संघीयताका सम्वाहकले प्रदेश सभामा किन सम्झिए पृथ्वीनारायण ?

0

२५ माघ, काठमाडौं । सिंहदरवारको मुख्यद्वार अगाडि पृथ्वीनारायण शाहको शालिक औंला ठड्याएर उभिएको छ । तीनै तहका निर्वाचनसँगै अब गाउँगाउँमा सिंहरबारमा गयो भनिएको छ । सिंहदरवारको अभ्यास गर्न थालेका सातै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक सम्पन्न भए । तीमध्ये तीनवटा प्रदेशसभाको प्रत्यक्ष रिपोर्टिङ गर्ने क्रममा इतिहास, वर्तमान र भविष्यका धेरै चर्चा सुनिए ।

प्रदेशसभाका पहिलो बैठकमा सबैभन्दा बढी सुनिएको नाम हो-पृथ्वीनारायण शाह । आलोचना वा प्रशंसा दुवै कोणबाट आधुनिक शाहवंशीय राजतन्त्रका संस्थापक पृथ्वीनारायण शाहको नाम अधिकांश प्रदेशसभाको पहिलो बैठकमा उच्चारण हुनु संयोगमात्र नहुन सक्छ ।

ज-जसले गरे पृथ्वीनारायणको स्मरण

राजावादी दल राप्रपाका सांसदले मात्र होइन, गणतन्त्रवादी एमाले माओवादेखि, लिम्बुवानसम्मका सांसदले पहिलो बैठकमा पृथ्वीनारायणलाई सम्झिए । मूलतः देशका सबै प्रदेशमा संघीयताको अभ्यास शुरु भइरहँदा राजतन्त्रवादी र गणतन्त्रवादी सबैले पृथ्वीनारायणको स्मरण गरे । अब संघीयताको सफलता वा असफलतासम्म पृथ्वीनारायण शाह स्मरण भइरहनेछन् ।

नेपालको इतिहासमा सबैभन्दा बढी नाम लिइएका र चर्चामा रहिरहेका पात्रमध्ये गौतम बुद्धपछि सम्भवतः पृथ्वीनारायण शाह नै हुन् । नेपाल सरकारले १० वर्षपछि पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाएको एक महिना नपुग्दै माघ तेस्रो साता प्रायःप्रदेशसभाको पहिलो बैठकमा उनको नाम गुञ्जियो ।

सात प्रदेशमध्ये पहिलो सबैभन्दा पहिलो बैठक बसेको प्रदेश ३ को प्रदेशसभा भवन हेटौंडाभित्र पृथ्वीनारायणलाई सम्भिइयो । उनलाई सम्झिने सांसद थिए दुवै राप्रपाका रीना गुरुङ र रीता माझी । पृथ्वीनारायण शाहले एकीकरण गरेको देशलाई संघीयताको अभ्यासले पुनः बिभाजनतर्फ नलैजाओस् भन्ने उनीहरुको आशय थियो । हुन त एमालेका अष्टलक्ष्मी शाक्यदेखि कांग्रेसका इन्द्र बानियाँसम्मको आशय पनि यस्तै थियो ।

हामी प्रदेश ३ को पहिलो बैठकपछि प्रदेश २ को राजधानी जनकपुर पुग्दा त्यहाँ पनि पृथ्वीनारायणको चर्चा थियो । तर, यहाँ फरक ढंगको चर्चा भइरहेको थियो-पृथ्वीनारायणले नेपालको कथित एकीकरण गरेसँगै मधेसमाथि काठमाडौंबाट उपनिवेश लादियो ।

प्रदेशसभाको पहिलो बैठकमा राजपाका जितेन्द्र सोनलदेखि फोरमका लालबाबु राउतसम्मले मधेसले अब आफ्नै सत्ताको अभ्यास गर्ने मौका पाएको भन्दै पृथ्वीनारायण शाहका पालाबाट शुरु भएको विभेद समाप्त गर्ने बेला आएको बताए ।

