यस वर्ष ५४ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान

0

यस वर्ष ५४ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमानकाठमाडौँ, असोज १९ – यस वर्ष गएको वर्षभन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको छ । कृषि विकास मन्त्रालयले पोहोरको भन्दा बढी ५४ लाख मेट्रिक टन धान उत्पादन हुने बताएको हो । पोहोर साल सबैभन्दा बढी ५२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।

‘यस वर्ष तराईमा बाढी आएपनि बाढीसँगै आएको मलिलो माटो धानबालीमा पसेकाले त्यसले धान उत्पादन बढ्ने अनुमान गरेका छौँ’ कृषि विकास मन्त्रालयका सूचना अधिकृत मणिरत्न अर्यालले भन्नुभयो ‘पोहोरभन्दा दुई लाख बढी धान उत्पादन भएर ५४ लाख मेट्रिक टन पुग्ने अनुमान गरेका छौँ ।’

बाढीले क्षतिजत्तिकै फाइदा, ममिलो माटो खेतमा !

साउन २८ गते आएको अविरल बर्षाले प्रदेश नम्बर २ का सिराहा, सप्तरी, सुनसरी, महोत्तरी लगायतका जिल्लामा लगाइएको धानबाली बाढीले बगाएको थियो । मन्त्रालयका सुचना अधिकारी अर्यालका अनुसार त्यतिबेलासम्म देशभर ७८ प्रतिशत मात्रै धान रोपिएको थियो ।

तर त्यसपछि आएको पानीले धान रोपाईमा ठूलो सहयोग पुगेको अर्यालको दाबी छ । रोपिएको धानबालीमा बाढीसँगै आएको मलिलो माटो खेतमा पसेपछि धान हुर्किन र बढ्नमा सहयोग पुगेको हो ।

‘शुरुमा आएको पानीले धान रोपियो मात्रै । तर त्यसपछि आएको पानीले धानलाई चाहिने पानी पर्याप्त मात्रामा पुग्यो । यसले पोहोरको भन्दा यस वर्ष राम्रो धान उत्पादन हुने देखिएको छ ।’ अर्यालले भन्नुभयो ।

पोहोर सबैभन्दा बढी ५२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो भने ९० प्रतिशत अर्थात १५ लाख हेक्टर क्षेत्रफल जमिनमा धान रोपाई भएको थियो । यस वर्ष बाढीसँगसँगै आएको पानीले गत वर्षकै हाराहारीमा धान रोपाई भएको हो । पोहोर सबैभन्दा बढी झापा, मोरङ, कैलाली, बारा लगायतका जिल्लामा बढी धान रोपाई भएको थियो ।

कहाँ कहाँ धान काट्न शुरु भयो ?

कैलालीका किसान यतिबेला धान काटेर चुट्न व्यस्त छन । असारको पहिलो हप्तामै धान रोपेका धेरै किसान हिजोआज धान काटेर सुकाउँदै चुट्न व्यस्त भएका हुन् । धान पाकेपछि पनि बिच बिचमा पानी पर्न थालेपछि पाकेको धान पनि गल्न सक्ने भएकाले धान काट्न शुरु गरेका उनीहरुले तिहारसम्म भित्रईसक्ने योजना समेत बनाएका छन ।
रोप्दादेखि नै पर्न थालेको पानी धान पाकिसक्दा पनि नरोकिएपछि यस वर्ष पोहोरको जस्तो धान नफलेको कैलाली धनगढीकी राधिका केसीले बताउनुभयो । ‘यस बर्ष समयमै धान रोपेका थियौँ । तर धान पाक्नेबेला पनि पानी परेपछि धान पोहोरको जस्तो धेरै उत्पादन होला जस्तो लागेको छैन’ उहाँले भन्नुभयो ।

कैलालीसँगै कञ्चनपुर, सुर्खेत, बाँके, बर्दिया लगायतका जिल्लामा पनि धान काट्न शुरु भएको छ । शुरु नभएका ठाउँमा अबको एक दुई हप्ताभित्र काट्न शुरु गर्ने किसानको योजना छ ।

