रङ हराएको रंगेलीः यसरी भयो गुलजारबाट गुमनाम !

0

२ पुस, विराटनगर । बढ्दो जनसंख्यासँगै प्रायजसो स्थानमा बस्ती बाक्लिँदै जान्छ । गाउँ, बजारमा परिणत हुन्छ । सानो बजार बिस्तार हुँदै जान्छ । बढ्दो आवादीसँगै सुविधाहरु पनि थपिँदै जान्छन् । मानिसहरु पनि सुविधा खोज्दै त्यहीँ आइपुग्छन् । तर मोरङको पुरानो सदरमुकाम रंगेलीको अवस्था फरक छ । रंगेलीको ‘रङ्ग’ हराउँदै जान थालेको छ ।

कुनै समय गुलजार बजारको परिचय बनाएको मोरङको पुरानो सदरमुकाम रंगेली अहिले प्रायः गुमनाम छ । मानिसहरुले थातथलो छाड्दै गएका छन् । व्यापारीहरु पनि स्थानान्तरण भएका छन् ।

रंगेली क्षेत्र पछिल्लो समयसम्म आइपुग्दा आर्थिक र सामाजिक रुपमा पछि पर्दै आएको छ । त्यस क्षेत्रमा रहेका पुराना उद्योगधन्दा पूर्णरुपमा बन्द भइसकेका छन् । व्यापार व्यावसाय ओरालो लागेसँगै धेरै व्यापारीहरु अन्यत्र स्थानान्तरण भएका छन् ।

विराटनगरबाट २२ किलोमिटर पूर्वमा पर्ने रंगेली विकासको दौडमा सधैं पछि पर्दै आयो । कुनै समय पूर्वी नेपालको मुख्य व्यापारिक केन्द्र बनेको रंगेलीको आकार बढ्नुको सट्टा अहिले झन् खुम्चिने क्रममा छ ।

रंगेलीको कुनै समय मोरङसँगै झापा र सुनसरीको भूगोलसँग पनि सम्वन्ध जोडिएको थियो । १०३ वर्ष अघि मोरङ जिल्लामा मोरङ, सुनसरी र झापा थिए । सदरमुकाम समेत रंगेली नै थियो । तर जब सदरमुकाम विराटनगर सर्‍यो विस्तारै रंगेली सुनसान हुन थाल्यो ।

रंगेलीमा लामो समयदेखि बसोबास गर्दै आएका स्थानीय समाजसेवी सुरेश मिश्र दक्षिणी भेगको शहर रंगेलीले इतिहासमा स्वर्णीम नाम बनाएको भएपनि अहिले मणी हराएको सर्प जस्तै बनेको बताउँछन् ।

विक्रम् संवत् १९७१ सालमा रंगेलीबाट सदरमुकाम विराटनगर सारिएको थियो । सदरमुकाम विराटनगर सारेर रंगेलीलाई रसातलमा पुर्‍याइएको रंगेलीबासीको गुनासो छ ।

समाजसेवी मिश्र विगतलाई स्मरण गर्दै भन्छन् ‘गुलजार रंगेलीबाट सदरमुकाम विराटनगर सरेपछि रंगेली सबै कुराबाट पछि पर्‍यो, भौतिक पूर्वाधारसँगै आर्थिक गतिविधि पनि एक प्रकारले अहिले शून्यको अवस्थामा झर्‍यो । त्यसपछिका दिनमा रंगेली औंसीको रात जस्तै बनेको छ, सधैं अँध्यारो, चम्किन सकेको छैन ।’

उनले जिल्लाको सदरमुकाम सरेपछि रंगेलीको विकास प्रयासमा राज्यले समेत बेवास्ता गर्दै आएको बताए ।

स्थानीय अगुवा मंगलचन्द अग्रवालसँग पनि विकासमा पछि परेपछि रंगेली खण्डहर जस्तै हुन लागेको अनुभव छ । उनी भन्छन्, ‘सदरमुकाम विराटनगरमा सारिएपछि रंगेलीमा विकास कार्यहरु रसातलमा पुगेको छ ।’

चार पुस्तादेखि रंगेलीको व्यापार धानेको परिवारका सदस्य समेत रहेका ६८ वर्षीय अग्रवाल स्मरण गर्छन्, ‘सदरमुकाम रहँदा हुलाकी राजमार्गले छोएको रंगेली बजार पूर्वको व्यापारिक केन्द्र थियो । तर अहिले विकासको दौडमा पछि परिरहेको छ ।’