प्रदेश २ को बैठकपछि हामी प्रदेश १ को राजधानी बिराटनगरतर्फ लाग्यौं । बिराटनगरमा प्रदेशसभाको पहिलो बैठकमा पनि पृथ्वीनारायण शाहको प्रसंग निस्कियो । राप्रपाकी इन्दिरा राईले ‘बडामहाराजधिराज पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपाल देशको अखण्डता कमजोर बन्नुहुँदैन’ भनिन् ।

प्रदेश १ कै बैठकमा संघीय लिम्बुवान मञ्चकी विष्णुमाया तुम्बाहाम्फेले पृथ्वीनारायण शाहलाई फरक ढंगले सम्झना गरिन् । उनको भनाइ थियो-२५० वर्षअघि नेपालमा संघीयता थियो । लिम्बुवान र खम्बुवान राज्य थिए । तर, पृथ्वीनारायण शाहले कथित एकीकरणका नाममा संघीयता खोसे ।

त्यही दिन बसेको ४ नम्बर प्रदेशको बैठकमा पनि पृथ्वीनारायण शाहको नाम धेरै सांसदले लिए । एमालेका बरिष्ठ नेताहरु पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ दुवैले पृथ्वीनारायण शाहको योगदानको उच्च मूल्यांकन गरे । गोरखा राज्य विस्तारका क्रममा लम्जुङका घले राजालाई पराजित गरेपछि पृथ्वीनारायण शाहले गुरुङहरुलाई राज्य विस्तारमा पूर्वसम्म लिएर गएका थिए ।

संघीयता नभएकै कारण अर्थात् पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरे पनि भावनात्मक एकीकरण नगरेकै कारण हामी पछि परेका हौं त ?

पृथ्वीनारायण शाहले २४० वर्षअघि नेपालको भौगोलिक एकीकरण गरे पनि भावनात्मक एकीकरण भएन भन्ने चर्चा बेला बेलामा चल्ने गर्छ । यस्तो चर्चा चलाउनेहरु कोही भावनात्मक रुपमा बोलिरहेका छन् भने कोही नियतवश बोलिरहेका छन् । भावनात्मक रुपमा बोल्नेहरुको आवाज सम्भतः फरक फरक दृष्टिकोणबाट प्रदेशसभाहरुका पहिलो बैठकमा प्रकट भएको छ ।

नियतवश पृथ्वीनारायण शाहको अवमूल्यन गर्ने र इतिहासको भत्र्सना गर्नेहरुलाई भने संघीयतामा अभ्यासको शुरुमै पृथ्वीनारायण शाहको प्रसंग आउनु टाउको दुःखाई बन्न सक्छ । तर नेपालको विकास,सम्बृद्धि र सन्तुलित परराष्ट्र नीति अनि आत्मनिर्भर अर्थतन्त्रका लागि पृथ्वीनारायणले गरेको प्रयोग र उनले दिब्योपदेशका नाममा दिएको सूत्र संघीय नेपालको सफलताको लागि पनि प्रयोग हुनसक्छ । पूर्वाग्रह नराखी काम गर्ने हो भने ।

इतिहासको भत्र्सना गरेर भविष्य बन्दैन

पृथ्वीनारायणको प्रसंग प्रादेशिक संसदहरुमा आएको कुरालाई सामान्यीकरण गर्न सकिन्छ । तर इतिहासलाई दुत्कारेर भविष्य निर्माण गर्न सकिन्न भन्ने चेत सम्भवतः प्रदेशको नेतृत्व गर्न लागेका दलका नेतालाई पनि आउन लागेको अभास हो यो ।

सत्रौं शताब्दीका पृथ्वीनारायण शाहसँग एक्काइशौं शताव्दीको चेतना खोज्नु कुनै अर्थमा औचित्यपूर्ण हुन सक्दैन । प्रदेशसभाहरुको पहिलो बैठकमा पृथ्वीनारायणको प्रसंग ल्याउनेहरुले सायद यो तथ्यबोध गरेका होलान् ।

