शहरमा छैनन् ‘डेटिङ स्पट’, भीरपाखा चाहार्दै प्रेम जोडी

0

‘लास्ट सिटमा मायाको एक जोडी

रिङ रोड घुमे नरोकी तीनचोटी

हामी पनि हुइँकिउँ बुइनी साझा बसैमा’

हरिवंश आचार्यले गाएजस्तै हविगत छ, प्रेमजोडीको । सार्वजनिक बसको लास्ट सिटमा मायालु जोडी प्रेममा लिप्त भेटिन्छन् । कतिचाहीं सडक किनारमा बाइक राखेर उन्मुक्त माया साटिरहेका हुन्छन् । देख्नेहरु भन्छन्, ‘छया् कस्तो छाडा केटाकेटी, कस्तो उच्छृंखल ?’

यसो भन्नेलाई के थाहा, प्रेम अब उनीहरुको पालाको जस्तो रहेन भनेर । आँखीझ्यालबाट डराई-डराई चियाएर पल्लोघरको कौसीमा घाम तापिरहेकी मायालुलाई खुसुक्क हेरेर मनमनै रमाउने जमाना उहिल्यै गइसक्यो । र, आइसक्यो जमाना, साइबर लभको । आइसक्यो, जमानामा च्याटिङ र डेटिङको ।

तैपनि, नव-यौवनाबीचको लभ, रोमान्स र डेटिङलाई समाजले अझै पचाउन सकेको छैन । खुल्लमखुला प्रेम गर्नु, माया पोख्नु र रोमान्स गर्नुलाई ‘छाडापन’को संज्ञा दिइन्छ ।

हरेकले यौवनकालबाट गुजि्रनुपर्छ र प्रेमको अनुभवबाटै गुजि्रनुपर्छ । प्रेमका महान व्याख्याता ओशो (आचार्य रजनीश)ले भनेका छन्, ‘समस्त जीवनको केन्द्रमा एकै प्यास छ । त्यो हो प्रेम ।’ प्रेमलाई उनले चेतनाको एक अवस्था मानेका छन् । भनेका छन्, ‘प्रेम स्टेट अफ माइन्ड हो । स्टेट अफ कन्ससनेस हो ।’ हामीचाहीं भन्छौं, ‘प्रेम छाडापन हो ।’

प्रेमप्रतिको बुझाइ र सोचाइ नै कमसल भएर होला, हामीकहाँ प्रेम साट्ने ठाउँ छैन । अर्थात्, डेटिङ डेस्टिनेसन । कस्तो विडम्बना, शहरमा सृष्टीको अनुपम वरदान प्रेम साट्ने ठाउँ नै छैन ।

एक पटक काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले डेटिङ स्पटको परिकल्पना गरेका थिए । उनले नागार्जुनको जंगललाई ‘लभर्स पार्क’ बनाउने, सुन्धारामा धरहरा आसपासको क्षेत्रमा नाइट क्लब र डेटिङ स्पट बनाउने योजना चुहाएका थिए ।

प्रेमिल जोडीहरु प्रेममा उन्मुक्त बहकिने यस्ता अन्य केही स्थानको खोजीमा पनि थिए । तर, धेरैले उनको कुरा पत्याएनन् । नपत्याएका मात्र होइनन्, हावामा उडाइदिए ।

हरिया बगैंचा । रुखका बुट्याउनहरु । हावामा बयेली खेलिरहेका फूलहरु । कलकल पानीमा पौडिरहेका माछाहरु । भुर्र-भुर्र उडिरहेका चराहरु । अनि, बेपर्वाह आपसमा प्रेमलाप गरिरहेका जोडीहरु ।

संभवत स्थापितको दिमागमा यस्तै ‘डेटिङ स्पट’ फुरेको थियो । तत्कालीन काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्तको हैसियतमा उनले देखेको त्यो सपनाले मूर्त रुप पाएन ।

साँघुरिदै माया साट्ने ठाउँ

केही वर्षअघि राजधानीका मन्दिर परिसरबाट दर्जनौं जोडी समातिए । पशुपतिनाथलगायत मन्दिरआसपास लुकीछिपी प्रेम साटिरहेका जोडी प्रहरीको फन्दामा परे । त्यो पनि ‘भ्यालेन्टाइन डे’मै ।

जसै प्रेम जोडी मन्दिरबाट समातिए, त्यसको पक्ष र विपक्षमा बहस चर्कियो । कतिले त्यसलाई ‘अपराध’ भनी सदर गरिदिए । कतिले उन्मुक्त प्रेममा हस्तक्षेप भएको टिप्पणी गरे । जे भए पनि त्यो डेटिङ डेस्टिनेसन अभावले जन्माएको समस्या थियो ।

हो, धेरै जोडीले अहिले मन्दिर परिसरलाई डेटिङ स्पट बनाएका छन् । दुनियाँको आँखा छल्दै उनीहरु मन्दिरको आडमा बसेर प्रेममा लिप्त भइरहेका हुन्छन् ।

कतिका लागि सिनेमा घर पनि डेटिङ डेस्टिनेसन बनेको छ । फिल्म हेर्ने बहानामा हल पुगेका उनीहरु आपसमा प्रेम साट्न हतारिरहेका हुन्छन् । साझा बस, मन्दिर, सिनेमाघरदेखि कफी सपसम्म प्रेमिल जोडीले आफ्नो अड्डा बनाउँदै आएका छन् । तर, बाग्लो चहलपहल हुने, कोलाहाल र भीडभाडमा जिन्दगीका मिठा-मिठा बात मार्ने कसरी ?

