राजपा तराईको एक नम्बर पार्टी हुन्छ, कांग्रेस मुख्य प्रतिष्पर्धी हो – सर्वेन्द्रनाथ शुक्ल

0

भदौ ११ – संविधान संशोधनको मुद्दालाई लिएर पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनाव बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई अहिले चुनाव लागेको छ । संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भएपछि राजपाले २ नम्बर प्रदेशमा आउँदो असोज २ गते हुने तेस्रो चरणको चुनावमा भाग लिने निर्णय गरेको छ ।
राजपाको चुनावी एजेण्डा के के छन् ? संविधान संशोधनको मुद्दा फेरि उठ्छ कि उठ्दैन ? यिनै विषयमा राजपाका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लसँग लक्ष्मण शर्माले कुराकानी गर्नुभएको छ ।
अन्ततः राजपाले चुनावमा जाने निर्णय गर्‍यो है ?
संसदीय व्यवस्था भएको देश र लोकतान्त्रिक प्रणालीलाई अँगालेको पार्टीले चुनावमा भाग लिनैपर्छ । राजनीतिक दलको भविष्य निर्धारण गर्ने नागरिक हुन् । नागरिकको अभिमतको लागि पनि चुनावमा भाग लिनै पथ्र्याे । त्यसैले राजपाले पनि चुनावमा भाग लिने निर्णय गरेको हो ।
पहिलो र दोस्रो चरणको चुनावमा चाहिँ किन भाग लिनुभएन त ?
हामीले तराई मधेशका सम्वन्धमा जटिल मागहरु उठाएर आन्दोलन गरेका थियौं । जुन मागका सम्बन्धमा तत्कालीन सरकार गम्भीर भएन र हामीलाई चुनावमा सहभागी हुने वातावरण मिलेन । त्यसैले हामी चुनावमा गएनौं ।

अहिले त्यो वातावरण बन्यो त ?
हामीले उठाएका कतिपय माग पूरा भएका छन् । कति बाँकी नै छन् । हाम्रो प्रमुख माग संविधान संशोधनको हो । जुन माग संसदमा पेश भयो । हामीले आवाज उठायौं, जुन सडकमा मात्र थियो, अब संसदमै दर्ता भएको छ ।
पहिला हाम्रो माग सडकमा थियो, अहिले सदनमा पुगेको छ । सदनमा संशोधनको पक्षमा बहुमत मत आयो । जुन पारित हुन दुई तिहाइ मत आवश्यक पथ्र्यो । तर बहुमतले के पुष्टि गरेको छ भने संशोधन प्रस्ताव ठिक माग थियो भन्ने कुरा प्रमाणित गरेको छ । जुन कुरा हामीले नागरिकमा गएर बुझाउनु छ ।
अर्को कुरा राजपा चुनावमा भाग नलिए अब देश द्वन्द्मा जाने निश्चित थियो, त्यसैले हामीले चुनावमा भाग लिने निर्णय ग¥यौं ।
चुनावमा जाँदा नागरिकले संविधान संशोधन के भो भनेर सोध्लान नि ?
जसको विश्वास गरेर मत दिनुभएको थियो, उनीहरुले नै संशोधन प्रस्ताव पास हुन दिएनन् । त्यसैले अब तपाईंहरुको पक्षमा काम गर्ने को हो र कुन पार्टी हो चिन्नुस्, हामीले मत दिनुहोस् भन्छौं ।
चुनावको मुखमा मतदाताको मन जित्न सक्नुपर्ने हो । तर तराईका बाढी पीडितका लागि तपार्इंहरुले खासै काम गर्न सक्नुभएन भन्ने गुनासो छ नि ?
तराईमा बाढीले धेरै नागरिकलाई प्रभावित बनाएको छ । यो निकै दुखद घटना हो त्यसमा हाम्रा कार्यक्रता पनि धेरै पीडित भएका छन् । समग्रमा तराईका सबै नागरिक पीडित छन् । यसमा सबैभन्दा धेरै काम हामै्र पार्टीले गरेको छ ।
पार्टीले हरेक सांसदको एक महिनाको पारिश्रमिक प्रभावितलाई दिने निर्णय गरेको छ । हामीले राहत कोष स्थापना गरेर राहत बाँडेका छौं । हाम्रा कार्यकर्ता नै पीडितको उद्धारमा सक्रिय भएर लागेका छन् । यति गर्दा गर्दै पनि पीडितलाई राहत नपुगेको हुनसक्छ । यसमा निर्वाचन आयोगको आचार संहिताले पनि प्रभाव पारेको छ ।

