बालबालिकालाई के सिकाउने ? कसरी सिकाउने ?

0

अहिलेका बच्चाहरु स्मार्ट छन् । उनीहरु नयाँ प्रविधिसँग नजिकिन सधै उत्सुक हुने गर्छन् । नयाँ- नयाँ कुरा पच्छ्याउन खोज्छन् ।

त्यसो त ज्ञान आर्जनका लागि अहिले किताव वा विद्यालयमा मात्र निर्भर रहनुपर्ने अवस्था पनि छैन । उनीहरुले विभिन्न माध्यामबाट आफ्नो जिज्ञासा मेटिरहेका हुन्छन् । यता अभिभावकहरु चाहन्छन्, बच्चाले धेरै राम्रो नतिजा हासिल गरोस् । पठनपाठनमा मात्र ध्यान दिए हुन्थ्यो ।

स्वभाविक हो, यस्तो चाहाना हुनु । तर, बच्चालाई पढाउने चक्करमा उनीहरुलाई नयाँ नयाँ कुरा जान्नबाट बञ्चित भने गर्नु हुँदैन । बच्चालाई मोबाइल दिनुपर्छ । टिभी हेर्न दिनुपर्छ । घरको सामाग्रीहरु खेलाउन दिनुपर्छ । भाँडावर्तन चलाउन दिनुपर्छ । यद्यपी ति कुराहरु चलाउँने विधी के हो भन्ने ज्ञान चाहि हुनुपर्छ । स्वतन्त्र रुपमा उनीहरुले ज्ञान आर्जन गर्छन ।

त्यससँगै बच्चालाई अभिभावकले व्यवहारिक ज्ञान दिनुपर्छ, जो जीवनोपयोगी होस् ।

घरायसी काममा प्रेरित गरौं

अक्सर आमाबुवाको प्रवृत्ति के हुन्छ भने, बच्चालाई भान्सामा पस्न नदिने । भान्सामा आयो भने पढाईमा ध्यान दिदैन वा फोहोर बनाउँछ भन्ने लाग्छ अभिभावकलाई । जबकी बच्चाले भान्साबाट पनि जीवन उपयोगी ज्ञान आर्जन गर्न सक्छन् ।

उनीहरुलाई भान्साको सानोतिनो काम लगाउनुपर्छ, जो उनीहरुको सामथ्र्यले भ्याउँछ । तरकारी केलाउने, धुने, सलाद काट्ने, अन्डा उसिन्ने जस्ता काममा बच्चालाई प्रोत्साहित गर्नुपर्छ । यसबाट उनीहरुले काम गर्ने तरिका, शैली सिक्छन् । काम गर्न सिपालु हुन्छन् । साथसाथै कामप्रतिको लगाव पनि बढ्छ ।

बच्चाको भान्सा पनि ज्ञान भण्डार हो । त्यहाँबाट उनीहरुले सागसब्जीको बारेमा जानकारी लिन्छन् । खानेकुरा पकाउने कला सिक्छन् । पोषणको बारेमा जानकारी पाउन सक्छन् ।

बगैंचाको काममा लगाउने

बालबालिकाको लुगा फोहोर हुन्छ वा उनीहरुलाई घाउँ खटिरा आउन सक्छ भनेर कतिपय अभिभावकले बगैंचामा खेल्न, काम गर्न दिदैनन् । यद्यपी बच्चालाई बगैंचामा खेल्न स्वतन्त्रपूर्वक छाडिदिनुपर्छ ।

बगैंचामा खेल्न मात्र होइन, काम पनि गर्न सिकाउनुपर्छ । खेलखेलमै उनीहरुले बगैंचाको काम पनि गर्छन् । जस्तो कि, फूल वा बोट विरुवाको गोडमेल गर्ने, पानी लगाउने, प्लाष्टिकजन्य वस्तु संकलन गर्ने ।

यसले उनीहरुलाई प्रकृतिसँग एकाकार हुन सिकाउँछ । बगैंचामा उनीहरुले बनस्पतिको बारे प्रत्यक्ष ज्ञान आर्जन गर्न सक्छन् । फूलहरुको रंग, पं्रकृति, सुगन्ध आदिबारे अनुभव लिन सक्छन् । फल, त्यसको बोट आदिबारे पनि जान्ने अवसर पाउँछन् । किताबमा पढेको भन्दा यसरी नाङ्गो आँखाले प्रत्यक्ष देखेको, छोएको कुराको ज्ञान दिगो र प्रभावकारी हुन्छ ।

खेलकुदमा लगाउने

एकखाले अभिभावकहरु हुन्छन्, जो बच्चाहरु खेलकुदमा लाग्यो भने पढाईमा बाधा पुग्छ भन्ने ठान्छन् । त्यही कारण उनीहरु खेल्नका लागि अनुमति दिदैनन् । बच्चालाई खेलबाट बञ्चित गराएर किताव घोक्न लगाउँछन् ।

जबकी खेलकुदबाट बच्चाले धेरै कुरा आर्जन गर्न सक्छन् । खेलकुदले शारीरिक तथा मानसिक फाइदा गर्छ । आउटडोर गेमले उनीहरुको शारीरिक विकासमा सहयोग गर्छ । रक्तसंचार राम्ररी हुन्छ । जब शारीरिक स्वस्थ्य राम्रो हुन्छ, उनीहरुको मानसिकता पनि सकारात्मक हुन्छ । उर्जावान हुन्छ ।

खेलकुदले अनुसाशन सिकाउँछ । टिमवर्कको महत्व बुझाउँछ । संघर्ष गर्न उत्प्रेरित गर्छ ।

Share.

Leave A Reply