फ्लासब्याक रंगेली 

भारतको सीमाभन्दा चार किलोमिटर उत्तरको रंगेली सदरमुकाम गएको ७० वर्षपछिसम्म पनि मोरङको दोस्रो ठूलो बजार थियो । त्यसबेला भारतको फारबेसगञ्जबाट पूर्वमा स्थापना भएका साना-ठूला उद्योगका लागि कच्चा पदार्थ रंगेलीको बाटो भएर आयात हुने गरेको थियो । त्यसबेला सबै सरकारी कार्यालय पनि रंगेलीमा रहेका थिए ।

स्थानीयका अनुसार ०१७ सालतिर रंगेलीमा पाँच वटा ठूल्ठूला राइस मील थिए । त्यहाँबाट नेपालका सबै ठाउँ र भारतमा समेत चामल लैजाने गरिन्थ्यो । तर अहिले त्यो अतीतमा सीमित बन्न पुगेको छ ।

स्थानीय समाजसेवी सुरेश मिश्रका अनुसार ३० वर्ष अघिसम्म धान, मकै र सनपाट बिक्रीका लागि झापा र मोरङका किसान रंगेली पुग्थे । तर, पूर्व-पश्चिम राजमार्ग बनेपछि हुलाकी राजमार्ग ओझेलमा परेर व्यापार हराउँदै गयो । आसपासका गाविसहरुमा बजार पनि विस्तार हुँदै गएपछि रंगेली पूरै सुनसान हुन थाल्यो ।

‘यहाँका व्यापारीहरु विराटनगर, वीरगञ्ज र काठमाडौंतिर गए, यहाँ लगानीकर्ताको अभाव हुन थाल्यो,’ मिश्र भन्छन् ।

यस्तो छ इतिहास

वि.सं. १९२७ सालमा मोरङ जिल्लाको सदरमुकाम विजयपुरबाट सारेर रंगेलीमा ल्याइएको इतिहास छ । रंगेलीबाट १९७२ सालमा सदरमुकाम फेरि विराटनगरमा सारियो ।

बूढापाकाहरूका अनुसार सदरमुकाम कायम भएपछि मात्र विराटनगरमा विस्तारै मानिस बस्ने क्रम बढेको र बस्ती विकासले गति लिएको हो । त्यसभन्दा अघिको समयमा औलोको डरले मानिस विराटनगर बस्न रुचाउँदैनथे ।

पहिले गाउँपञ्चायत रहेको विराटनगर ००८ सालमा नगरपालिका घोषणा भएको थियो । त्यसपछि चमत्कारिक रुपमा विराटनगरमा विकास भएको हो । नयाँ सदरमुकाम विराटनगर महानगरपालिका घोषणा भइसकेको छ भने पुरानो सदरमुकाम रंगेली नगरपालिकामा सीमित छ ।

कसले सार्‍यो सदरमुकाम ?

विराटनगरबाट २२ किलोमिटर पूर्वमा रंगेली बजार पर्दछ । जापान सरकारको सहयोगमा १० वर्ष अघि विराटनगरबाट उर्लाबारी जोड्ने दक्षिणी क्षेत्रको सडक निर्माण भए पश्चात रंगेलीबासीको आहतमा केही भएपनि राहत भने मिलेको छ ।

तत्कालीन समयमा दक्षिणी सीमावर्ती भारतको शहर जोगवनीसम्म रेलसेवा सञ्चालन भएको र भारतसँग व्यापार व्यवसाय गर्न सजिलो हुने मनसायले रंगेलीबाट विराटनगर तत्कालिन समयमा सारिएको जानकारहरु बताउँछन् ।

रंगेलीबाट सदरमुकाम विराटनगर सार्न त्यसबेला कृष्णप्रसाद कोइराला, सुब्बा गुञ्जमान, डिठ्ठा कृष्णराज, हनुमानदास श्रेष्ठ, सुब्बा कालीदास, सुवेदार अनन्तराम लगायतको मुख्य योगदान रहेको पुराना दस्तावेजहरुमा पढ्न सकिन्छ ।

Share.

Leave A Reply