श्रीमान् कान्छी च्यापेर हिँडेपछि विदेशिन बाध्य सीता समाजको सोच फेर्न सफल

0

जुनादेवी खत्री/कास्की ।

माघ २० – श्रीमानले साथ छोडे, परिवारले पनि हेरेन, गर्दै गरेको व्यापार पनि खस्किएपछि सीता घिमिरलाई छोरासहित पोखरामा बस्न मात्रै होइन दुई छाक टार्न पनि धौ धौ हुन थाल्यो । जसरी भए पनि पैसा कमाउनै पर्ने भएपछि उहाँले विदेश जाने निर्णय गर्नुभयो ।

२०६१ सालमा हाँसिखुशी परिवारसहित पोखरा आउँदा सीताको दिमागमा विदेश जाने कल्पना पनि थिएन । ‘तर सोचे जस्तो कहाँ हुने रैछ र’ सीताको यो वाक्यले विदेश जाने उहाँको निर्णय बाध्यता थियो भन्ने बुझ्न गाह्रो थिएन् ।

धादिङको निलकण्ठ नगरपालिका १४ कि सीता घिमिरेले नुवाकोट सामरी ६ का गोविन्द सापकोटासँग बिहे गर्नुभयो । जागिर थिएन । त्यसैले जागिर खोज्दै सीताका दम्पती पोखरा आए । जागिर खान आएको यो जोडीलाई तरकारी खेतीले तान्यो । भाडामा जग्गा लिएर उहाँहरुले तरकारी खेती गर्न थाल्नुभयो ।

एक वर्षमा छोरा पनि जन्मिए । छोराको आगमन भएपछि थपिएको खुशीमा कमाईले पनि खुशी थपिरहेको थियो । तरकारीको कमाई राम्रो थियो । माइती र आफन्तबाट पनि राम्रै सहयोग र साथ पाइरहनु भएको थियो । जिन्दगीको रथ राम्रोसँग चलेको थियो ।

परिवार चलाएर जम्मा गरेका पैसा घरतिर पनि पठाउनुहुन्थ्यो । ‘स्वर्ग कस्तो हुन्छ थाहा छैन तर हाम्रो तीन जनाको परिवार स्वर्ग भन्दा कम थिएन’ सीताले भन्नुभयो ।

तर यो खुशी जीवनभरी रहन पाएन । सीताले श्रीमानको गाउँकै अर्की केटीसँग सम्बन्ध रहेको थाहा पाउनुभयो । त्यहि कुरालाई लिएर सीता र गोविन्दको सम्बन्ध चिसियो । व्यापारको हर हिसाब एकले अर्कालाई देखाउन छोडे । बोलचाल बन्द भयो ।

दुई जना मिल्दा फस्टाएको तरकारीको उत्पादन सर्लक्कै घट्यो । आफन्तले धेरै सम्झाए । झगडा मिलाउन पनि खोजे तर फाटेको मन अर्काले मिलाएर कतिन्जेल मिल्थ्यो र ?

केही समयमा छोरोसहित सीतालाई छोडेर गोविन्द हिँडे । हिजोसम्म राम्रोसँग चलेको सीताको जिन्दगीको रथ रोकियो । रथको एउटा पाङ्ग्रोले साथ छोडिसकेको थियो । छोरा सानै थिए । उत्पादन कम भए पनि सीताले तरकारी खेती छोड्नुभएको थिएन । तर एक दिन दुई दिन गर्दा गर्दै उत्पादन हुनै छाड्यो । दुई छाक टार्न माइती र आफन्तले केहि दिन सहयोग गरे ।

घरभाडा र जग्गा भाडा तिर्न धौ धौ नै पर्यो सीतालाई । केही समय त सीताले श्रीमान् फर्केर आउँछन कि भन्ने सोच्नुभयो तर श्रीमान फर्किएनन् । उनले अर्कै बिहे गरेको खबर आयो । ‘त्यसपछि त अब सबै सक्कियो भन्ने लाग्यो’ सीतालाई त्यो भन्दा निराश हुने कुनै ठाउँ नै थिएन ।

उत्पादन गर्न नसकेर भाडा तिर्न नसकेपछि खेती गर्न लिएको जग्गा फिर्ता गरिदिनुभयो । ज्यान जोगाउन केही त गर्नै पर्ने भयो । एसएलसीसम्म पढेकी सीता जागिर खोज्दै धेरै ठाउँ धाउनु पनि भयो । त्यहाँ पनि उहाँलाई निराशा बाहेक केही हात लागेन ।

जागिर नपाएपछि सीताले २÷३ वर्ष अर्काको मेलापात गरेर जिविका चलाउनु भयो । श्रीमानले साथ छोडेपछि परिवार पनि सीतालाई हेर्न छोड्यो । ‘त्यसपछि त मसँग विदेश जानु भन्दा अर्को विकल्प नै के रह्यो र ?’ सीता भन्नुहुन्छ । आफूले सोचेका कुरा आफन्त र माइतमा सुनाउनुभयो । विदेश जाने सीताका कुरामा कसैले पनि सहमति जनाएनन् । अप्ठ्यारोले सीतालाई त्यसले झनै समस्यामा पार्‍यो ।

