुन्छ । राजपाले चुनावमा भाग लियो भने एमाले दुःखी हुन्छ । ओहो १ समाधान निस्कन खोज्यो है भनेर एमालेलाई चिन्ता लागेको छ ।

अहिले त राजपाबाट स्वतन्त्र उम्मेदवार मात्र उठेका छन् तर, असोज २ को चुनावमा राजपा आएन भने सरकार र तपाईले भनेको कुरा कसरी पुष्टि होला र ?

हेर्दै जानुस् । अहिले दुई नम्बरको कुरा छाडिदिनुस् । जसको चुनाव हुँदैछ, त्यसको कुरा गर्नुस् ।

तर, स्थानीय तहको संख्या वृद्धि, संविधान संशोधन लगायतका मुद्दा त ज्यूका त्यूँ छन् नि होइन र ?

पख्नुुस्, म बताउँछु । नेपालमा संविधान बनाउन पहिलो संविधानसभाले सक्यो ? सकेन । दोस्रो संविधानसभाले बनायो । त्योबेला पनि यस्तै भन्थे, संविधान बन्दैन । संविधान बनाउन त दुईवटा संविधानसभाको चुनाव गर्नुपर्‍यो भने राजपालाई संविधान स्वीकार गराउन र चुनावमा सहभागी गराउन दुई चरण, तीन चरणमा चुनाव गर्नु बुद्धिमतापूर्ण हो । यसलाई जसले स्वीकार गर्दैन, त्यो मूर्खतापूर्ण कुरा हो ।

तर, असोज २ को चुनावमा राजपा आउँछ भन्ने के ग्यारेन्टी ?

उसका केही कुरा छन् । हामीले संविधान संशोधनको आश्वासन दिएका छौं । सरकारले गर्नुपर्ने कामहरु गर्छौं भनेका छौं । हामीले उसलाई दिएको आश्वासन पूरा गरिदिनुपर्छ । त्यो भयो भने आउँछ ।

राजपाका माग पूरा गर्न त संविधान संशोधन गर्नुपर्छ, यो विषय संसदको अंकगणितमा भर पर्ला नि हैन ?

मैले भनिहालेँ नि । पहिलो संविधानसभाको गणितले संविधान दिएन । दोस्रोको गणितले दियो । तुलना एउटाको मात्र नगर्नुस् । त्यसो भए त दोस्रो संविधानसभाको चुनाव गराउनु गल्ती थियो ? सोध्नुस् । ईश्वर पोखरेललाई नै सोध्नुस् है !

तेस्रो चरणको चुनावमा संविधान संशोधनको मुद्दाले हलो अड्काउँदैन ?

एमालेले दियो भने सजिलो हुन्छ । भएन भने हामी अर्को बाटो पनि खोज्छौं ।

तर, माघ ७ को समयसीमा अघि नै प्रदेश र संसदको चुनाव गर्नु पर्नेछ । कतै यो समयसीमा प्रभावित हुने पो हो कि ? यो डर पनि त छ नि ?

डर एमालेलाई छ । ढुक्क हुन्स्, असोजमा चुनाव हुन्छ । तर, राजपाको संविधान संशोधनको माग पूरा हुन्छ नै भन्न सक्दैनौं । हामी सँधै तयार छौं । यदि हुन सकेन भने राजपासँग कुरा गरेर पूरा गर्न सक्ने मागहरु पूरा गर्छौं र एमालेका कारण जुन माग पूरा हुँदैन, त्यसलाई लिएर एमालेविरुद्ध चुनावमा जान्छौं ।

दोस्रो चरणको मतदान गर्ने दिन नजिकिनै लाग्यो, कांग्रेसले कति सीट जित्ला ?

हामी सबैलाई थाहा छ कि दोस्रो चरणको चुनाव १, ५ र ७ नम्बर प्रदेशमा भइरहेको छ । अहिलेसम्मको अवस्था हेर्दा कांग्रेस अगाडि जान्छ ।

तर, पहिलो चरणको चुनावले त त्यस्तो देखाएन नि ? के आधारमा कांग्रेस अगाडि जान्छ भन्ने ?