बाढी र डुबानको पीडामै चुनाव हुँदैछ । चुनावमा राजपाका एजेण्डा के के हुन् त ?
संविधान संशोधनमार्फत मधेशका नागरिकलाई अधिकार सम्पन्न गराउने नै राजपाको प्रमुख एजेण्डा हो ।
पहिलो र दोस्रो चरणको चुनावमा भाग नलिएर गल्ती गरेजस्तो लाग्दैन ?
पार्टीभित्र म जहिले पनि चुनावमा जानुपर्छ भन्ने पक्षमा रहेको व्यक्ति हुँ । त्यसैले दोस्रो चरणको चुनावमा हाम्रो पार्टीका नेताले स्वतन्त्र उम्मेदवारी दिँदा मैले सहमति जनाएको थिएँ । लोकतन्त्रलाई स्वीकार गर्ने जो कोही चुनावमा जानुपर्छ । पार्टीभित्र मैले यही आवाज उठाउँदै आएको छु ।
अर्को त हामीलाई सरकारले पनि चुनावमा जाने वातावरण नबनाएकै हो । पार्टी एकतापछि पार्टी दर्ता र चुनाव चिन्हमा सरकार र निर्वाचन आयोगले कुनै चासो नदिंदा हामीलाई चुनावमा जान समस्या भएको हो । जब चुनावमा जाने प्रवेशद्वार नै बन्द हुन्छ, अनि बहिष्कारको विकल्प रहँदैन ।
६ पार्टीको एकता पछि बनेको राजपामा उम्मेदवार चयनमा विवाद आयो नि ?
नेपालका सबै दलमा विवाद छ । राजपामा पनि यो देखिएको छ । लामो समयपछि हुन लागेको स्थानीय तह चुनावमा आकांक्षी देखिनु स्वभाविक पनि हो । तर त्यसलाई पार्टी नेतृत्वले कार्यकर्ताको मनोबल नघट्नेगरी मिलाउनु पर्छ ।
अब कसरी सल्टाउनु हुन्छ उम्मेदवार चयन विवाद ?
हामीले उम्मेदवार चयनलाई व्यवस्थित बनाउन पर्यवेक्षक टोली बनाएका छौं । टोलीको रिर्पोटलाई अध्यक्ष मण्डलले छलफल गरेर व्यवस्थित ढंगले उम्मेदवार चयन गर्छौं । पार्टीको पहिलो परीक्षा यो नै हो । यसबाट पार्टीको भविष्य कस्तो रहने र पार्टी कसरी चल्ने भन्ने कुरा निक्र्यौल हुन्छ ।
उम्मेदवारको टुंगो कहिलेसम्म लाग्छ ?
भदौ १३ गतेसम्ममा उम्मेदवार टुंगो लगाउँछौं र त्यसपछि प्रचारमा जुट्छौं ।
तेस्रो चरण चुनावमा राजपाले कस्तो नतिजाको अपेक्षा गरेको छ ?
टिकट वितरण निष्पक्ष रुपमा भए राजपा तराईको एक नम्बर पार्टी हुन्छ । राजपा तराईका समस्या समाधान गर्न सक्ने पार्टी भएकाले नागरिकले हामीलाई नै भोट दिन्छन ।
चुनावमा राजपाको प्रतिष्पर्धा कुन पार्टीसँग हो ?
तराईमा राम्रो प्रभाव भएको र तराईको मुद्दामा नजिकको पार्टी कांग्रेस भएकाले हाम्रो मुख्य प्रतिष्पर्धा नेपाली कांग्रेससँग नै हुन्छ । फोरम पनि हाम्रो प्रतिष्पर्धी पार्टी हो ।
एमाले चाहिँ ?
संविधान संसोधनको कारणबाट तराईका नागरिक एमालेप्रति सन्तुष्ट छैनन् । मधेशका मुद्दालाई राष्ट्रवादसँग जोडेकाले एमाले मधेशमा कमजोर भएको छ ।
तपाईंहरुले उठाएको संशोधनको विषय ठिक थियो भने एमालेले किन त्यसको पक्षमा मतदान गरेन त ?
संसदमा दर्ता भएको संशोधन प्रस्ताव हाम्रो नभएर मुख्य दलको प्रस्ताव हो र सरकारले यो प्रस्ताव संसदमा दर्ता गरेको हो ।मैले एमालेसँग व्यक्तिगत रुपमा पनि यसबारे कुरा गरेको छु । एमाले संशोधनमा भन्दा पनि सरकारले सल्लाह नगरी संसदमा दर्ता गरेको भनेर असन्तुष्ट भएको हो ।
आफूसँग सल्लाह नगरी दर्ता भएको प्रस्तावको पक्षमा मतदान गर्न एमालेलाई असहज हुने कुरा पार्टीका नेताले बताउँदै आएका थिए । त्यसैले एमालेले यसको पक्षमा मतदान नगरेको हो ।

तराई मधेश केन्द्रित दल सत्ता मोहका कारण फुटिरहन्छन् भन्ने गुनासो धेरै छ । यस्तो अवस्थामा राजपाको एकता कहिलेसम्म ?
तराई मधेशमा पार्टी फूट रोग जस्तै देखिएको छ । यसको पीडाले नागरिक र नेता आजित भएर नागरिककै दबाबमा राजपाको एकता भएको हो । यो अवस्थामा नेतृत्वको पहिलो परीक्षा तेस्रो चरणको चुनाव नै हो । यसमा नेतृत्व तह इमान्दार भयो भने राजपा मजबुत रहन्छ र तराईमा सफल पार्टी हुन्छ ।
राजपा सरकारमा सहभागी हुने सम्भावना कत्तिको छ ?
हामी सरकारमा जाने कुने सम्भावना छैन । हामीले उठाउँदै आएका मुद्दा सम्बोधन नभएसम्म सरकारमा जाँदैनौं ।
राजपामा एकपक्षले त सरकारमा जानुपर्छ भनेको छ । फेरि सरकारमा जाने र उम्मेदवारको विषयलाई लिएर राजपामा फूट आउने हो कि भनेर आशंका गर्नेहरु धेरै छन् नि ?
राजपा फुट्नको लागि एकता भएको हैन । जुटेर तराईको एक नम्बर पार्टी हुने र मधेशी नागरिकलाई अधिकार सम्पन्न गराउनको लागि एक भएका कारण राजपामा फुट आउँदैन ।

Share.

Leave A Reply