वनको आगो गाउँमा पस्दा ६ घर खरानी

0

प्रकाश धौलाकोटी/उज्यालो ।

तेह्रथुम, फागुन २२ – वनमा लागेको डढेलो गाउँमा पस्दा तेह्रथुममा ६ वटा घर जलेर नष्ट भएका छन् । जिल्लाको लालीगुराँस नगरपालिका – ८, सोल्मामा सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि ६ घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘अहिले पनि आगलागी भइरहेको छ । नगरपालिकाको दमकल जाने सडक नभएकाले आगो नियन्त्रणमा असहज भएको छ’, इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी नायव निरीक्षक कुलबहादुर खत्रीले बताउनुभयो ।

दिउँसो झण्डै २ बजे वनमा लागेको डढेलो हावा हुरीका कारण गाउँमा पसेपछि  स्थानीय गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नेत्रप्रसाद अधिकारी, एकराज तिम्सिना, गुरुप्रसाद लुइटेल र लोकनाथ न्यौपानेको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो ।

३ वटा घरमा मान्छे बस्ने गरेका थिए भने बाँकी ३ घरमा मान्छ नबस्ने गरेको खुलेको प्रहरीको भनाई छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । क्षतिको पूर्ण विवरण आएको छैन ।

आगो नियन्त्रणको लागि प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो । घटनास्थलमा जिल्लाबाट टोली पठाइए पनि अहिलेसम्म नपुगेको स्थानीयले बताएका छन् ।

Share.

Leave A Reply