बालख छोरो छोडेर हिँड्दाको त्यो रात

0

मोहन पौडेल/उज्यालो ।

काठमाडौं, फागुन २९ – दिलिप अरु दिन हजुरआमासँग सुत्थे । सुत्ने बेलामा आमा चाहिँदैनथ्यो । तर त्यो दिन अरु दिन भन्दा बेग्लै भयो । उनी त्यो दिन आमासँगै सुत्ने भए ।

ओछ्यानमा पसेपछि दिलिपले आमाले लगाएको कानको कुण्डलमा औंला छिराए । ‘छोडेर नजाओस भनेर होला’ अर्चनाले छोराको मनमा खेलेका कुरा अनुमान मात्रै गर्न सक्नुहुन्थ्यो । दिलिप ३ वर्ष मात्रै पुग्दै थिए ।

अरु दिन त्यति धेरै कुरा नगर्ने उनी त्यो दिन १५/२० वर्षको मान्छेले जस्तै कुरा गर्न थाले । ‘पसलमा हामीलाई उधारो नदिएर तपाई विदेश जान लागेको हो मम्मी ?’ छोराको प्रश्नले अर्चनाको मन भारी भयो । केही भन्नै सक्नुभएन ।

आमाको मनमा हुरी चलेको दिलिपलाई के थाहा त्यसैले उनी आफ्ना कुरा भनिरहे । तपाईं जाने हो भने एक हजार रुपैयाँ दिनुपर्छ । छोराको हात कुण्डलबाट निस्किएकै थिएन । तर जे गरेपनि आमा छोडेर जानुहुन्छ भन्ने थाहा पाएर होला सायद दिलिपले पैसा मागे । उहाँले हुन्छ भन्नुभयो ।

तर केही छिनमै दिलिपले कुरा फेरे । ‘विदेश जान धेरै पैसा लाग्छ रे त्यो पनि पर्दैन २५ र ५ रुपैयाँ दिनु । एउटा चीज बल र फ्रुटी आउँछ त्यति भए पुग्छ ।’ आमालाई यति भनेपछि उनी निदाए । बाग्लुङको राङखानीकी अर्चना सुवेदीले विदेश जान घर छोड्नु अघिल्लो रात २०६९ असोज १ गतेको कुरा हो यो ।

एकातिर छोराको कुरा अर्कोतिर परिवारको असहमति । अर्चनालाई यी दुवैको सामना गरेर हिँड्न कम सकस भएको थिएन त्यतिबेला । श्रीमान् विदेश गएको ५ वर्ष भइसकेको थियो ।

ढलेको घर बनाउने सपना लिएर गएका श्रीमानले पठाएको पैसा घर खर्चमै सकिन्थ्यो । ‘गल्फ कन्ट्रीमा त्यो पनि तल्लो लेबलको कामदार के कमाइ हुनु र, महिनाको ७/८ सय दिर्हाम हुन्थ्यो’ अर्चना भन्नुहुन्छ ।

श्रीमानले पठाएको पैसा घर खर्चमै ठिक्क हुन्थ्यो । आफ्नो घर बनाउन नसकेपछि अर्चना आफन्तको घरमा बस्नुहुन्थ्यो । यसरी कति दिन बस्ने भन्ने सोचेर अर्चना सासु र छोरालाई लिएर नवलपरासी झर्नुभयो । कोठाभाडामा लिएर बस्न त थाल्नुभयो तर कति बस्न बस्ने कुनै टुङ्गो भएन । किनकी श्रीमानले गएको ५ वर्षसम्म पनि घर बनाउने पैसा कमाउन सक्नुभएन ।

अर्चनाको पनि घर धन्दा सम्हालेर सासु हेर्दै छोरो हुर्काउँदै हुनुहुन्थ्यो । नयाँ घर बनाउने उपाय नभएपछि अर्चनाले पनि विदेश जाने निधो गर्नुभयो । श्रीमानसँगै अर्चनाका भिनाजु पनि दुवईमा नै हुनुहुन्थ्यो । ‘दुई जना नै जान पाए एक जनाको कमाइ खर्च भयो भने पनि एक जनाको बचाउन सकिन्छ भनेर परिवारको कुरा पनि काटेर हिँडे’ अर्चनाले भन्नुभयो ।

अर्चना एक हप्तामै पासपोर्ट बनाएर काठमाडौं आइपुग्नु त भयो तर त्यतिबेलै सरकारले महिलालाई खाडीका देशमा घरेलु कामदारमा जान रोक लगायो । विदेश जान उहाँले अढाई लाख रुपैयाँ खर्च गरिसक्नुभएको । त्यसैले उहाँले अवैधानिक भएर जाने बाटो राज्नुभयो ।

‘घरेलु कामदारमा जान नदिने भएपछि म क्लिनरको नक्कली भिसा बनाएर आएँ’ अवैधानिक हो भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि युएईमा श्रीमान र भिनाजु भएकाले उहाँलाई डर भन्दा धेरै आँट नै आयो ।‘दुवई पुग्न पाए त श्रीमान र भिनाजुले खोजिदिएको काम पक्कै राम्रो नै हुन्छ । त्यसैले कमाइहाल्छु भन्ने लाग्यो’ अर्चनाले आँट आउनुको कारण सुनाउनुभयो ।

‘त्यो समय जेलजीवन जस्तै’

श्रीमान र भिनाजु भनेको काम युएईको रसअलखेमामा थियो । महिनाको एक हजार दिर्हाम दिन्छु भनेका थिए साहु साहुनीले । तर उहाँले ८ सय दिर्हाम पनि पाउनुहुने भयो । त्यसमा पैसा काटेर दिने भए ।