ठीक छ, पहिलो चरणको चुनावमा एमालेले ५/७ सिट बढी ल्यायो । तर, नक्कली राष्ट्रवादका नाममा जति चुनावलाई प्रभावित गर्न खोज्यो र पहाडमा त पूरै कब्जा हुन्छ भनेको थियो, त्यो त भएन । यसकारण पहिलो चरणलाई नै हेर्ने हो भने पनि एमालेको प्रभाव उसले दाबी गरेजस्तो वा उसले आशंका गरेको जस्तो देखिएन ।

तर, यी दुई चुनावका बीचमा सरकार परिर्वतन बाहेक त खास केही फरक छैन । के आधारमा कांग्रेसले धेरै सिट जित्छ भन्दै हुनुहुन्छ ?

संविधान संशोधन, राज्यको पुनर्संरचना लगायतका जुन राजनीतिक एजेण्डाहरु छन्, यसमा कांग्रेसले अगुवाइ गरेको र कांग्रेसकै अग्रसरतामा दलहरुको जुन समीकरण बनेको छ, त्यो ठीक छ । एमालेले लिएको नीति परिर्वतन र संविधान कार्यान्वयनको पक्षमा छैन । यो त बाधा अड्चन सिर्जना गर्ने मात्र हो भनेर जनताले विस्तारै बुझ्दै गएका छन् ।

यसकारण पहिलो चरण र दोस्रो चरणको चुनावको बीचमा मतदाता र राजनीतिक तहमा बुझाइमा फरक भएको छ । अब भ्रम धेरै हदसम्म निवारण भएको छ । यसबाट हामी के निष्कर्षमा पुगेका छौं भने दोस्रो चरणमा एमालेले दाबी गरेको जस्तो रिजल्ट उसले पाउँदैन ।

कांग्रेस नै समाधान दिने पार्टी हो । लचकदार पार्टी पनि हो । लोकतन्त्रमा के हुन्छ भने आफ्नै कुरालाई ढिपी गरेर मात्र हुँदैन, कोरा शब्दावलीहरुलाई समातेर हुँदैन । सबै स्केटहोण्डरको बीचमा एउटै मिटिङ प्वाइन्टमा पुग्नुपर्छ । यो दृष्टिकोण र लचकता कांग्रेसमा छ । कांग्रेस एउटा भरपर्दो पार्टी यस मानेमा हो कि यो द्वन्द्व चर्काउने होइन कि समाधान गर्ने बानी भएको पार्टी हो । यो मतदातामा परेको छ । र, यही कारणले अब कांग्रेस अगाडि आउँछ ।

तर, एमाले नेताहरु चुनौवी मैदानमा निकै सक्रिय देखिएका छन् । केपी ओली आफैं वडास्तरसम्म पुगेका छन् । कांग्रेस चाहिँ जनताले बुझे भन्दै चुप लागेर बसेको हो ? यस्तै पाराले कसरी कांग्रेस पहिलो होला ?

कांग्रेसबारे कम्युनिष्टहरुलाई सोध्नुभयो भने अचम्म लाग्छ भन्छन् । कांग्रेसलाई बुझ्नै सकिएन, नेताहरु पनि घुम्दैनन्, कार्यकर्ता पनि परिचालन भएको छैन तर, भोट त आइरहेको हुन्छ । हामी चाहिँ कमल कापी लिएर, नाम लेखेर, यो काम गर्‍यौं, त्यो काम गर्‍यौं भनेर लेखिरहेका हुन्छौं । तर, हात लाग्यो शुन्य भन्छन् कम्युनिष्टहरु । त्यसैले कांग्रेस एउटा दल मात्र नभएर राष्ट्रिय राजनीतिको एउटा संस्कार पनि हो । सामाजिक-राजनीतिक संस्कार पनि हो ।

