भाखा राख्यो डाँडै काट्यो, पासपोर्ट र १६ लाख कहिले पाउने ?

0

रुपा राई/सिरहा ।

फागुन १२ – ‘भाखा राख्यो डाँडै काट्यो, हामीले पासपोर्ट र १६ लाख  कहिले पाउँछौं होला त ?,’ सिराहका मनिसप्रसाद गुप्ता प्रश्न गर्नुहुन्छ । युएई पठाउँछु भन्दै ठग्ने दलाल गुफर मियाले पैसा र पासपोर्ट फिर्ता गर्न आलटाल गरेपछि मनिसजस्तै १८ जनाको प्रश्न यही छ ।

२०७४ पुस २५ गते २० जनाबाट १५ लाख ७६ हजार रुपैयाँ र पासपोर्ट लिएको प्रहरी समक्ष स्वीकार गरेका दलाल गुफरले  बाहाना बनाउँने, कहिले अर्कै दलालले पासपोर्ट र पैसा लिएको भन्दै आलटाल गरेका छन् । पीडित न्यायको पर्खाइमा छन् ।

गफुर मियाले युएई पठाउने भन्दै २० जनाबाट पासपोर्ट लिएका थिए । युएइमा राम्रो काम र कमाई हुने बताएपछि २० जनाले नै पीडितले भने अनुसार नै पैसा पनि गुफरलाई बुझाए ।

मनिसप्रसाद गुप्ता, हविवुल राइन र मोहम्मद अजिद पनि २० जना मध्येका हुनुहुन्छ । हविवुल राइन र मोहम्मद अजिद त गुफरको प्रलोभनमा सन् २०१७ नोभेम्बरमा युएई पनि पुग्नुभयो ।

‘बगैंचामा काम गर्नु पर्छ । काम सजिलो छ भनेका थिए तर काम त उँट र बाख्रा चराउँने पो रहेछ,’ मोहम्मद सुनाउनुहुन्छ । बाँकी १८ जना जहाज चढ्ने दिनकै प्रतिक्षामा थिए ।

‘खाडीको ठाउँमा उँट र बाख्रा चराउन सजिलो त थिएन, तैपनि साहुको ऋण लिएर आएपछि काम त गर्नै पर्यो भनेर आँट गरें,’ हविवुल अध्यारो मुख लगाउँदै भन्नुहुन्छ, ‘साहुले उँट र बाख्रा मर्‍योे भने तिमीहरुको तलब काट्छु भनेर धम्काउने, आफै‌ मर्ने बाच्ने ठेगान छैन उँट र बाख्रको ठेगान कसरी लिनु ?’

उँट र बाख्रा चराउँदा दुःख त थियो नै त्यो भन्दा बढी साहुले गरेका व्यवहारले उहाँलाई दुःख लाग्थ्यो । भने अनुसारको काम नपाउँदा अनि साहुको धम्कीले उहाँले बाँकी १८ जनालाई यो काममा नआउन सुझाव दिनुभयो ।

हविवुल मिया र मोहम्मद अजिदले उँट र बाख्राको जिम्मेवारी लिन नसक्ने बताएपछि साहु पनि रिसाए ।  उहाँहरु युएई पुगेको १३ दिनमै नेपाल फर्कनुभयो । सयकडा तीन रुपैयाँको ऋण दलाललाई बुझाएर विदेश उड्ने दिनको प्रतिक्षामा बसेका १८ जनाको सपना पूरा हुन पाएन ।

राम्रो कामको प्रलोभनमा विदेश पठाए पनि सम्झौता अनुसारको काम र तलब  नपाएको भन्दै पीडितले सुरक्षित आप्रवासन परियोजना(सामी) अन्र्तगत सिरहामा रहेको सूचना केन्द्रमा निवेदन दिए ।

२०७४ पुस २५ गते गुफरलाई घरमै पुगेर प्रहरीले सोधपुछ गर्दा आफूले पैसा र पासपोर्ट लिएको स्वीकार्दै एक महिना भित्र फिर्ता गर्ने बताए ।

फेरि २०७४ माघ २५ गतेको छलफलमा गुफरले पासपोर्ट र पैसा अर्कै दलाल मोहम्मद मनान हुसेनलाई दिएको बताए । पैसा दिने अर्को भाका २०७४ फागुन १६ गतेको राखेको छ । गुफरले भने अनुसार मुख्य दलाल मोहमद मनान बिरामीको बहानामा भागेको गुफर बताउँछन् ।

प्रहरीले पक्राउ गरी पैसा फिर्ता गर्ने म्याद तोकेपनि दलालले अनेक बहाना बनाएपछि पीडित भन्छन्, ‘भाखा राख्यो डाँडै काट्यो, हामीले न्याय कहिले पाउँछौं त ?’

Share.

Leave A Reply