त्यहीँबाट सुरु भयो अर्चनाको संघर्ष। पैसा कम हुँदाका भन्दा पनि समस्या साहु सहुनीको व्यवहारले पर्यो । हप्तामा एक दिन बिदा भनिएको थियो । तर अर्चनाले साहु साहुनीले तोकेको दुई घण्टा भन्दा कहिल्यै बिदा पाउनुभएन ।

त्यही भएर त एउटै रसअलखेमामै भएका श्रीमानलाई पनि मन फुकाएर भेट्न अनि बोल्न पाउनुभएन । ‘उहाँ त्यहीँ हुनुहुन्थ्यो अनि भेट्न त आउनुहुन्थ्यो तर रामरी बोल्न पनि डर लाग्थ्यो’ अर्चना भन्नुहुन्छ ।

साहु साहुनीले कोहीसँग बोलिस भने जेल हाल्दिन्छु भनेपछि अर्चना धेरै डराउनुभयो । त्यही ठाउँमा २ वर्ष नौ महिना बिताउनुभयो । घरमा सानो छोरो छोडेर जानुभएको । छोराले बिरामी हुँदा आमा खोज्थे ।

घरबाट सासुले फोन गर्नुहुन्थ्यो । तर उहाँले फोन उठाउनु त परैको कुरा हेर्न पनि पाउनुहुन्नथ्यो । एक पटक फोनमा बोलेको देखेकी साहुले उहाँलाई कोसँग बोलेको भनेर रातीसम्म गाली गरिन् ।

त्यतिबेला मात्रै पचाउन थाल्नुभएको थियो तर बिरामी भएका बेला गरेको गाली त उहाँ अहिले पनि झल्झल्ती सम्झिनुहुन्छ । त्यो दिन उहाँलाई मुटु दुखेको थियो । पाली एकता समाज युएईको महिला विभागकी आस्था थापाआफूलाई परेको समस्या सुनाउन हुनुहुन्थ्यो ।

त्यति नै बेला साहुकी छोरी लडिन् । ‘त्यतिबेला म्याडमले मलाई तेरो छोरो र बुढो यहाँले म झुण्ड्याउँछु भनि’ अर्चनाको अनुहारमा अचानक कालो बादल लागे जस्तै भयो ।

निर्दोष छोरा अनि श्रीमानको बारेमा त्यस्तो सुन्दा अर्चनाले आफूलाई सम्हाल्न सक्नुभएन । साहु साहुनीको व्यवहार सहनै नसक्ने भएपछि उहाँले त्यहाँबाट उम्किने उपाय खोज्न थाल्नुभयो । तर कसैसँग भेट्न र बोल्नै नपाइने भएकाले अर्चनाका लागि सजिलो थिएन ।

२ वर्षपछिउहाँले छोरो बिरामी भएको भन्दै छुट्टी माग्नुभयो । बिदा मागेको ६ महिनापछि मात्रै बिदा पाउनुभयो । घर आउनुभयो । जाँदा जस्तो थियो आउँदा पनि उस्तै अर्थात घर बनाउने सपना पुरा भएको थिएन । त्यसैले छुट्टी सक्किएपछि उहाँ त्यही घरमा फर्किनुभयो ।

केही सुध्रिएला कि भन्ने आशमा हुनुहुन्थ्यो अर्चना। तर साहु साहुनीको व्यवहार फेरिएन । त्यसैले दोस्रो पटक पुगेको ८ महिनापछि त्यो घरको काम छोड्नुभयो । ‘घर आउने बेलामा मैले आस्था दिदी र बाग्लुङकै यम दाइलाई भनेको थिएँ उहाँहरुले सहयोग गरेपछि त्यहाँबाट निस्किन पाएँ’ अर्चनालाई त्यहाँबाट निकाल्न आस्था थापासँगै यम पुनले सहयोग गर्नुभयो  ।

सुत्ने कोठामा लुकाएर क्यामेरा

अब त यस्तो काम गर्नु नपरोसभन्ने सोच्नुभएको थियो अर्चनाले । आस्था थापाकै सहयोगमा उहाँ अर्को घरमा काम गर्न जानुभयो । तर दोस्रो पटक काम गर्न गएको घर त पहिलाको भन्दा पनि गाह्रो पर्यो ।

ती साहुले अचर्ना सुत्ने कोठामा क्यामेरा लुकाएर राखेका रहेछन् । जुन कुरा उहाँले पछि मात्रै थाहा पाउनुभयो । ‘केटी मान्छे सुत्ने कोठामा क्यामेरा, त्यो पनि ट्वाइलेटमा छिरेर ढोका नलाएसम्म जे गरेपनि देखिने गरी राखेको रहेछ’ थाहा पाएपछि अर्चनाको ज्यानमा काँडा उम्रिए ।

थाहा पाए लगत्तै उहाँले हटाइदिन आग्रह गर्नुभयो तर मानेनन् । उहाँले घर छोड्न चाहँदा दिएनन् । त्यसैले फेरि पनि उहाँले आस्था थापालाई नै आग्रह गर्नुभयो । आस्थाले प्रहरीमा उजुरी गर्छु भनेर धम्क्याउँदा पनि मानेनन् ।

त्यसपछि उहाँले अर्चनालाई त्यहाँबाट उद्धार गर्नुभयो । ‘यहाँ आएदेखि त्यतिञ्जेलसम्म जेल जीवन बिताएँ’ अर्चनाको मुहार केही खुल्यो । उहाँ अहिले युएईकै बरदुवईमा घरेलु कामदारकै रुपमा काम गर्दै हुनुहुन्छ । युएई पुगेपछिको तेस्रो कामले चाहिँ उहाँलाई केही राहत दिएको छ ।

Share.

Leave A Reply