नेपाल अब एकात्मक ढाँचाबाट औपचारिक रुपमा संघीय ढाँचामा गएको ऐतिहासिक क्षणमा पृथ्वीनारायणको स्मरण फरक फरक कोणबाट भएकै हो । बिभिन्न समूहमा छरिएका रजौटाहरुमाथि बिजय प्राप्त गरेर उनले नेपालको भौगोलिक सिमाना कायम गरेको तथ्य सबैले स्वीकार गरेकै छन् ।

फटाहा,नकच्चरा र निर्देशित अभियन्ताको कुनै औषधि हुँदैन । यिनीहरुको मनोरोग भनेको देशभक्तिप्रति चरम घृणा फैलाएर समाजलाई संक्रमित गर्नु हो

अब संघीयताको अभ्यास गरेर सम्बृद्ध प्रदेश निर्माण गर्ने बेला हो यो । सत्रौं शताब्दीका पृथ्वीनारायणलाई गाली वा ताली दिएर मात्रै एक्काइसौं शताब्दीको संघीयता फलिफाप हुँदैन ।

त्यसका लागि काम गरेर देखाउने चुनौति र अवसर दुवै संघीयतावादीहरुलाई । इतिहासका पात्रलाई सम्भिmन सकिन्छ तर तीनलाई सरापेर देश र प्रदेश बन्दैन । इतिहासबाट सिक्नमात्र सकिन्छ ।

समृद्धिको सपना र इतिहासको विरासत

प्रदेशसभाका पहिलो बैठकमा बोल्ने सातै प्रदेशका सांसदहरुले आ आफ्नो प्रदेशलाई विकास र सम्बृद्धिमार्फत नमूना प्रदेश बनाउनुपर्ने संकल्प गरेका छन् । आ आफ्नो प्रदेशमा रहेका प्राकृति स्रोत साधन,सम्पदा र सम्भावनाहरुको चर्चा गर्दै उनीहरुले प्रदेशलाई नमूना बनाउन सकिने आकांक्षा राख्नु सकारात्मक पक्ष हो । हिमाल, नदिनाला,बन जंगल र प्राकृतिक स्रोतहरु देखाएर उनीहरुले प्रदेशलाई धनी बनाउन सकिने सपना सुनाएका छन् ।

बुझ्नुपर्ने कुरा के हो भने,यी हिमाल,ताल तलाउ,नदीनाला,वन जंगल,जडिबुटी र अपार प्राकृतिक स्रोत नेपालमा हजारौं वर्षदेखि यत्तिकै थिए । सायद मानव सभ्यताभन्दा पहिलेनै यी प्राकृतिक सभ्यताहरु थिए । तर पनि नेपालको विकास किन भएन ? यी सम्पदाहरुबाट लाभ लिन किन सकिएन ? संघीयता नभएकै कारण अर्थात पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरे पनि भावनात्मक एकीकरण नगरेकै कारण हामी पछि परेका हौं त ?

अवसर पाएको बेला केही नगर्ने तर दुई सय वर्षअघिका शासकले लडाइँको बेला फलानाको नाक कान काटे भनेर वर्षमा एक दिन ढुंगामा थुक्नेहरुबाट संघीयता कार्यान्वयन हुँदैन

अब प्रत्येक प्रदेशसभा र प्रदेश सरकारभित्र यी प्रश्नको उत्तर खोजिनुपर्छ । आज हामीले गाली गर्ने गरेका पृथ्वीनारायण शाहहरुका पालामा नेपालका प्राकृतिक स्रोत साधन र सम्पदाहरुको प्रयोगबाट देश आर्थिक रुपमा आत्मनिर्भर थियो । अहिले जुन स्रोत साधनको दोहन गरेर प्रदेशलाई सम्बृद्ध बनाउने सपना प्रदेशसभाका पहिलो बैठकमा नेताहरुले सुनाए,यो काम त राजा महाराजाहरुको पालामै भइसकेकेा थियो ।