उदाहरणका लागि भन्नुपर्छ, मार्क्स, लेनिनदेखि माओत्सेतुङसम्म हेर्ने हो भने कम्युनिष्टहरुको प्रचार सामाग्री धेरै पाइन्छ । राम्रा राम्रा पेपरमा बाक्लो किताब पाइन्छ । तपाईको थ्यौरीलाई मान्ने हो भने कम्युनिष्टहरु प्रचारमा धेरै जान्छन्, त्यसकारण उनीहरुकै बर्चश्व हुनेपर्ने हो, तर देखिएन त । बरु संसारबाट परम्परावादी कम्युनिष्ट प्रणाली हट्दै गएको छ । भारतदेखि युरोपसम्म हेर्नुस्, जुन देशमा कम्युनिष्ट पार्टीले चुनावी, संसदीय र लोकतान्त्रिक पण्णाली आफूलाई रुपान्तरण गरेको छ, त्यो देशमा कम्युनिष्ट पार्टी अझै पनि जीवित छ । चीनमै हेर्नुस्, उसले आफूलाई माओत्सेतुङको शैलीबाट होइन, तेङ स्याओपिङको शैलीबाट आफूलाई रुपान्तरण गर्दै गएको छ । शांघाई उदाहरण हो । न्यूर्योक भन्दा राम्रो देखिन्छ । यसकारण होइन कि कम्युनिष्ट शैलीबाट बनेको छ, यसकारण कि पुँजीवादी प्रणालीबाट रुपान्तरण गरेको छ ।

त्यसैले कांग्रेसका नेता प्रचारमा गएनन् भनेर भ्रममा नपार्नु होला । यो समाजको एउटा संस्कार नै भएकाले कांग्रेसको निर्वाचनको शैली र विधि त्यही अनुसार हुन्छ । त्यसैअनुसार परिणाम आउँछ । समाजले हमेसा झगडा खोज्दैन । नेपालमा संविधान नै हमेसा विवादमा रहिरहने ? किन संविधान सर्वस्वीकार्य हुँदैन ?

संविधाने हामीले जारी गर्‍यौं , तर, मधेसमा असन्तुष्टि देखियो । सुक्ष्म रुपमा हेर्ने हो भने यो संविधान चाहिँदैन भनेको होइन, आफ्नो ठाउँ खोजिरहेका छन् । यो संविधानलाई दीर्घायु गर्ने पक्षमा मधेसी जनता र दलहरु आउन खोजेका छन् तर, एमालेले संशोधन अहिले चाहिएको छैन, हुँदैन भनेर बाधा गरिरहेको छ ।

एमालेले संशोधन नचाहनुको अर्थ के हो भने अहिलेको राजपा र पहिलाका ६/७ वटा पार्टी हामीले जारी गरेकै संविधानलाई स्वीकार गर्न चाहन्छ । खाली सीमांकन, भाषा र नागरिकताका सम्वन्धमा संशोधन गरिदेउ भनेको छ । एमाले भन्छ, होइन जरुरत नै छैन संशोधन । यसको अर्थ के हो भने एमालेलेे संविधान हमेशा विवादित भइरहोस् भन्ने चाहेको छ । संविधान स्वीकार गर्न चाहने जमातलाई पनि स्वीकार नगर भनेर बाटो बनाइदिने काममा लागेको छ । त्यसैले एमाले समाधानउन्मूख पार्टी होइन, एमाले द्वन्द्व विस्तार गर्ने पार्टी हो । यो कुरा अब जनताले बुझेका छन्, र मतदाताले बुझेका छन् । त्यसैले पनि यसपालिको चुनावमा मतदाता कांग्रेसको पक्षमा हुन्छन् । र, अहिले एमाले मात्रै होइन, हाम्रा पनि साथीहरु फिल्डमा जानुभएको छ ।

कांग्रेस प्रचार कम्युनिष्टको जस्तो हुँदैन भनेर तपाईले रोचक कुरा गर्नुभयो । झापामा केपी ओली आफैं प्रचार गरेर हिँडेका छन्, उसो भए त्यहाँ पनि कांग्रेस नै पहिलो हुन्छ त अब ?

