मधेसी मोर्चालाई सहमतिमा नलिई निर्वाचनमा गएको भन्दै कांग्रेसभित्रै असन्तुष्टि – See more at: http://setopati.com/raajneeti/67214/#sthash.Iz7gPh4X.dpuf

0

दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद तथा जिल्ला सभापतिहरूले यथास्थितिमा तराई मधेसमा स्थानीय तहको निर्वाचनको वातावरण नभएको बताएका छन्।

वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनको पूर्वतयारीका लागि तराई मधेसमा चुनावी सभा गर्ने विषयमा पार्टी नेतृत्वले डाकेको छलफलमा शनिबार तराईका ८ जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद तथा जिल्ला सभापतिहरूले यस्तो धारणा राखेका हुन्।

पार्टी मुख्यालय सानेपामा भएको छलफलमा सात जिल्लाका पार्टी सभापतिहरूले मधेसी जनताको मागअनुसार संविधान संशोधन गरी मधेसी मोर्चालाई पनि सहमतिका आधारमा चुनावमा लैजान चाहेको कांग्रेस सदस्य रमेश रिजालले बताए।

तराई मधेसका नेताहरूले भने ‘सहमतिबिना एक चरण र दुई चरणको निर्वाचन भन्नुभन्दा केही समय लिएरै भए पनि मोर्चा लगायत असन्तुष्ट पक्षसँग सहमति गरेर एकै चरणमा निर्वाचनमा जान उपयुक्त हुने’ सुझाव दिएका थिए।

‘मोर्चासँग सहमतिविना निर्वाचनमा जाउँ भनी अघि बढ्नु भनेको जनता–जनताबीच आपसी भिडन्त गराउनु हो,’ पर्साका सांसद सुरेन्द्र चौधरीले भने।

फरमुल्लाह मन्सुरले मधेसी जनताको चाहनाबमोजिम संविधान संशोधनको प्रस्ताव अघि बढाएर निर्वाचनमा जानु नै उपयुक्त हुने धारणा राखेका थिए। २०६३ पछिको पहिलो संविधानसभा निर्वाचनको अवस्था स्मरण गर्दै मन्सुरले भने, ‘पहिले पनि नेतृत्वले हतारमा निर्वाचन घोषणा गर्यो। पछि मोर्चासँग वार्ता र सहमति गर्ने नाममा आफूहरूलाई डिफेन्सिभ बनाइदिँदा परिणाम उल्टो आयो।’ कुनै सहमति गर्नुछ भने पहिले नै गरेर जानु उपयुक्त हुने उनको सुझाव थियो।

पर्साकै अजय द्विवेदीले अहिलेको संविधान संशोधन प्रस्तावबारे मोर्चासँग छलफल गरे पनि सहमतिविना किन ल्याएको भन्दै प्रश्न गरे। मोर्चासँग छलफल भएको भए सहमतिमा नआउनुको कारण वार्तामा सहभागी नेताहरूले जानकारी गराउन उनले माग गरेका थिए।

त्यसपछि कांग्रेसका तर्फबाट वार्तामा सहभागी मन्त्री रमेश लेखकले संविधान संशोधन विधेयकमा मधेसी जनताको माग सम्बोधन गर्न राखिएका प्रस्ताव पढेर त्यसको व्याख्या गरेका थिए।

बिहान १० बजेदेखि बसेको बैठक १२ः३० बजे डेढ घन्टाका लागि स्थगित भएको रिजालले बताए। अपराह्न २ बजे बस्ने बैठकमा सांसद तथा केन्द्रीय सदस्यहरुले आफ्नो राय सुझाव राखेपछि नेतृत्वले उनीहरूको मागका विषयमा निचोड निकाल्ने छ।

– See more at: http://setopati.com/raajneeti/67214/#sthash.Iz7gPh4X.dpuf

Share.

Leave A Reply