मलेसियाको अस्पतालमा उपचार गराइरहेका महेशको हातमा हतकडी

0

राम प्रमेश मण्डल/सप्तरी ।

माघ १८ – ज्यान सुकेर हड्डी देखिन थालेका छन् । होस चेत छैन । यस्तै अवस्थामा मलेसियाको अस्पतालमा भर्ना गरिएका महेश सदाको हातमा हत्कडी छ ।

बिरामीको हातमा हत्कडी किन ? यो प्रश्नको उत्तर कसैसँग छैन । महेश जोहोरबारुमा रहेको सुल्तान इस्माइल अस्पतालमा भर्ना भएको डेढ महिना भइसक्यो । परिवारले बिरामी परेर अस्पताल भर्ना भएको त थाहा पायो ।

तर अस्पतालको बेडमा रहेका महेशको हातमा हतकडी लगाएको फोटो देखेपछि परिवारको सदस्यको भोक निद्रा हराएको छ । फोटो देखेदेखि नै कारण खोजिरहेको परिवारले अहिलेसम्म त्यो पत्ता लगाउन सकेको छैन । सप्तरीको साबिक बनौली गाविस २ का महेशकुमार सदा २०६९ पुसमा मलेसिया जानुभएको हो ।

आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्मिएका महेशकुमार त्यही गरिबी चिर्ने सपना लिएर मुग्लाने हुने निधोमा पुग्नुभयो । ‘दिनभरी ज्यालामा काम गर्दा पैसा नै बच्दैनथ्यो अनि के गरोस्’ बुवा लचक सदा भन्नुहुन्छ ।

विदेशको सपना बुन्न जति सजिलो थियो त्यहाँ पुग्न भने फलामको चिउरा चपाए जस्तै थियो महेशकुमारका लागि । उहाँसँग विदेश जाँदा लाग्ने पैसा थिएन । घर बनाएको घडेरी जमानतमा राखेर एक लाख ५० हजार ऋण लिनुभयो ।

त्यही पैसा आफूलाई विश्वास लागेको एजेण्टका हातमा राखिदिएर महेशकुमार मलेसिया उड्नुभयो । पुगेको ६ महिनामा महेशले आफूलाई पत्थरी भएको सुनाउनुभएको थियो घरमा । कम्पनीले नै उपचार गरिदिएपछि राम्रो भएको सुनेपछि परिवारका सबै ढुक्क भए ।

मलेसियाको पिएमआइ कटन कम्पनीमा काम पाएका महेशले १ वर्षसम्म हाँसी खुसी नै फोन गर्नुहुन्थ्यो घरमा । पैसा चाहिँ एक रुपैयाँ पैसा पनि पठाउनुभएको थिएन ।

१ वर्षपछि भने फोन आउने क्रम फाट्टफुट्ट मात्रै भयो । एक त बिरामी त्यसमा पनि कम्पनीको कामले गर्दा होला भन्ने सोचे परिवारले । एक दुई महिना हुँदै महेशकुमार ३ वर्ष हराउनुभयो ।

गएको पुसमा महेशकी भाउजु सुनिता सदालाई फोन आयो । त्यो पनि नयाँ नम्बरबाट । तीन वर्षपछि आएको फोनले महेशको घरमा दुःखको समाचार ल्यायो । ‘उहाँ बिरामी भएर अस्पताल भर्ना गरिएको छ भनेर खबर आयो’ सुनिताले भन्नुभयो ।

के भएको होला, अहिले अवस्था कस्तो होला भनेर आत्तिएको परिवारले राजविराजमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा महेशको अवस्था बुझिदिन आग्रह गर्दै निवेदन दियो ।

केन्द्रले काठमाडौंमा रहेको प्रवासी नेपाली समन्वय समिति (पीएनसिसी) मार्फत खोजेपछि महेशको अवस्था पत्ता लाग्यो । फोटो पनि आयो मलेसियाबाट । तर फोटोले राहत होइन पीडा दियो परिवारलाई । ‘हामीले त यति धेरै सिकिस्त छ होला भनेर सोचेकै थिएनौं’ फोटोमा बेहोस देखिने महेशलाई देखेपछि बुवाका आँखा रसाए ।

लचकसँगै गाउँलेहरुले पनि आफूलाई सम्हाल्न सकेनन् । सायद आमा भइदिएको भए उहाँलाई सम्हाल्न परिवारलाई गाह्रो हुन्थ्यो । तर आमाले महेश बिरामी पर्नुभन्दा अघि नै सबैलाई छोडेर गइसक्नुभएको थियो । आमा बितेको खबर महेशले सुन्नुभएको छैन ।

पीडामाथि नुनचुक छरे जत्तिकै भएको छ महेशको हातमा लगाइएको हतकडीले । त्यसैले महेशको परिवार बेहोस अवस्थामा रहेका महेशलाई किन हतकडी लगाइयो भन्ने कारण खोजिरहेको छ ।

अस्पताल भर्ना भएपछि मात्रै परिवारले महेश एक वर्षमै कम्पनी छोडेर अवैधानिक भएको पत्तो पायो । तर महेश भाग्नुको कारण अहिले पनि थाहा छैन । यस कारण भागें भन्ने महेशकुमार अहिले त आफैं बेहोस हुनुहुन्छ । महेशका परिवारको पीडा यति मात्रै छैन ।

जाँदा लिएको ऋण जस्ताको तस्तै

छोरा पठाएको ऋणको बोझ विसाउन पाउनु भएको छैन् लचक सदाले । छोरा पठाउन लिएको ऋण वर्षै पिच्छे दोब्बर हुँदै गएको छ । तिर्न सक्नु भएको छैन् । साहुले दैनिकजसो रकम माग्ने गरेको छ । ‘पीर त पर्नेलाई मात्रै थाहा हुन्छ त्यो साहुले के बुझ्थ्यो’ लचक दुखेसो पोख्नुहुन्छ ।

हुने कुरा भइहाल्यो । त्यसैले अब महेशकुमारको परिवार उहाँलाई नेपाल फर्काउन सहयोग खोजिरहेको छ । परिवारका सदस्य भन्छन् ‘जसरी भएपनि महेशलाई फर्काईदिनुस् ।’

Share.

Leave A Reply