मूर्ति व्यवसायमा दोस्रो विश्वयुद्धपछिकै ठूलो नोक्सानी

0

१२ मंसिर, काठमाडौं । पाटन चाकुपाटका ५५ वर्षीय सुरेन्द्र शाक्यले मूर्ति कुँद्न थालेको ४७ वर्ष भयो । अचेल उनी फुर्सदिला भएका छन् । त्यसको कारण हो, इतिहासमै पहिलो पटक मूर्ति व्यवसायमा भएको नोक्सानी ।

गफगाफ गर्दै मन भुलाउन उनी पाटनका मूर्ति पसलहरु चहार्छन् । त्यसक्रममा भेटिने अन्य व्यवसायीमा पनि चर्को निराशा छ । किनभने, कुँदिएका मूर्ति बिक्री हुनै छाडेका छन् ।

तीन वर्ष अघिसम्म सबै ठीकठाक थियो । मूर्ति कुँद्न भ्याइनभ्याइ हुन्थ्यो, उनीहरुलाई । त्यसरी कुँदिएका मूर्ति चीन निर्यात हुन्थे । चिनियाँहरुको माग नेपाली व्यवसायीको क्षमताभन्दा बढी हुन्थ्यो ।

शाक्य भन्छन्, ‘एउटा ठूलो मूर्ति बनाउन ६ महिना लाग्छ । चिनियाँहरुले एक महिनामै ६ वटा मूर्ति पठाऊ भन्थे ।’

आठ वर्षको उमेरदेखि नै मूर्ति कुँद्न थालेका शाक्यले व्यवसायमा दोस्रो विश्वयुद्धयता पहिलो पटक गिरावट महशुस गरेका छन् । त्यतिबेला युद्ध सकिएपछि व्यवसायमा सुधार आएको थियो ।

हजुरबालाई सघाउँदा सघाउँदै उनी पनि मूर्ति कुँद्ने बने । पछि त त्यो आदतकै रुपमा प्रकट भयो ।

मूर्तिको माग नै नभएको अहिले पनि उनका हात चल्मलाउँछन् । उनलाई त्यसको विकल्प सुझेको छ, तयार भइसकेका मूर्तिमा बुट्टा भर्ने । बुट्टा भरेरै दिन कटाउँछन्, उनी आजकाल ।

नेपालमा उत्पादित मूर्तिहरुको मूख्य बजार चीन हो । त्यसपछि युरोपेली मुलुक, म्यानमार, जापान र भुटान निर्यात हुन्छन् ।

आर्थिक वर्ष ०७३/७४ मा नेपालबाट ४६ करोड रुपैयाँका मूर्ति निर्यात भएका थिए । त्यसमध्ये ३६ करोडका मूर्ति चीन पुगेका थिए ।

 व्यवसायीले टासी नामका चिनियाँलाई बिनाबिल सामान जिम्मा लगाए, कर छल्ने उद्देश्यले गरेको कारोबारले टाट पल्टायो

व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका अनुसार आव ०७२/७३ मा ५१ करोडका मूर्ति निर्यात भएका थिए । उक्त तथ्यांकले दुई वर्षयता नेपाली मूर्ति निर्यातमा कमि आएको देखाउँछ ।

विनासकारी भूकम्पयता तातोपानी नाका बन्द छ । उक्त नाका सञ्चालनका लागि चीन सरकारले चासो दिएको छैन । नेपाली मूर्ति व्यवसायमा गिरावट आउनुको एक कारण हो यो ।

त्यसअघि तिब्बती व्यापारीहरु काठमाडौं मूर्ति खरिद गर्थे । र, तातोपानी नाकामा ‘सेटिङ’ मिलाएर चिनियाँ भूमिमा पुर्‍याउँथे ।

भन्सार महशुल बझाउनु नपर्दा चीनमा उत्पादितभन्दा नेपाली मूर्तिको दाम सस्तो पर्न जान्थ्यो । सोही कारण चिनियाँ व्यापारीले नेपालबाट आयात गर्थे ।

तातोपानी नाका बन्द भएसँगै चिनियाँ व्यापारीको नेपाल प्रवेश र नाकामा मिलाइने सेटिङ पनि बन्द हुन पुग्यो ।

अशोका हेन्डिक्राफ्टका सञ्चालक निरञ्जन शाक्यका अनुसार केही व्यापारी रसुवागढी नाका हुुँदै गत वर्षसम्म पनि नेपाल आइरहेका थिए । रसुवामा भने सेटिङ मिलाउन सहज नभएको र भन्सार महशुल तिर्नुपर्दा नेपाली मूर्ति महँगो हुन थाले ।

सोही कारण चीनमा उत्पादितभन्दा नेपाली मूर्ति महँगो पर्न थाले । र, उताका व्यापारीको काठमाडौं आउजाउ पातलियो ।

 भूकम्पपछि तातोपानी नाका बन्द हुनु पनि नेपाली मूर्ति व्यवसाय सुस्त हुनुको एक कारण हो

टाट पल्टिने अवस्था आएपछि केही मूर्तिकारले व्यवसाय परिवर्तन गरिसकेका छन् । केहीका लागि भने यो ‘निल्नु न ओकल्नु’झैं भएको छ ।