मध्य र पश्चिम नेपालमा धान पसाउँदै

रुपन्देही, कपिलबस्तु, चितवन लगायतका जिल्लामा अहिले धान पसाउन लागेको छ । समयमै पानी नपरेपछि ढिलो रोपिएको धान ढिला पाक्ने भएकाले एक दुई हप्तापछि मात्र धान काट्न शुरु गरिने कपिलबस्तुका किसान अब्दुल सलामले बताउनुभयो ।

‘अहिले नै धान काट्ने बेला भइसकेको छैन । भर्खर पसाउन लागेको छ । अबको चौध पन्ध्र दिनपछि धान काट्न शुरु गर्छौ होला ।’ उहाँले भन्नुभयो ।

पूर्वी नेपालमा असोज मशान्तसम्म शुरु हुने

पूर्वी नेपालका झापा, सुनसरी लगायतका जिल्लामा पनि धान काट्न शुरु हुँदैछ । तर अहिले नै काट्ने बेला नभएको किसानको भनाई छ । धान पसाएर पाक्न लागेकाले अबको एक हप्तापछि धान काट्न शुरु हुने किसान मिनु राईले बताउनुभयो । ‘काटिसक्ने बेला भइसकेको छैन । अबको एकहप्तापछि काट्ने बेला हुन्छ होला ।’ उहाँले भन्नुभयो ।

चुनावअघि नै धान काटेर भित्र्याईसक्ने लक्ष्य !

असोज महिनामा धान काट्ने र कात्तिक महिनामा घरमा भित्र्याएर मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनाव भोट हाल्ने किसानको योजना छ । चुनावमा आफु निकटका दल र उम्मेद्वारलाई भोट माग्ने र सहयोग गर्न भ्याई नभ्याई हुने भएकाले त्यसअघि नै धान काटिसक्ने योजना झापाकी किसान मीनु राईको छ ।

‘चुनावमा घरको काम गर्न भ्याईदैन । चुनावमा सबै पार्टी र नेताको पछि लाग्ने भएकाले घरको काम गर्ने कोही हुदैन् । त्यसैले अहिले कात्तिक महिनासम्म धान काटेर भित्र्याईसक्ने लक्ष्य छ ।’ उहाँले भन्नुभयो ।

धान काट्दा र भित्र्याउँदा के के कुरामा ध्यान दिने ?

बर्षातको बेला धान रोप्नदेखि गोडमेल गर्न दुःख गरेजत्तिकै पाकेको धान काट्न र भित्र्याउन पनि विचार गर्नुपर्छ । खेतमा धेरै दुःख गरी रोपिएको धानबालीको स्याहार सुसारसँगै धान काट्दा पाके नपाकेको राम्ररी थाहा पाउन र भित्र्याउन विशेष ध्यान दिनुपर्ने नेपाल कृषि अनुसन्धान परिषद नार्कका धान बाली विशेषज्ञ हरिकृष्ण उप्रेति बताउनुहुन्छ ।

‘धान पाकेको छ की छैन ? सबैभन्दा पहिला त्यो थाहा पाउनुपर्छ । धान पाकेको छ भने काट्नुपर्छ । नभए राम्ररी पाक्न दिनुपर्छ ।’ उहाँले भन्नुभयो ।

पाकेको धान दाँतले टोक्दा आवाज आउँछ । यदि पाकेको छैन् भने आवाज आउँदैन । पाकेको धानको गेडा पोटिलो हुन्छ भने त्यो बिउका लागि पनि उत्तम र विक्रीका लागि पनि राम्रो हुन्छ । त्यसको भात पनि उत्तिकै मिठो हुन्छ । तर भात पाकेको छैन् भने भात पनि मिठो हुदैन् चामल पनि टुक्रिएर कनिका मात्रै हुन्छ ।

त्यसैले धान पाके नपाकेको राम्ररी जाँचेर मात्रै काट्नुपर्छ । धान पाकेको छ भने खेतमा रहेको पानी खोलिदिनुपर्छ । अर्थात तिन चार दिन पहिला नै धानखेतलाई सुख्खा बनाउनुपर्छ । यसले धानको बालाई पाक्न सहयोग गर्छ र गेडा पनि पोटिलो हुन्छ ।

(झापाबाट गोपाल गड्तौला, कपिलवस्तुबाट गोपाल भण्डारी र कैलालीबाट नवराज पनेरुको सहयोगमा)

Share.

Leave A Reply