श्रीमानको फोटो हेर्न राखेको पासपोर्टले पैसा दिलायो

0

सिर्जना बस्नेत/रामेछाप ।

पुस २२ – गायत्रीको माइतीघर भन्दा दुई कान्लो माथि सन्जिवको घर छ । गाउँलेले अहिले पनि सन्जिवको घर नै भनेर चिन्छन् । त्यो घरमा सन्जिवका अरु परिवार बस्छन । तर सन्जिव चाहिँ सधैंका लागि टाढाको यात्रामा निस्किनु भएको छ ।

सन्जिव र गायत्रीको घरको दूरी नजिक थियो । त्यो भन्दा नजिक थियो, उनीहरुबिचको मनको दूरी । सन्जिव परिवारका कान्छा छोरा थिए । कक्षा ६ भन्दा नपढेका उनी घरखेतीमा परिवारलाई सघाउँथे ।

छिमेकी गायत्री भने एसएलसीमा तीन विषय लागे पछि फुर्सदिली भएकी थिइन् । गायत्री र सन्जिव एकले अर्कालाई मन पराउँथे । सन्जिव गायत्री भन्दा १ वर्ष कान्छा थिए ।

सन्जिवको परिवारमा गायत्रीलाई बुहारी बनाउने कुनै योजना थिएन । त्यसैले १८ वर्ष टेकेका सन्जिवको बिहे दोलखाको केटीसँग गराइदिन घरमा योजना बन्यो । त्यसै बेला सन्जिव र गायत्रीले भागी बिहे गरे ।

सन्जिवले गायत्रीलाई लिएर दोलखामा काका पर्नेको घरमा लिएर गए । दोलखा भिमसेनलाई साक्षि राखेर सन्जिवले गायत्रीको सिउँदो रंग्याउँदा गायत्री भर्खर १९ वर्ष लाग्दै थिइन् । काकाको घरमा दुई दिन बसेर उनीहरु गाउँमै फर्किए ।

उमेर सानै भए पनि जिम्मेवारीले गायत्रीको टाउको थिचेको थियो । बुहारी भएर घर र खेती सम्हाल्न गायत्री लागिन् । सन्जिव मिस्त्री काम गर्न थाले । बिहे गरेको १ वर्षपछि छोरी सन्जिना जन्मिइन् ।

सधैं गाउँमा  ढुङ्गा र माटोसँग कुस्ती खेल्दा पनि केही नलागेपछि सन्जिवले विदेश जाने सोच बनाए । सन्जिवका दाइ नेपाल प्रहरीमा जागिरे थिए । उनैले सञ्चयकोषबाट एक लाख २० हजार रुपैयाँ झिकेर सन्जिवलाई विदेश जाने खर्च दिए ।

घरमा काखे छोरी र श्रीमती छाडेर २०७१ माघमा सन्जिव मलेसिया गए । गाउँमा सधैं दुःख गरेपनि केही सीप नलागेपछि उनी विदेश जाने निर्णयमा पुगेका थिए ।मलेसिया पुगेको केही महिनामै सन्जिवको शरीरमा तातोपानी पोखियो । कोठामा खाना बनाउँदै गर्दा तातोपानी पोखिएर उनको शरीर पोलेको थियो ।

‘मेरो जिउ पोलेको छ, मर्छु होला । छोरीको ख्याल गर्नु’ भन्दै रोएको गायत्रीलाई अहिले जस्तो लाग्छ । विदेशमा कम्पनीले राम्रो उपचार नगरिदिएको गुनासो सन्जिवले घरमा सुनाउनुहुन्थ्यो ।

नेपाल झिकाइ देउ हामी उपचार गर्छाैं भन्दै सन्जिवका बुबाले धेरैचोटी मलेसिया पठाइदिने दलाललाई फोन गरे । तर घर आउन चाहेर नाटक गरेको केही समस्या छैन भन्दै दलालले फोन काटिदिन्थे ।

