वाम गठबन्धनले प्रधानमन्त्रीको टुंगो लगाए पद छोड्न तयार छु : प्रम देउवा

0

नवराज पनेरु/उज्यालो ।

कैलाली, पुस ३० –प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठवन्धनले प्रधानमन्त्रीको टुंगो लगाएमा आफू पद छोड्न तयार रहेको उद्घोष गर्नुभएको छ ।

कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सहमति गरेर प्रधानमन्त्री तोक्न नसकेकोले आफूले देशलाई नेतृत्वविहीन बनाउन नचाहेको बताउनुभयो ।

उहाँले वाम गठबन्धनले प्रधानमन्त्रीको चयन गर्न नसक्ने र आफूलाई पद नछोडेको आरोप लगाउनु गलत भएको वताउनुभयो । आफूले प्रधामन्त्री बनिरहन्छु भनेर नभनेको उहाले  जिकिर गर्नुभयो । सबै दलहरुको सहमतिमा प्रदेशसभाको अस्थायी राजधानी तोक्न खोज्दा सहमति हुन नसकेकोले छिट्टै सरकार निर्णयमा पुग्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले अहिलेका लागि प्रदेश प्रमुख र अस्थायी राजधानी प्रदेशसभाका लागि तोक्ने र त्यसपछि प्रदेशसभाको बैठकले राजधानी फेरबदल गर्ने बताउनुभयो । त्यसका लागि सबैभन्दा वढी समस्या प्रदेश नम्वर ७ मा भइरहेको भन्दै प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी सरकारले छिट्टै तोक्ने दावी गर्नुभयो । तीन दिनदेखि धनगढी र महेन्द्रनगरमा रहनुभएका प्रधानमन्त्री देउवा आइतवार काठमाडाैं फर्किनुभएको छ ।

शुक्रवार महेन्द्रनगर पुग्नुभएका देउवा शनिबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनुभएको थियो । आइतबार कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ मा रहेको धार्मिक स्थल गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटन गरेर देउवा काठमाडाैं फर्किनुभएको हो ।

मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो पनि गोदावरीसँग सम्वन्ध जोडिएकोले यसको विकासका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

Share.

Leave A Reply