मुख्यमन्त्रीहरुलाई कोर्ष करेक्सनको मौका

कहाँबाट हामी परनिर्भर बन्ने क्रम शुरु भयो,प्रदेशका मुख्यमन्त्री बन्दै गरेकाहरुले त्यहिँबाट कोर्ष करेक्सन थाल्नुपर्छ । हिजो सिंगो काठमाडौंलाई चामल खुवाउने मधेश आज मरुभूमीमा परिणत हुँदैछ । पृथ्वीनारायणलाई गाली गरेर मधेश फेरि गुल्जार हुँदैन । गल्ति जहाँबाट शुरु भएको हो,त्यहिँबाट सच्याउन थाल्नुपर्छ र मधेशले फेरि सिंगो देश पाल्ने क्षमता विकास गर्नुपर्छ ।

भँडूवा र नकच्चराबाट बचौं र बचाऔं

हाम्रो सबैभन्दा ठूलो दुःख यो हो कि-हामी यलम्बर,मानदेव,अंशुवर्मा,जयस्थिति मल्ल,पृथ्वीनारायण शाह र जंगवहावदुर जस्ता त्यो जमानाका शासकसँग यो जमानाको चेत खोज्छौं । र इतिहासलाई दुत्कार्दै वर्तमानको कुण्ठा पोख्छौं । आफूले अवसर पाएको बेला केही नगर्ने तर दुई सय वर्षअघिका शासकले लडाइको बेला फलानाको नाक कान काटे भनेर वर्षमा एक दिन ढुंगामा थुक्नेहरुबाट संघीयता कार्यन्वयन हुँदैन ।

त्यसैले मैले यस्तो कुण्ठा पोख्नेहरुलाई भन्ने गरेको छु-फटाहा,नकच्चारा र निर्देशित अभियन्ताको कुनै दबाई हुदैन । यिनीहरुको मनोरोग भनेको देशभक्तिप्रति चरम घृणा फैलाएर समाजलाई संक्रमित गर्नु हो । यिनीहरुका लागि स्थायित्व र सम्बृद्धि एन्टिबायोटिक हो, किनकी त्यसले उनीहरुको रोगको निदान गर्छ त्यसपछि यीनको द्धन्द्ध व्यवसाय रुग्ण उद्योगमा परिणत हुन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रुपमा मात्र एकीकरण गरेको भनिएको नेपाललाई भावनात्मक एकीकरण गर्ने मौका सात प्रदेशका मुख्यमन्त्रीले पाउँदैछन्

पृथ्वीनारायणले एकीकरण गरिदिएको र जंगवहादुरले लखनउ लुट मच्चाएर फिर्ता ल्याएको भूमीमा बसेर,महेन्द्र र वीरेन्द्रले निर्माण गरेका फराकिला राजमार्गमा दौडिदै इतिहासको भत्र्सना गर्न जति सजिलो छ, तिनले जति देश र प्रदेशलाई योगदान दिन उत्तिकै गाह्रो पनि छ ।

सम्भवतः संघीयताको अभ्याससँगै नेता र अभियन्ताहरुको चेत खुल्नेछ र ईतिहासका उपलव्धीप्रति गौरव गर्ने दिन फेरि नेपाल र नेपालीले पाउनेछन् । पृथ्वीनारायण शाहले भौगोलिक रुपमा मात्र एकीकरण गरेको भनिएको नेपाललाई भावनात्मक एकीकरण गर्ने मौका सात प्रदेशका मुख्यमन्त्रीले पाउँदैछन् ।

तर के उनीहरुले पुर्वाग्रही नभई एकपटक दिब्योपदेश पढ्लान् ? त्यसले कहिँ कतै कुनै जात,समुदाय वा भूगोललाई बिभेद गर भनेको छैन । रहेछ भने त्यो बाहेक अरु राम्रा कुरा लागु गरे पनि प्रदेश बन्छ,प्रदेश बने देश स्वतः बन्छ ।

त्यो दिन फेरि आउन सक्छ,हरेक प्रदेशका सिंहदरवार अगाडि पृथ्वीनारायण शाहको शालिक चोर औंला ठड्याएर उभिनेछ ।

अहिलेलाई जय संघीयता, जय नेपाल, जय मधेस ।

Share.

Leave A Reply