राजधानीमा केही स्थान छन्, जसलाई प्रेम जोडीले आफ्नो कब्जामा राखेका छन् । यद्यपि, त्यहाँ पनि उनीहरु सुरक्षित र उन्मुक्त भने छैनन् । बेलाबखत उनीहरुमाथि प्रहरीको दृष्टि परिहाल्छ ।

प्रेम जोडीहरु यस्तो ठाउँको खोजीमा हुन्छन्, जहाँ निस्फिक्री प्रेम साट्न पाइयोस् । कुनै बाधा अड्चन नहोस् । प्राकृतिक सौन्दर्यमा हराउँदै आपसमा बाँधिएर सुदूर अतीतको कल्पनामा डुबुल्की मार्न पाइयोस् ।

तर, शहरको भीडभाड, अस्तव्यस्त चहलपहल, कोलाहाल, धुवाँ-धूलो र चर्को ध्वनीले प्रेम जोडीको एकान्त भंग गरिदिएको छ ।

राजधानीको मध्यतिर एउटा पार्क छ । प्रदर्शनी मार्गसँगै जोडिएको उक्त पार्कमा प्रेम जोडी पुग्ने गर्छन् । महाराजगञ्ज नजिकैको शंखपार्क, केशरमहलको गार्डेन अफ डि्रम -स्वप्न बगैंचा), यूएन पार्क, पुल्चोकको सदर चिडियाखाना, बालाजुको बाइसधारा बगैंचा, गोदावरीजस्ता केही स्टेसन छन्, जहाँ प्रेम साट्नेहरु पुग्ने गर्छन् ।

केशरमहल हुँदै ठमेल प्रवेश गर्ने मोडबाट बायाँ मोडिएपछि भेटिन्छ, गार्डेन अफ डि्रम्स । करिब एक शताब्दीअघि केशरसमशेरले निर्माण गरेको स्वप्न बगैंचा राजधानीका प्रेमजोडीले खोजेजस्तै डेटिङ डेस्टिनेसन हो ।

बगैंचामा हरिया चौर, फूलहरु, स-साना बुट्याउनहरु छन् । कृत्रिम पोखरीमा रंगबिरंगी माछाहरु सल्बलाइरहेको देखिन्छ । ठाउँ-ठाउँमा चौतारो । बिहान १० देखि राति १० बजेसम्म खुला हुने यो बगैंचामा प्रवेशका लागि भने शुल्क तिर्नुपर्छ, प्रतिव्यक्ति सय रुपैयाँ ।

राजधानीमा अरु थुप्रै पार्क छन् । यद्यपि, ती पार्कहरु व्यवस्थित र सुरक्षित छैनन् ।

काठमाडौंका पूर्वमेयर केशव स्थापितले नागार्जुनको जंगललाई ‘लभर्स पार्क’ बनाउने, सुन्धारामा धरहरा आसपासको क्षेत्रमा नाइट क्लब र डेटिङ स्पट बनाउने योजना चुहाएका थिए ।

अघोषित डेटिङ स्पट

जावलाखेलस्थित सदर चिडियाखाना खासमा थरीथरीका वन्यजन्तु अवलोकनका लागि संरक्षित क्षेत्र हो । तर, त्यस परिसरलाई ‘अघोषित डेटिङ स्पट’ भन्दा फरक नपर्ला ।

जुद्धसमशेरको पालामा बनेको चिडियाखाना र आसपासका बगैंचा प्रेम जोडीका निम्ति सुरक्षित गन्तव्य बनेका छन् । निश्चित शुल्क तिरेपछि प्रवेश पाइने चिडियाखानमा लुकीछिपी प्रेम साट्ने अनुकुलता मिल्छ ।

राजधानी खाल्डोबाट केही माथि उक्लिएपछि भेटिने थानकोटको त्रिभूवन पार्क त डेटिङका लागि भरपर्दो स्थान नै हो । त्यहाँको हरियाली, एकान्त वातावरण, प्राकृतिक सौन्दर्यले प्रेममैत्री बनाएको छ ।

प्रेम जोडीका निम्ति अर्को सुरक्षित गन्तव्य हो, गोदावरीस्थित बोटानिकल गार्डेन । जंगलले घेरिएको यो बगैंचामा उनीहरु उन्मुक्त रमाउन सक्छन् ।

