मलेसियामा इन्द्रकुमारले कुकुरको मासु खान नसकेपछि

0

समिताकुमारी तामाङ/धनुषा ।

असोज १९ – मलेसिया पुगेको हप्तादिनभित्रै धनुषाका इन्द्रकुमार झाले काम पाउनुभयो तर काम गर्न जान्नुभएन । कारण न त कहिले त्यस्तो मासु देख्नुभएको थियो न त खानु नै भएको थियो । त्यसैले काम गर्न समस्या पर्‍यो ।

काम गर्न गएको होटलमा कुकुर, सर्प, बिरोलो र सुँगुरको मासु पकाउनु पर्ने अनि होटलले त्यही मासु खुवाउने भएपछि धनुषाको नगराईन नगरपालिका ५ का इन्द्रकुमार टिक्नै नसक्ने अवस्थामा पुग्नुभयो ।

गएको साउनको दोस्रो हप्ता इन्द्रकुमार मलेसिया जानुभएको हो । त्यो पनि साथीहरु गएको देखेपछि । एसएलसी पास गरेपछि पढाइ छोडेका इन्द्रकुमारका साथी विदेश जाने क्रम बढेपछि उहाँले विदेश जाने निर्णय गर्नुभयो । मलेसियाको म्यापल वेष्ट एसडीएन बिएचडीमा कुकको काममा जान तयार हुनुभयो ।

एक लाख १५ हजार रुपैयाँ लिएका एजेण्टले महिनाको एक हजार रिगिंट अर्थात २४ हजार रुपैयाँ भन्दा धेरै हुने बताएका थिए । मेडिकल गर्दाको खर्च, कल्याणकारी कोषमा जम्मा गर्ने अनि बीमा गर्नै पैसा छुट्टै तिराए एजेण्टले ।

पैसा सरकारले तोकेको भन्दा धेरै खर्च भएपनि इन्द्रकुमार कमाई हुनेमा ढुक्क हुनुुहुन्थ्यो । त्यसैले कमाउने आशा बोकेर मलेसिया पुग्नुभयो । पुगेको ७ दिन पनि नपुग्दै काम पनि पाउनुभयो । नेपालमा भने जस्तै खाने बस्ने सुविधा पनि थियो । तर काम थालेको दुई दिन पनि इन्द्रकुमार त्यहाँ टिक्न सक्नुभएन । कारण थियो खाना ।

शहरकै ठूलो भनेर चिनिएको त्यो होटलमा इन्द्रले सोच्दै नसोचेका परिकार पाक्ने रहेछन् । ‘त्यहाँ कुकुर, सर्प, बिरालो अनि सँुगँरको मासु पकाउँदो रहेछ अनि काम गर्नेलाई त्यही खुवाउँछ रे’ देवचन्द्रले छोराले फोनमा भनेका कुरा सुनाउनुभयो ‘म त नर्कमै पुगे जस्तो भयो भन्छ ।’

इन्द्रकुमारले समस्या कम्पनीलाई राख्नुभयो । तर कम्पनीले यो सामान्य भएको भन्दै पन्छाइदियो । आफूले नसकेपछि इन्द्रकुमारले बुवालाई सुनाउनुभयो । छोरा समस्यामा परेपछि देवचन्द्रले एजेण्टलाई भन्नुभयो । तर एजेण्टको कुरा पनि कम्पनीको फरक आएन । उहाँले लागेको पैसा डुबे पनि छोरालाई घर फर्काइदिन आग्रह गर्नुभयो तर एजेण्टले वास्तै गरेनन् ।

एक त छोरालाई राम्रो ठाउँमा पठाइदिने भनेर झुक्याएको रिस त्यसमाथि समस्यामा पर्दा पनि वास्ता नगरेपछि देवचन्द्रले एजेण्टसँग रिस पनि देखाउनुभयो तर एजेण्टलाई त्यसले पनि केही असर गरेन ।

एजेण्टले उहाँलाई ‘विदेशमा यस्तै हो नेपालमा जस्तो कहाँ खसी र कुखुरा मात्र पाइन्छ त टेन्सन नलिनु तपाईको छोराको विस्तारै बानी लाग्छ,’ भनेर सम्झाउन खोजे । तर देवचन्द्रले आफ्नो छोरो जसरी पनि चाहियो भनेपछि एजेण्ट उल्टै धम्की दिए । ‘उसले मलाई मसँग ठूलो स्वरमा नबोल्नु नत्र तपाईंको छोरालाई मलेसियामै सुई लगाईदिन्छु भनेर धम्क्यायो’ देवचन्द्रले सुनाउनुभयो ।

एजेण्टले धम्क्याएको कुरा सहित म्यानपावरसम्म पुगेपछि भने इन्द्रकुमारलाई फर्काउन उनीहरु सहमत भएका छन् तर देवचन्द्रकै खर्चमा । इन्द्रकुमारलाई फर्काउन दुई लाख ८० हजार रुपैयाँ लाग्नेमा म्यानपावर र एजेन्टले ३० हजार रुपैयाँ मात्रै दिने भएका छन् । बाँकी दुई लाख ५० हजार रुपैयाँ देवचन्द्र आफैंले बेहोर्नुपर्ने भएको छ । इन्द्रकुमार अहिले कम्पनी नजिकै रहेको बंगाली होटलमा आफैं खर्चमा खाना खाएर बसिरहनुभएको छ ।

Share.

Leave A Reply