मुढा बनाउने सीप सिक्दै मुसहर महिला

0

राजकरण महतो मंगलवार, बैशाख २६, २०७४

बर्दिबास : दिनहुँ जगलबाट दाउरा ल्याएर जीविको पार्जन गर्दै आएका महोत्तरीको बर्दिबासस्थित एकीकृत नमुना मुसहर बस्तीका महिला दिदीबहिनी मुढा बनाउने सीप सिक्न थालेका छन् । जंगल कटानी गर्दा वन विनास हुने र त्यसले मानव जीवनमा नकारात्मक असरपर्ने बारे बुझेपछि उनीहरू जंगल जान छाडेर मुढा बनाउने सीप सिक्न प्रेरित भएका हुन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नास्ट) को आयोजनामा मुसहर वस्तीमा पौरखी महिला दिदीबहिनीले मुढा बनाउने सीप सिकिरहेका छन् । नास्टको विज्ञान संकायले थालेको नमुना वैज्ञानिक गाउँ कार्यक्रमअन्र्तगत बाँसजन्य प्रविधि प्रशिक्षण कार्यक्रम मुसहर वस्तीमा सुरु गरिएको हो ।नास्टका वैज्ञानिक अधिकृत डा.तीर्थराज घिमिरे, लेखा अधिकृत नरेन्द्रकुमार सिंह र वरिष्ठ लेखा सहायक मनिता थापासहितको टोली बस्ती पुगेर सीप प्रशिक्षणको सुरुवात गरेका हुन्।

जंगलमा दाउरा पाउन छाडेपछि मुसहर बस्तीका स्थानीयको दैनिकी कष्टकर बन्दै गएको बेला आफू सीप सिक्न पाउँदा खुसी लागेको वस्तीकी ३५ वर्षीय प्रमिला सदाले बताउनुभयो । उहाँले भन्नुभयो,- ‘धुर्मुस-सुन्तली आएर हाम्रो गाउँ राम्रो बनाइदिनुभयो । अब हामी मुढा बनाएर गाउँ घुम्न आउने मानिसलाई मायाको चिनो भन्दै मुढा बिक्री गर्छौं ।’ मुसहर वस्ती अवलोकन गर्न दिनहुँ दुई सयभन्दा बढी मानिस टाढाटाढाबाट आउने गरेको बस्तकी ४० वर्षीय आशा सदाले बताउनुभयो ।

वैज्ञानिक डा.घिमिरेले नास्टमा भएका अनुसन्धानको उपलब्धि तथा नास्टमा नै अनुसन्धान गरेर बसिरहनुभएका वैज्ञानिक, प्राविधिक तथा इन्जिनियरको सल्लाह, सुझाव, र उपलब्धिलाई गाउँमा लगेर प्रयोग गर्ने र स्थानीय गाउँलेको आयआर्जन दिगो रूपमा बढाउने लक्ष्य लिएको बताउनुभयो ।मध्य पहाडी जिल्लाको काभ्रेको पोखरी नारायणस्थान याङ्बेल गाउँ र महोत्तरी जिल्लाको बर्दिबासस्थित मुसहर बस्तिलाई नास्टले नमुना वैज्ञानिक गाउँ बनाउन आफ्ना कार्यक्रम सुरु गरेको हो ।

Share.

Leave A Reply