बाढी पीडितको बिजोग : त्रिपालमा रात काट्नै मुस्किल (फोटो कथा)

0

सुमन तिमल्सिना/उज्यालो ।

मोरङ, पुस २१ –तराईमा चिसो बढेको छ । पुस पहिलो सातासम्म सामान्य रहेको चिसो अहिले अत्यधिक बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको छ । घर हुनेहरु आफ्नो घरमा व्यवस्थित रुपमा चिसोबाट बच्ने उपायको खोजी गरिरहेको भए पनि बाढी पीडित घरबारविहीनको अवस्था कहाली लाग्दोे छ । राम्रोसँग घाम नलागेका कारण मोरङ, सुनसरी, झापा सप्तरी सिरहा, महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा तथा रौटहटमा अत्याधिक चिसो बढेको छ ।

चिसोको कारण सप्तरीमा ३ जनाको ज्यान गइसकेको छ भने मोरङमा २ जनाको ज्यान गएको छ । विराटनगर–१२, की बुची पोद्दारले त्रिपालमुनि दिन बिताएको ४ महिना बितेको छ । तर अहिले चिसोको समयमा उहाँ रोडको छेउमा त्रिपाल टाँगेर खुल्ला ठाउँमा दिन रात कटाउँदै हुनुहुनछ । दिन त दुःख सुख कटे पनि रात कसरी काट्ने भन्ने चिन्तामा उहाँ हुनुहुन्छ ।

चिसोका कारण कमै मानिसहरु मात्रै घर बाहिर निस्कने गरेका छन्  । अत्यधिक चिसोसँगै चल्ने सिरेटोको कारण यसरी खुल्ला ठाउँमा दिन बिताउन बाध्य छन् । तर यसरी समस्यामा भएकाहरुलाई पनि अहिलेसम्म राज्यको तर्फबाट केही पनि सहयोग पुगेको छैन । बाढीले घर बगाएपछि त्रिपालमा नै बस्दै आउनु भएकी अनिता पोद्दारको पीडा पनि उस्तै छ । उहाँ भन्नहुन्छ, ‘खुल्ला ठाउँमा सुत्नु परेको समस्या भएको छ ।’

चिसो बढेसँगै वालवालिकाहरु सबै बिरामी परेका छन् । बालबालिकाहरुमा झाडापखाला, ज्वरोका समस्या देखिन थालेका छन् । बालबालिका र जेष्ठ नागरिकहरु चिसोबाट बढी प्रभावित भएका छन् ।

जोगिनै गाह्रो

चिसोका कारण तराईको जनजीवन कष्टकर छ । बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । जाडोका कारण बाहिर निस्कन सकेका छैनन् । बाढी प्रभावित क्षेत्रका बालबालिकाहरु अहिले पनि यस्तो चिसोमा पनि खुल्ला ठाउँमा बस्नु पर्ने बाध्यता छ । यही बाध्यतामा उनीहरु आफूलाई जाडोबाट बचाउने प्रयास गरिरहेका छन्  । तर थेगिँदासम्म त्रिपालले थेग्दा अन्यथा चिसोबाट जोगिन निक्कै गाह्रो भएको बाढी प्रभावितहरु बताउँछन् । खुल्ला ठाउँमा चिसो सिरेटोको सामना गर्दै जीवन जिउने प्रयासमा यी परिवार छन् ।

एक त आर्थिक अभाव अर्कोतर्फ भएको सानो घर पनि बाढीले बगाएपछि उनीहरुलाई यो जाडो काल बनेर आएको छ । अत्याधिक चिसोको कारण बालबालिका बिरामी पर्न थालेका छन्  । स्थानीय उमेश ऋषिदेव बिहान बेलुका खानको लागि नै धौधौ भएका हामीलाई बच्चा बिरामी पर्दा उपचार गर्ने समस्या रहेको बताउनुहुन्छ ।  गाउँका सबै बिरामी पर्न थालेका छन् । अधिकांशमा खोकी लाग्ने, ज्वरो आउने समस्या छ भने बालबालिकामा झाडापाखालाको समस्या देखिन थालेको छ ।