माइती र आफन्तले विदेश जानु हुन्न भने पनि छोरा हुर्काउने र पढाउनु पर्ने जिम्मेवारी छँदै थियो । त्यसैले कसैका कुरा नसुनी पासपोर्ट बनाएर काठमाडौं गएर ट्रष्ट नेपाल ओभरसिज नामको म्यानपावरबाट प्रक्रिया थाल्नुभयो । पासपोर्ट बुझाएको २ महिनापछि भिसा लागेको खबर आयो ।

दुवईमा क्लिनरका लागि लागेको भिसाले सीतालाई खुशीसँगै दुःख पनि लाग्यो । कारण विदेश जान पाए कमाइन्थ्यो भन्ने सपनाको पहिलो खुट्किलो सफल भएको थियो । तर छोरो छोडेर जानु पर्दाको पीडा त्यो भन्दा ठूलो थियो ।

त्यसमाथि विदेश जाने पक्का भएको सुन्ने सबै आफन्तले नाक खुम्च्याए । छिमेकीका केही दिदीहरुले त ‘आबुई विदेश जान्छे रे’ भनेर गिज्याए पनि । ‘महिला विदेश जाने भन्ने कुरा हाम्रो समाजले सहजै पचाउने कुरै थिएन, तर बाध्यताले थिचेपछि जे सुकै भनुन गएर छोड्छु भनेर लागिरहें’ सीता सुनाउनुहुन्छ ।

आँट त गर्नुभयो तर विदेश उड्न लाग्ने पैसा थिएन । छोरा पढ्ने बोर्डिङमा पनि पैसा तिर्न बाँकी नै थियो । त्यसैले धेरै जनासँग थोर थारै गरेर ९० हजार रुपैयाँ जम्मा गर्नुभयो । दुवईको सर्वेल कम्पनीमा क्लिनरको लागि मासिक १२ सय दिराम तलबमा काम गर्न उड्नुभयो ।

सानो जहाज छुन नपाएकी सीता सुखका सपना बुन्दै २०७२ माघमा ठूलो जहाजमा दुवई पुग्नुभयो । सीताका लागि त्यो आफन्त बिनाको बिरानो संसार थियो ।  मरुभुमीको तातो हावामा पनि छोरालाई छोडेर जानुको पिडाले कता कता मन चिसो बनाउँथ्यो ।

‘छोरालाई बाबुले त छोडे मैले पनि टुहुरो बनाए की जस्तो लाग्थ्यो’ सीताको स्वर लर्बरायो । उहाँसँग आफूलाई सम्हाल्नुको बिकल्प थिएन । सीताले क्लिनर कै काम पाउनुभयो । भनेजस्तै काम, दाम र ठाम मिल्यो ।

श्रीमान्ले छाडेपछि एक्लै खनेको कोदाली भन्दा दुवईको काम सजिलो लाग्न थाल्यो । उहाँले काम गर्ने कम्पनीमा अरु ३ सय जना नेपाली भएकाले पनि उहाँलाई काम गर्न सजिलो भयो ।

महिना बित्यो तलब आउन थाल्यो । ओभरटाइम काम गरेको पैसा जोड्दा सीताले महिनाको ३० हजार रुपैयाँ थाप्न थाल्नुभयो । ‘पहिलो महिना नै त्यति पैसा समाउन पाउँदा त खुशी लाग्दो रैछ ।’ सीताको अनुहार पहिलो महिनाको तलब थाप्दा पनि सायद यस्तै चम्किलो भएको हुनुपर्छ ।

कमाएको पैसा माइतमा पठाउनुभयो । २ वर्ष कमाएको पैसाले आफन्तले दमौलीमा घडेरी किनिदिएका छन् । छोरा अहिले ७ कक्षामा पढ्ने भइसके । उनलाई १२ कक्षासम्म पढाउने अनि किनेको घडेरीमा घर बनाउने सीताका सपना बाँकी नै छन् ।

त्यसैले उहाँ फेरि दुवई जानुभएको छ ।  अहिले गरेको प्रगति पनि सीतालाई कम लाग्दैन । ‘श्रीमानसँग हुँदा ५÷६ वर्षमा कमाए जति दुई वर्षमा कमाउन सकें’ सीताले भन्नुभयो ।

श्रीमानकै कारण सानै उमेरमा छोडेर बिरानो देशमा जानुपर्दा पीडा त कसलाई हुँदैन र तर सीतालाई श्रीमानसँग कुनै गुनासो छैन । ‘भाग्य नै त्यस्तै होला के गर्नु त’ सीता भाग्यलाई दोष दिएर चित्त बुझाउनुहुन्छ ।

सपना पुरा हुँदै गएको कुराले भन्दा पनि सीतालाई अर्को कुराले पनि खुशी दिएको छ । ‘विदेश जाने कुरा सुनाउँदा नाकमुख खुम्च्याउनेहरुको सोच फेरिएको छ’ सीता भन्नुहुन्छ ‘महिलाले पनि पुरुष सरह कमाउन सक्छने भन्ने सन्देश दिन सकेको छु ।’

Share.

Leave A Reply