भारतीय पक्षको जिम्मामा रहेका सीमास्तम्भ मर्मत सुस्त

0

३० पुस, वीरगञ्ज । भारतीय पक्षको जिम्मामा रहेका पिल्लरहरु मर्मत सुस्त गतिमा भइरहेको पाइएको छ ।

भारतको पूर्वी चम्पारणको मोतिहारीमा बसेको पहिलो फिल्ड सर्भे टिमको बैठकमा क्षतिग्रस्त भएका र हराएका पिल्लरको निर्माणमा भएको प्रगतिबारे समिक्षा भएको छ ।

बैठकमा नेपाली पक्षबाट पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह र भारतीय पक्षबाट पूर्वी चम्पारणका डीएम रमनकुमार कर्णले प्रगति विवरण प्रस्तुत गरेका थिए । तर, भारतीय पक्षको पिलर मर्मत तथा निर्माण सुस्त गतिमा भएको पाइएको छ ।

बारा र पर्सासँग भारतको सीमा जोडिएको क्षेत्रका १ हजार ७४४ पिल्लर क्षतिग्रस्त भएका वा हराएका छन् । अध्ययनअनुसार पर्साको सीमा क्षेत्रमा १०५९ र बाराको सीमा क्षेत्रमा ६८५ पिल्लर क्षतिग्रस्त भएका र हराएको पाइएको छ ।

त्यसमा नेपालले जोर र भारतले विजोर नम्बर गरी आधा-आधा पिल्लर बनाउने सहमति भएको थियो ।

तर, भारतीय पक्षले हालसम्म करिव १ सय पिल्लर मात्र निर्माण तथा मर्मत गरेको पाइएको छ । जबकी सम्झौता अनुसार सन् अपि्रल २०१८ सम्म सबै पिल्लर बनिसक्नुपर्छ ।

पर्साका प्रजिअ सिंहका अनुसार भारतीय पक्षले समयमै काम पूरा गर्ने आश्वासन दिएको छ । ‘नेपाल र भारतले आधा-आधा पिलर मर्मत तथा निमाण गर्ने सहमति भएकोमा भारततर्फ निर्माण कार्यमा सुस्तता देखिएको छ,’ प्रजिअ सिंहले भने, ‘बजेटको अभावमा कामले गति नलिएको बताउँदै समयमै पूरा गर्छौं भनेका छन् ।’

नेपालको सर्भे विभागले पिल्लर मर्मत र निर्माण गरिरहेको छ भने भारततर्फ एसएसबीले जिम्मा पाएको छ ।

बारा-पर्साको सीमा क्षेत्रमा नेपालको जिम्मामा रहेको ३८९ र भारतको जिम्मामा रहेको ७७२ पिल्लर मर्मत तथा निर्माण गर्न बाँकी रहेको अधिकारीहरुले बताएका छन् ।

फिल्ड सर्भे टिमको अर्को बैठक आगामी मे महिनाको तेस्रो साता नेपालमा बस्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए । ‘हराएका पिल्लर निर्माण र क्षतिग्रस्त पिलर निर्माणको सन्दर्भमा बैठक फलदायी भएको छ,’ उनले भने, ‘दुई देशका कानुन कार्यान्यन गर्ने निकायबीच हुने समन्वय बैठकले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण र अनुसन्धानका साथै फरार अभियुक्त पक्राउ गर्न ठूलो सहयोग पुग्छ ।’

बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी सिंह, बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरसहित सुरक्षा निकायका प्रमुख, वन, नापी कार्यालयका प्रमुख तथा प्रतिनिधि गरी १२ जना र भारततर्फ पूर्वी चम्पारणका डिएम रमन कुमार, पश्चिम चम्पारणका डिएम डा निलेश डोरेसहित १४ जनाको टोली सहभागी थियो ।

सन् २००७ मा नेपाली प्राविधिक टोलीले गरेको अध्ययनअनुसार नेपाल-भारतको सीमा क्षेत्रमा नदीमा रहेको ६४० सहित झण्डै ८ हजार पिल्लरहरु भेटिएका थिए । जमिनमा रहेका १ हजार २ सय ४० वटा पिलर हराएको पाइएको थियो । नेपालको सर्भे विभागका अनुसार त्यतिखेर २ हजार ५ सय पिल्लर मर्मत गर्नुपर्ने र ४ सय वटा पिल्लर नयाँ निर्माण गर्नुपर्ने देखिएको थियो ।

Share.

Leave A Reply