विराटनगर –१२, मा मात्रै झन्डै ३ सय बढी यस्ता परिवारहरु यसै गरी त्रिपाल मुनि जीवन बिताइरहेका छन् । अहिले तराईमा शीतलहर चलेको छ । राज्यको तर्फबाट केही सहयोग आएको छैन । यी बस्तीका नागरिक परालमा पीडा लुकाएर दिन काट्दैछन्  ।

ऋषिदेवका कुरा पनि उस्तै नै छन् । खुल्ला ठाउँको चिसो भुइँमा चारतिरबाट ४ वटा बाँसका भाटा गाडेर वरिपरिबाट बेरिएको त्रिपाल मुनि दिनेशको परिवार बसेको छ ।

यी बस्तीका पीडा कहालीलाग्दो रहँदारहँदै पनि यहाँका परिवारमा मल्हम पट्टी लगाउनको लागि कोही पनि पुग्न सकेको छैन । जनतालाई थोत्रा र आडम्बरी आश्वासन दिँदै भोटको खेती गर्न पल्किएकाहरु अप्ठेरो पर्दा कोही खोजी गर्न नआएको दिनेशको गुनासो छ ।

मुसहर, विपन्न र आर्थिक अवस्था कमजोर भएका बाढी पीडित क्षेत्रमा चिसोका कारण विरामी पर्नेहरुको संख्या बढ्दै गएको छ । चिसो छल्ने उपाय नहुँदा यि वस्ती बढी जोखिममा छन्  । राहतको नाममा एउटा त्रिपाल पाएकाहरु अहिले बाँस गाडेर घर निर्माण गर्न लागेका छन् । एकाएक बढेको चिसोेका कारण उनीहरु समस्यामा छन् ।

जिल्ला दैवी प्रकोप उद्दार समितिले हुन सक्ने सम्भावित जोखिमको बिषयमा संवेदनशील रहेको जनाएको भए पनि चिसोबाट बचाउने विषयमा केही काम भएका छैनन् ।

विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली महानगरपालिकाले जाडोको समयमा पीडितलाई राहत दिनको लागि संघ संस्थासँग सहकार्य गर्ने तयारी भएको बताउनुहुन्छ ।

नेपाल सरकारले बाढीबाट पूर्ण क्षति भएका १५ हजार घरलाई राहत दिने निर्णय गरेकोले त्यो रकमसहित १० हजार जाडोको लागि कपडा र २ हजार कृषिको लागि भन्दै २७ हजार रकम पीडितलाइ दिइने मेयर पराजुली बताउनुहुन्छ । तर त्यो अहिलेसम्म पुगेको छैन । अप्ठेरो परेको बेला राहत नपाएका यस्ता परिवारलाई राहत दिने नाममा भुल्याउन नहुने आवाजहरु पनि उठिरहेका छन्  ।  पीडितलाई भोलिको परिकल्पना भन्दा पनि तत्कालको लागि जाडोबाट जोगाउने काममा महानगरको ध्यान जानु आवश्यक छ ।

अस्पतालमा बालबालिका बढी

बाढी प्रभावित क्षेत्रका खुल्ला ठाउँमा बस्दै आएका परिवारका वालबालिका बढी विरामी परेका छन् । धेरै वालवालिका विरामी परेका छन् । कतिपयसँग औषधि किनेर खानेसमेत पैसाको अभाव भएको छ । अहिले कोशी अञ्चल अस्पतालमा चिसोका विरामीहरु पनि बढेका छन्  । ३ महिना भन्दा सानो उमेरका बच्चाहरुमा श्वासप्रश्वास सम्बन्धी समस्या, कोल्ड डायरिया, दम बढ्ने समस्या देखिएको छ । कोशी अञ्चल अस्पतालका बाल रोग विशेषज्ञ प्रविणनारायण झाका अनुसार अहिले ४० जनाको उपचार भइरहेको छ ।

Share.

Leave A Reply