पाटन बालिफलका व्यवसायी सानु महर्जनले होराइजन ह्यान्डिक्राफ्ट सञ्चालन गरेको पाँच वर्ष बित्यो । यस वर्षजस्तो गिरावट कहिल्यै देखेका थिएनन् ।

महर्जन भन्छन्, ‘पसलभरि मूर्ति छन्, खरिद गर्ने कोही आउँदैन । व्यापारी आउने आशामा बसेको महिनौं बित्यो ।’ पसलको भाडा तिर्न धौधौ परेको उनी बताउँछन् ।

कामदारका रुपमा मूर्ति कुँद्न थालेका उनले चार वर्षपछि आफ्नै व्यवसाय थालेका थिए । र, पाँच वर्षअघि होराइजन ह्यान्डिक्राफ्ट सञ्चालनमा ल्याएका थिए ।

व्यवसायमा संकटका कारण उनको प्रगतिको ढोका बन्द भएको छ । भन्छन्, ‘अचेल त यसले न खान दिएको छ, न त चैन । छाडौं भने मन मान्दैन ।’

१७ करोडका मूर्तिसहित चिनियाँ व्यापारी फरार

नेपाली मूर्ति व्यवसायमा गिरावट आउनुको कारण अर्कै छ । त्यो हो, १७ करोडका मूर्ति उठाएर फरार भएका एक चिनियाँ व्यापारी ।

गत जेठ पहिलो साता टासी नाम बताउने ती व्यापारीले ललितपुर र काठमाडौंका १५ ठूला व्यवसायीको १७ करोड रुपैयाँका मूर्ति उठाएर चीन पुर्‍याए । ठूला व्यवसायीले साना व्यवसायीहरुबाट पनि मूर्ति लिएर ती व्यापारीको जिम्मा लगाए ।

त्यसअघि आउजाउ गरिरहने, सामान लिएर अनि बिक्री गरेपछि फर्किने टासी त्यसपछि भने र्फकेका छैनन् । व्यवसायीहरुका अनुसार उनी अहिले सम्पर्कविहीन छन् ।

हस्तकला महासंघका एक पदाधिकारीका अनुसार मूर्ति व्यवसायीले उनलाई बिनाबिल सामान जिम्मा लगाएका थिए । कर छल्ने उद्देश्यले गरेको कारोबारले अहिले उनीहरुलाई डुबाएको छ ।

त्यस अघिसम्म मूर्ति बिक्री भइसकेपछि भुक्तानी लिने गरेका थिए, नेपाली व्यवसायीले । टासीले त्यसैको फाइदा उठाए । पहिलेझैं बिक्री भएपछि भुक्तानी पाउने आशामा नेपाली व्यवसायीले बिनाभुक्तानी टासीलाई मूर्ति जिम्मा लगाए । जबकि, तिनको वास्तविक नाम र ठेगाना पनि थाहा छैन, उनीहरुलाई ।

बिल नै नभएकाले उनीहरुसँग अहिले दाबी गर्ने कुनै प्रमाण उपलब्ध छैन, जसका कारण यस प्रकरणलाई गुपचुप राखिएको छ ।

ती व्यापारीले मूर्ति लिएर गएको सात महिना बित्यो, ६ महिनादेखि मूर्ति बिक्री हुन छाडेको छ । भूकम्पका कारण सुस्ताएको व्यापार जेठयता ठप्प बनेको छ ।

कतिपय मूर्तिकार त चीनमै रोजगारी खोज्दै पुगेका छन् । नेपाली कालीगढले चीनमा न्यूनतम ८० हजार रुपैयाँ मासिक तलब पाउँछन् ।

विस्तारै उक्त व्यवसायको आयाम फेरिँदै छ । सात महिना अघिसम्म मूर्ति निर्यात हुन्थे, अब कामदार निर्यात हुन थालेका छन् ।

यही मौकामा अति सस्तोमा मूर्तिको माग हुन थालेको पनि छ, चीनबाट । नेपाली व्यवसायीलाई पैसा दिनु नपरेपछि टासीले सस्तो दाममा मूर्ति बिक्री गरिरहेकाले यता पनि सोही दाममा माग आउन थालेको हो ।

कतिसम्म भने ठूलो रकम ठगीमा परेका व्यवसायी अहिले कच्चापदार्थसमेत खरिद गर्न नसक्ने अवस्थामा छन् ।

हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्य भने खुद्रा व्यापारमा गिरावट आए पनि थोक कारोबार नघटेको दाबी गर्छन् । तर, धेरै कारखाना बन्द भइसकेका छन् ।

पाटनका ८० प्रतिशत बासिन्दाको आम्दानीको मुख्य स्रोत थियो, उक्त व्यवसाय ।

महासंघका अध्यक्ष शाक्यका अनुसार कालीगढले मैनको मूर्ति तयार पार्छन् । त्यसमा माटो लिपेपछि धातु हालिन्छ । धातुमा बुट्टा कोर्ने र सफा गरिन्छ । त्यसपछि सुनको जलप लगाइन्छ । र, अन्तिममा ‘फेस पेन्टिङ’ गरिन्छ ।

ती सबै कामका अलग-अलग कारखाना छन्, उपत्यकामा । र, ती सबैमा गरी ठूलो संख्यामा रोजगारी सिर्जना भएको थियो । अहिले कामदारको ज्यालासमेत तिर्न नसक्ने अवस्थामा छन्, व्यवसायी ।

Share.

Leave A Reply