कुनैबेला नेपाली फिल्मको क्लाइमेक्स चोभारको डाँडामा पुगेर इन्डिङ हुन्थ्यो । अहिले त्यस आसपासको क्षेत्र प्रेमको उत्कर्षमा पुग्नेहरुको गन्तव्य बनेको छ । बाइकमा हुइँकिँदै कति प्रेमजोडी चोभार डाँडामा पुग्छन् र उन्मुक्त प्रेमालाप गर्छन् । नगरकोट र धुलिखेलको सौन्दर्यले पनि प्रेमजोडीलाई आमन्त्रण गरिरहेको छ ।

प्रेम साट्न मठमन्दिरमा

तन्नेरीहरु मठमन्दिर पनि धाउने गर्छन् । भक्ति दर्शनले तानिएर होइन, प्रेम साट्ने सुरक्षित क्षेत्रको खोजी गर्दै । शहरीया तन्नेरीहरु मन्दिरको आडमा बसेर आपसमा प्रेमलाप गरिरहेका भेटिन्छन् ।

भक्तपुर दरबार स्क्वायर होस् वा नजिकैको सिद्धपोखरी, जोडीहरु प्रशस्तै भेटिन्छन् । यस्तै, पशुपतिनाथ, स्वयम्भु, बौद्धनाथजस्ता मठ मन्दिरलाई युगल जोडीले डेटिङ पोइन्टमा रुपान्तरण गरिरहेका छन् ।

राजधानी बाहिरका ‘हट स्पट’

पोखरा, प्राकृतिक रमणीयताले भरिपूर्ण शहर । यही शहरका थुप्रै स्पट छन्, जहाँ तन्नेरीहरु डेटिङ जान्छन् । त्यसमध्ये पनि वेगनास तालमा रमाउने प्रेमजोडी बग्रेल्ती देखिन्छन् ।

यस्तै, धरानबाट पहाडतिर उक्लिएपछि भेटिने भेडेटार प्रेमजोडीको रोज्जा डेटिङ स्पट हो । तराईको गर्मी छल्न मात्र होइन, प्रेमको तिर्खा मेट्न पनि थुप्रै तन्नेरी भेडेटार पुग्छन् । आसपासमा देखिने हिम शृंखला, पूर्वपश्चिम फैलिएको चारकोसे झाडी, तराईका सुन्दर फाँट र गोधुली साँझको मनमोहक दृश्यले यो ठाउँलाई प्रेममैत्री बनाएको छ ।

राप्ती किनारबाट सूर्यास्तको दृश्य नियाल्दै प्रेम साट्न सौराहा पुग्ने जोडीहरु पनि प्रशस्तै हुन्छन् । तन्नेरीका लागि लोभलाग्दो लभ पोइन्ट हो यो । राप्ती किनारमा कुम जोडेर प्रेमलाप गरिरहेका दृश्य नौलो लाग्न छाडिसकेको छ ।

इलामको कन्याम पनि अघोषित डेटिङ डेस्टिनेसन हो । चियाको बुट्यानमा लुकामारी खेल्दै प्रेम साट्न प्रेमजोडीहरु कन्याम पुग्ने गर्छन् । थुम्का थुम्कीमा लगाइएको कलकलाउँदो चिया बगान, निरन्तर बहकिने शीतल हावा अनि हावाको झोंका ठोक्किएर सल्लाका रुखबाट निस्कने एकनासको आवाजले प्रेममय मनमा थप रौनकता भरिदिन्छ ।

तराईमा डेटिङ स्पटका रुपमा हिजोआज पनि प्रेमजोडी खेत-खलिहान या नदी किनारतिर जान छाडेका छैनन् । कोही ‘गन्नाको खेत’को बीचमा छेलिएर प्रेम साटिरहेका हुन्छन् भने कोही खेतको ढिकमुन्तिर बसिरहेका हुन्छन् । अनि कोही नदी किनारमा ।

बुटवलका प्रेम जोडी तिनाऊपारिको मणि मुकुन्द सेनको दरबार -फुलबारी पार्क)मा रमाइरहेका भेटिन्छन् । कोही भने चिडिया खोलापारि सिद्धबाबा मन्दिर वरिपरि घुमिरहेका हुन्छन् ।

इटहरीमा खुशीयाली

इटहरीका प्रेम जोडीमा भने यतिबेला हर्षोल्लास छाएको छ । किनभने, त्यस क्षेत्रबाट डेटिङ स्पटका पक्षपाती नेता सर्वध्वज साँवा विजयी भएका छन् । सुनसरी-२ को ‘क’बाट विजयी साँवाले इटहरीको चारैतिर आकाशे पुल बनाउने र त्यसलाई युवा-युवतीको डेटिङ स्पट बनाउने घोषणा गरेका थिए ।

‘हामी इटहरीलाई आहा इटहरी बनाउन चाहन्छौं,’ साँवाले चुनावी सभामा भनेका थिए, ‘अहिले हामी गोर्खा डिपार्टमेन्ट अगाडि आइज न भन्छौं, अब आकाशे पुलमा आइज भन्छौं र त्यहीं सेल्फी खिच्छौं ।’

साँवाको ‘आहा इटहरी’ अवधारणाभित्र लभर्स पार्क र डेटिङ स्पटलाई पनि विशेष प्राथमिकता दिइएको छ ।

Share.

Leave A Reply