मलेसियामा सन्जिवको शरीर पोलेको थियो, यता नेपालमा गायत्रीको मन जलेको थियो । शरीरभरी घाउ लिएर २०७२ फागुनमा सन्जिव नेपाल आइपुगे । विदेश जाँदा सन्जिवको ज्यान खाइलाग्दो थियो । मुहार हँसिलो । फर्की आउँदा सास मात्रै बाँकी थियो । शरीरभरी घाउ थियो । कसैलाई चिन्दैनथे एकहोरो हेरेर रुन्थे ।

फर्केर आउँदा सन्जिवको सातो गएजस्तो थियो । नेपाल आएपछि काठमाडौंका धेरै अस्पतालमा उपचारका लागि लगियो । तर ओखतिमुलो गर्न ढिला भैसकेको थियो ।

तातोपानीले पोलेको शरीरको घाउबाट क्यान्सर भइसकेको थियो । उपचार गराउँदा गाउँको खेतबारी बेच्नुपर्यो । त्यतिले पनि नपुगेपछि साहुसँग ऋण पनि लिए । तर सन्जिवले संसारबाट बिदा लिने दिन आइसकेको रहेछ । उपचार गराउँदा २४ लाख रुपैयाँ त सकियो नै, २०७३ मंसिर १५ गते सन्जिव सधैंका लागि निदाए ।

‘भएभरको सम्पत्ति नि सकियो छोरो पनि रहेन’ सन्जिवका बुवा अहिले पनि भक्कानिन्छन् । भुकम्पले भत्काएको घर बनाएको छैन । त्यो भन्दा ठूलो पीडा गायत्रीको मनमा छ । वार्षिकी भर्खर सकिए पनि श्रीमानलाई उपचार गर्दा लागेको ऋणको ब्याज बढिरहेको छ ।

गायत्रीको मनमा मल्हम लगाउने काम सूचना केन्द्र मन्थलीले गरेको छ । केन्द्रका मनोपरामर्शकर्ताले गायत्रीलाई घरमा नै गएर धेरै पटक परामर्श गरे । परामर्शदाताबाटै उनले आर्थिक सहायता पाइन्छ भनेर थाहा पाइन् ।

सन्जिवको मृत्यु श्रम सम्झौता गरेको अवधिभित्र नै भएको थियो । त्यसैले परिवारले बीमा कम्पनी र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट आर्थिक सहायता पाउँथे । आर्थिक सहायता पाइन्छ भन्ने जानकारी दिँदा पनि सुरुमा त गायत्रीलाई विश्वास लागेको थिएन ।

सूचना केन्द्रले क्षतिपूर्तिका लागि चाहिने कागजातको बारेमा बुझ्दा कागजपत्र शवसँगै जलिसकेको थियो । क्षतिपूर्ति पाउन कागजात जरुरी थियो । कागजात जलाए पनि पासपोर्ट र अरु केही कागजात चाहिँ गायत्रीले लुकाएर राखेकी थिइन् । ‘त्यसमा फोटो थियो त्यही भएर कहिलेकाहीँ सम्झना आउँदा हेर्न पाइन्छ भनेर राखेकी थिएँ ।’ गायत्रीले पासपोर्ट र फोटो टाँसिएका कागज लुकाएर राख्नुको कारण सुनाइन् ।

गायत्रीले पैसा पाइन्छ भनेर कागजात लुकाएर राखेकी भने होइन । ‘सबै कुरा जलाइदिए, श्रीमानको चिनो भनेर ती चिज राखें’ गायत्रीले भनिन् । त्यसैका आधारमा सन्जिवको मृत्यु भएको १ वर्ष पछि परिवारले बीमा कम्पनीबाट ६ लाख रुपैयाँ पाएको छ ।

बीमाबाट आएको पैसाले ऋण घटाउन सहयोग पुगेको छ । छोरी कक्षा १ मा भर्ना भएकी छिन् । उनका लागि वैदेशिक रोजगार प्रवद्धर्न बोर्डबाट पाउने छात्रवृत्तिका लागि पनि सूचना केन्द्रले निवेदन पेश गरिदिएको छ । बोर्डबाट पाउने क्षतिपूर्तिका लागि पनि निवेदन हालिएको छ ।

Share.

Leave A Reply