मलेसियामा जेल परेर फर्केका बुद्धिमान गाउँमा रोजगारीका कुरा सिकाउँदै

0

सन्जिता देवकोटा/उज्यालो ।

काठमाडौं, कात्तिक ६ – सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ का बुद्धिमान रम्तेलको दिन गाउँ डुलेर बित्छ । गाउँ डुल्ने मात्र होइन, उहाँले गाउँको प्रत्येक घरको ढोकामा पुगेर वैदेशिक रोजगार बारेमा जानकारी दिनुहुन्छ । उहाँले भनेका कुरा धेरैले चाख मानेर सुन्छन् । कतिपयले चाँहि कस्तो गाउँ डुल्ने भनेर अनेक कुरा पनि भन्छन् ।

सय कडा ३६ का दरले ऋण काढेर विदेश उड्न लागेकाहरुलाई ‘सीप सिकेर मात्र जाउ नत्र मैले जस्तो दुःख पाउला’ भनेर बुद्धिमान आफूले मलेसियामा अवैधानिक भएर काम गर्दाको डर र तीन महिना विदेशको जेलमा बितेका दिनका बारेमा सुनाउनुहुन्छ ।

१२ कक्षा पास गरेका बुद्धिमान गाउँठाउँमा कुनै जागिर पाइएन भन्दै मलेसिया जानुभएको थियो । २२ महिना मलेसियामा बिताउँदा उहाँले बाँचेर फर्कने आश मार्नुभएको थियो ।

त्यही मलेसियाको दुःखले अहिले उहाँलाई गाउँमै गरिखाने बनाएको छ । भन्नुहुन्छ, ‘भोको पेट र एकसरो लुगामा सिमेन्ट प्लाष्टर गरिएको भुँईमा निदाउनु पर्दाको पीडाले आर्थिक रुपमा कसरी मजबुद हुने भन्ने सिकायो ।’

बुद्धिमानको भोगाई उहाँकै शब्दमा

गाउँका सबैजना विदेश जाने भन्थे । धेरैजना कमाएर फर्किएका पनि थिए । फर्कनेले विदेशको बारेमा निकै राम्रो कुरा सुनाउँथे । कमाइ पनि नेपालमा भन्दा धेरै हुन्छ भनेपछि मलाई पनि विदेश जान रहर लाग्यो ।

नत्र त्यो भन्दा अघि मेरो विदेश जाने सोचै थिएन । मेरो परिवारमा जागिरे कोही पनि छैनन् । त्यसैपनि मलाई जागिर खान मन थियो । बुवाआमाले बनिबुतो गरेर कमाएको पैसाले कति पुग्थ्यो र । चाडबाड आउदा सधै ऋण काढ्नु पथ्र्यो ।

बुवाआमाको यो अवस्था देख्दा मलाई कहिले दुईचार पैसा कमाउन सक्ने हुनु जस्तो लाग्थ्यो । १२ कक्षा पास गरें । जागिर लागाइदिने कोही भएनन् । ठूलाबडाले नभन्दिएसम्म जागिर पाइएन ।

यस्तो अवस्थामा साथीले विदेशको बारेमा सुनाए पछि मैले विदेश जाने निधो गरें । विदेश जानका लागि म्यानपावरमा बुझ्दा मलेसियामा चाइनिज होटलमा काम र कमाइ राम्रो हुन्छ भने । वेटरको काम भनेका थिए । मासिक ८५० रिगिंट तलव हुने सम्झौता पनि भयो ।

त्यसका लागि मैले दलाललाई एक लाख १० हजार रुपैयाँ बुझाएँ । काठमाडौं आउजाउ गर्दा, मेडिकल गर्दा, अभिमुखिकरण तालिम लगायत सबै काम सक्दा खर्च एकलाख ५० हजार रुपैयाँ पुगेको थियो । घरबाट एक रुपैयाँ पनि निकाल्न सक्ने अवस्था थिएन । सबै पैसा ऋण काढेरै चलाएको थिएँ ।

२०६९ कात्तिकमा मलेसिया पुगें । मलेसिया पुग्दासम्म मलाई कमाउँला, ऋण तिरौंला अनी भविष्यका लागि दुईचार पैसा जोगाउँला भन्ने लागेको थियो । यतिधेरै सपनाको भारी बोकेर परदेशिएको थिएँ । तर मेरो सपना फक्रन पाएन । भनेको होटलमा काम पाइन ।

जे भएपनि देश छाडेर परदेश आइसकेको थिएँ । काम गर्नै पर्‍यो । जब महिना मर्‍यो त्यसपछि हातमा पर्‍यो ५ सय रिगिंट । म त छाँगाबाट खसे झैं भएँ । ५ सयबाट पनि खाना र बसेको रकम कटाउने बतायो । त्यसपछि मैले बोससँग कुरा गरे ।

उसले ५ सय भन्दा बढी नपाउने नै बतायो । सम्झौतामा ८५० पाउने लेखिएको भए पनि त्यसो भएन । मैले मलेसियामै रहेका नेपाली दलाललाई फोन गरे । उनले मेरो कम्पनीका बोससँग कुरा गरे । त्यसपछि त झन दलाललाई सबैकुरा सुनायो भन्दै बोसले मलाई यातना दिने थाले ।