कतिपय कांग्रेसकै शुभेच्छुकले आक्रोशमा हाम्रो गठवन्धनलाई भोट दिएनन् । तर, रिजल्ट देखेपछि ओ हो ! हामीले गल्ती गरेछौं । अब फेरि चुनाव भयो भने त्यस्तो गल्ती गर्नुहुँदैन भनेर रियलाइज गरेका छन्

झापामा पनि कांग्रेस अगाडि आउँछ । सुनसरी र मोरङमा पनि कांग्रेस अगाडि आउँछ ।

प्रचार नगरे पनि जितिन्छ भन्दै बस्दाखेरि भारतको कांग्रेस आई जस्तै होइएला नि ? तपाईहरुलाई डर लाग्दैन ?

डर किन ? हामीलाई कुनै डर छैन । हामी त आफ्नो एजेण्डा खुला रुपमा जनतालाई भनिरहेका छौं । अनि डर केका लागि ? डर त एमालेलाई होला, केपी ओलीलाई होला । जो यो लोकतन्त्रको विरुद्धमा, संविधानको विरुद्ध छन् । केपी ओली यो संविधान सबैले स्वीकार नगरोस् भन्ने पक्षमा छन् । ओलीले जसरी नेतृत्व गरिरहनुभएको छ, आफ्नो पार्टीलाई गणतन्त्र, संघीयता, समावेशीता, मधेस र पहाडको एकताविरुद्ध झोस्नुभएको छ । यो जनताले बुझ्छन् ।

तपाईले यसो भनिरहँदा पहिलो चरणको परिणाम हेर्ने हो भने एमालेले भनेको जस्तो कांग्रेस ‘हाफ’ भएन । तर, शहरी समर्थक तथा शुभेच्छुकहरुले त कांग्रेसप्रति मत दिएनन् नि ? यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

हो, पहिलो चरणको चुनावमा कांग्रेस पार्टी र कांग्रेसका उम्मेदवारविरुद्ध शहरी मनोविज्ञानले नकारात्मक मत दिए । तर, पछि रियलाइज गरेका छन् । उदाहरणका लागि भरतपुरलाई हेर्नुस् । त्यहाँ कतिपय कांग्रेसकै शुभेच्छुकले आक्रोशमा हाम्रो गठवन्धनलाई भोट दिएनन् । तर, रिजल्ट देखेपछि ओ हो ! हामीले गल्ती गरेछौं । अब फेरि चुनाव भयो भने त्यस्तो गल्ती गर्नुहुँदैन भनेर रियलाइज गरेका छन् ।

काठमाडौंमा हाम्रो उम्मेदवार यस्तो पर्‍यो, उस्तो पर्‍यो भनेर असन्तुष्टि भए, राजु जी कांग्रेसको राम्रो नेता हो । तर, शहरिया बुद्धिजीवीका कारण हामीले मत प्राप्त गर्न सकेनौं । तर, कांग्रेस हारेपछि उनीहरुले खुसी मनाएनन्, ओ हो ! यो त राम्रो भएन भने । राम्रो भएन भने कसका कारण भएन ? शहरिया बुद्धिजीवी, सामाजिक व्यक्तिहरुले भोट नदिएका कारण कांग्रेस हार्‍यो ।

पहिलो चरणको चुनावको परिणामलाई हेरेर आफ्नो मतको सदुपयोग गर्नुपर्छ है भन्ने परेको छ । गल्ती भयो भनेर आलोचना गर्नुपर्छ तर, भोट कांग्रेसलाई हाल्नुपर्छ भन्ने परेको छ । पार्टीले पनि आफ्नो प्रचार शैली र नीति परिर्वतन गरेको छ ।

Share.

Comments are closed.