लोडसेडिङ हटाउन १५ अर्बको विद्युत भारतबाट ल्याइने, गएको वर्षभन्दा १ अर्ब बढी

0

काठमाडौं, चैत २२ – विद्युतभार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब रु १५ अर्ब बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ ।

अहिलेसम्म प्राधिकरणले ९ अर्ब ६ करोड ८४ लाख रुपैयाँ बराबरको विद्युत् आयात गरेकामा बाँकी रहेको तीन महिनामा थप ६अर्ब रुपैयाँ बराबरको विद्युत् आयात हुने प्रक्षेपण गरिएको हो । प्रक्षेपण गरिएकोभन्दा कम पनि हुनसक्ने प्राधिकरणको बुझाइ छ ।

प्राधिकरणमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले गएको वर्ष झण्डै १४ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको वर्ष १३ अर्ब ९७ करोड २१ लाख ९४ हजार ५ सय २२ रुपैयाँको विद्युत् आयात गरिएको थियो । चालु आवको अन्त्यसम्म हिसाब गर्ने हो भने झण्डै एक अर्ब रुपैयाँ बढीको मात्रै विद्युत् थप आयात हुनेछ ।

ऊर्जा सङ्कटलाई समाधान गर्न मात्रै तत्कालका लागि विद्युत् आयात गरिएको र केही आयोजना सम्पन्न भएपछि प्राधिकरण आफैँले विद्युत् निर्यात गर्नुपर्ने अवस्था आउने प्राधिकरणको भनाइ छ । प्रतिशतको हिसावमा गत वर्षभन्दा १ दशमलव ४४ प्रतिशत मात्रै बढी विद्युत् आयात हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

गत वर्ष ३२ अर्ब रुपैयाँ कुल आम्दानी गरेको प्राधिकरणले यस वर्ष १२ अर्ब बढी आम्दानी गर्दै ४४ अर्ब रपैयाँ आम्दानी गर्नेछ । गउको वर्ष पाँच हजार गिगावाट आवर विद्युत् उपलब्ध भएकामा यस वर्ष ६ हजार गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।

यो वर्ष प्राधिकरणले एक अर्ब ९७ अर्ब २० करोड युनिट बिजुली भारतबाट आयात गरेको र गत वर्ष एक अर्ब ७३ करोड नौ लाख युनिट बिजुली आयात भएको थियो । चैतमा वर्षात् भइरहेकाले पनि आन्तरिक बिजुली उत्पादन बढेको र केही आधा दर्जन आयोजना सम्पन्न भई १ सय ५ मेगावाट बिजुली उत्पादन थप भएको उहाँको भनाइ छ । अझै प्रणालीमा ४५ मेगावाट थप हुने तयारीमा रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

हाल विद्युत् प्राधिकरणले बेलुका ९ सय २० मेगावाटसम्म बिजुली आपूर्ति गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षात्मा बिजुली बढी हुने जानकारी दिँदै उहाँले त्यसलाई खपत कसरी बढाउने विषयमा छलफल भइरहेको उल्लेख गर्नुभयो ।

चुहावट चार प्रतिशतले घट्यो

प्राधिकरणले देशव्यापी अभियानका रुपमा बढाएको विद्युत् चुहावट तथा चोरी नियन्त्रण अभियानले हालसम्म झण्डै चार प्रतिशतले चुहावट र चोरीमा कमी आएको जनाएको छ । त्यसबाट प्राधिकरणलाई एक अर्ब २० करोड रुपैयाँ बराबरको आम्दानी भएको छ ।

चालु आवको अन्त्यसम्म झण्डै पाँच प्रतिशत विद्युत् चुहावट कम हुनेगरी कार्य अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

हुँदै नभएको महसुलको गलत प्रचार

कार्यकारी निर्देशक घिसिङले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले हुँदै नभएको महसुल प्राधिकरणले तिरेन भनेर गराइएको प्रचार पूर्णत गलत भएको बताउनुभयो ।

विभिन्न आयोजनाले घर भाडामा लिँदा बाँकी रहेको केही रकम प्राधिकरणले तिनुपर्ने हुनसक्ने तर प्रचार गरिएजस्तो ५० करोड रुपैयाँ बक्यौता रहेको भन्ने प्रचार असत्य रहेको बताउनुभयो ।

प्राधिकरणले लिमिटेडलाई ४४ लाख रुपैयाँ मात्रै महसुल तिर्न बाँकी रहेको र त्यो पनि विभिन्न आयोजनाका नाममा रहेको महसुल मात्रै रहेको जानकारी दिनुभयो । प्राधिकरणले लिमिटेडलाई के कति महसुल तिर्नुपर्ने हो सो को जानकारी दिन र आधिकारिक पत्राचार गर्न आग्रह गरेको समेत उहाँको भनाइ छ ।

Share.

Leave A Reply