मलाई कम्पनीबाट नेपाल फर्कादिने भयो । मलेसिया पुगेको ३ महिना मात्र पुगेको थियो । डेढ लाख रुपैयाँ ऋण काढेर गएको मान्छे कसरी एक रुपैयाँ पनि नतिरी घर फर्कनु । मैले मिल्ने भए केही समय यतै काम गर्छु भनेर दलालसँग कुरा गरें । उनले मलाई सुपरमार्केटमा सेक्युरिटी गार्डको काम लगाइदिए ।

एक वर्षको भिसा हो भनेका थिए । मलाई त्यसको बारेमा खासै जानकारी थिएन । काम गर्न थालें । मासिक १३ सय ५० रिगिंट तलव थियो । ऋण तिर्न पाउने भइयो भनेर म खुसी भएँ । एक वर्ष बित्यो । दलाललाई मिल्ने भए अरु एक वर्षको भिसा थप्दिन भने । तर उसले ‘मलाई तिमी त अवैधानिक भएको छौ’ भन्यो । मलाई त करेन्ट लागे जस्तो भयो । के गर्ने मैले त त्यो समयमा सोच्नै सकिन ।

मैले काम गर्ने ठाउँमा अरु पनि थुप्रै साथीहरु अवैधानिक भएर काम गरिरहेका थिए । मैले पनि काम गर्ने निधो गरे । तर त्यसपछि काम गर्दा ढुक्क भएर काम गर्न पाइएन । काममा जाँदा हिँडेर जानु पथ्र्याे । बाटोमा पुलिस देख्दा मनमा चिसो पस्थ्यो । ड्युटीमै हुँदा पनि इमिग्रेसनको गाडीको आवाज सुनेपछि साह्रै डर लाग्थ्यो ।

सधै झैं ड्युटीमै थिएँ । दुईजना मान्छे आए । डिर्पाटमेन्टमा धेरै मान्छे आए पनि उनीहरु अलिक फरक लाग्यो । के को लागि आउनुभयो भनेर सोधें । एकले भने, ‘मेरो कार हरायो, साथी आउदै छ पख,’ मैले उसको कुराको निधो पाइन । आफ्नो काम गरिरहें ।

एकैछिनमा उसले मलाई च्याप्प समायो अनी ‘तेरो पासपोर्ट खोइ’ भन्यो । म त लल्याकलुलुक भएँ । हामी इमिग्रेसनबाट आएका हौ भने । उनीहरु नचिनिने गरी आएका थिए । साधारण पोशाकमा आएकाले पनि मैले उनीहरु इमिग्रेसनका मानिस होलान भनेर शंका गरिन ।

दूतावासबाट नेपाल फर्कने प्रक्रिया त भैरहेको थियो । त्यही दिन तलव बुझ्ने दिन थियो । भोलिपल्ट घरमा पैसा पठाउँछु भनेर फोन पनि गरेको थिए । के गर्नु मलाई उनीहरुले समातेर लगे ।

न घरमा जानकारी गराउन पाएँ, न त महिनाभरको पसिना बुझ्न पाएँ । तीन महिना जेल परे । जेलमा कैदी लुगा लगाउन पथ्र्यो । सुत्ने ओछ्यान, ओड्ने केही थिएन । त्यही ड्रेसको भरमा तीन महिना बित्यो । पानीसम्म शुद्ध खान पाइएन । बिहान बेलुका तीनसय ग्राम खाना दिन्थ्यो ।

घरमा छोरो हरायो भनेर कति चिन्ता पर्‍यो होला । फोन गर्न पाइदैन थियो । त्यो बेला साह्रै पीडा हुने । तीन महिना पछि घरफिर्ती केन्द्रमा पुग्दा त अब बाँचे जस्तो लाग्यो । पिञ्जडाबाट फुत्केको सुगा झैं उड्न मन लाग्यो । घर फर्कन पनि पालो कुर्नु पर्ने के गर्नु ।

केन्द्रबाट दिनहुँ केही न कोही फर्कन्थे । उनीहरुलाई मेरो बारेमा भन्दिनु है भन्दै साबुनले घरको नम्बर लुगामा लेखेर दिन्थे । उनीहरुले भन्दिए या भन्दिएनन् त्यो पनि थाहा नहुने । तर फर्कने जति सबैलाई त्यसैगरी लेखेर पठाउँथे ।

मेरो पनि पालो आयो । प्लेन चढ्दा त छाती फुलेर ठूलो भयो । साँच्चै बाँचेको अनुभव भयो । मैले मलेसियामा २२ महिना बिताएँ । विदेशको बारेमा नबुझि जादा साह्रै दुःख पाइदो रैछ । आफ्नो हातमा सीप नभएपछि के गर्नुथियो र ।

विदेशबाट फर्केपछि अहिले म वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन (सामी) परियोजनामा रिटर्नी भोलेन्टियरको रुपमा काम गरिरहेको छु । काम गरेर तलव धेरै नपाए पनि आफूले पाएको दुःख बाँडेर अरुलाई जोखिमबाट बचाउन पाउँदा एकदमै खुसी लाग्छ । अब विस्तारै व्यवसायिक जुनार खेती गर्ने योजना पनि बनाएको छु ।

Share.

Leave A Reply