राजदूत सुन्दास र बहराइनका श्रममन्त्रीबिच भेटवार्ता

0

काठमाडाैं, मंसिर २० – बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले त्यहाँका श्रम तथा सामाजिक मन्त्री जमिल बिन मोहम्द अली हमाइदानसँग उहाँकै वेस्ट टावरस्थित कार्यकक्षमा भेटवार्ता गर्नुभयो ।

भेटकाे अवसरमा मन्त्री हमाइदानले बहराइनले श्रम तथा सामाजिक विकासको सम्बन्धमा लिएको नीति तथा अभ्यासमाथि प्रकाश पार्नुभएको मनामास्थित नेपाली दूतावासले जनाएको छ ।

सोमबार भएको भेटका क्रममा मन्त्री हमाइदानले बहराइन ‘गल्फ अरबियन’ राष्ट्रहरूमा कुनै पनि विभेद अन्त्य गर्ने मामिलामा नमूना राष्ट्रका रूपमा स्थापित हुने प्रयासमा रहेको जानकारी दिनुभयो । बहराइनले प्रत्येक व्यक्तिले सम्मानजनक व्यवहार पाउनुपर्छ भन्ने प्रत्याभूति गर्न चाहिरहेको उहाँको भनाइ छ । त्यसैगरी उहाँले बहराइन श्रम अधिकारको संरक्षण गर्न पनि प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

राजदूत सुन्दासले बहराइनले त्यहाँ रहेका नेपाली नागरिकप्रति देखाएको सहयोग र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै दुई राष्ट्रबीच सन् २००८ मा श्रमसम्बन्धी भएको सहमति पत्रलाई अद्यावधिक तथा समयानुकूल संशोधन गर्न प्रस्ताव गर्नुभयो ।

राजदूत सुन्दासले दुई देशबीच श्रमसम्बन्धी संयुक्त प्राविधिक समिति गठनका लागिसमेत प्रस्ताव गर्नुभयो । भेटमा दूतावासका उपप्रमुख खगराज पाण्डेय र श्रम सहचारी जगदीशचन्द्र शिवाकोटीको पनि उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply